२५ जेठ २०८३, सोमबार
नयाँ दिल्लीमा रास्वपा सभापति

रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत, अमित शाह र जयशंकरसँग महत्त्वपूर्ण भेटवार्ता

जेठ १९, २०८३
काठमाडौं
रवि लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत, अमित शाह र जयशंकरसँग महत्त्वपूर्ण भेटवार्ता

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफ्नो राजनीतिक तथा कूटनीतिक भेटवार्तालाई तीव्र बनाएका छन् । 

सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भारतीय गृहमन्त्री अमित शाह, विदेशमन्त्री डा. एस. जयशंकर र भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

गृहमन्त्री र विदेशमन्त्रीसँग उच्चस्तरीय संवाद
भ्रमणका क्रममा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको हो । भेटमा नेपाल र भारतबीचको आपसी सम्बन्ध, सहकार्य तथा दुई देशको हितका विविध पक्षमा छलफल भएको छ ।

यसअघि, मंगलबार नै लामिछानेले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए । भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशंकरले नेपाल-भारत विकास साझेदारी र जनस्तरको सम्बन्धबारे सार्थक छलफल भएको बताएका छन् । 

उनले दुई देशका नागरिकबीचको सम्बन्धले आर्थिक वृद्धि र समृद्धि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

भाजपा मुख्यालयमा भव्य स्वागत

सभापति लामिछाने मंगलबार मध्याह्न भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय पुग्दा उनलाई भव्य स्वागत गरिएको थियो । भाजपा अध्यक्ष नितिन नवीनले उनलाई रेड कार्पेटमा परम्परागत झाँकी र फूलमालासहित स्वागत गरे । 

सो अवसरमा दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्बिरसहितका ब्यानरहरू राखिएका थिए, जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्षको समेत तस्बिर अंकित थियो ।

भेटका क्रममा रवि लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनलाई पशुपतिनाथ मन्दिरको तस्बिर उपहार दिएका थिए भने रुद्राक्षको माला लगाइदिएका थिए ।

भाजपाको 'नो बीजेपी' कार्यक्रमअन्तर्गत भएको उक्त भेटमा पार्टी-टु-पार्टी सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । 

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार, छलफलमा भाजपाको राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता विस्तार प्रक्रिया, उम्मेदवार छनोट प्रणाली र तल्लो तहसम्म पार्टीको पहुँचबारे अनुभव आदानप्रदान गरिएको थियो ।

प्रतिनिधिमण्डलले भाजपाको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गर्दै पार्टीको सञ्चार प्रणाली र सूचना व्यवस्थापनबारे जानकारी लिएको थियो ।

भाजपा अध्यक्ष नितिन नवीनको निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई सोमबार विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।

पाँच दिने भ्रमणका क्रममा लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।

यस्तै  उनले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्ने बताइएको छ । साथै उनले अयोध्याको भ्रमण समेत गर्ने कार्यतालिका रहेको छ । लामिछाने आगामी जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्