१६ असार २०८३, मंगलबार

युक्रेनविरुद्धको खेलमा पुन: मैदानमा ढले एरिक्सन, अहिले कस्तो छ अवस्था ?

जेठ २५, २०८३
काठमाडौं
युक्रेनविरुद्धको खेलमा पुन: मैदानमा ढले एरिक्सन, अहिले कस्तो छ अवस्था ?

डेनमार्कका अनुभवी मिडफिल्डर क्रिश्चियन एरिक्सन युक्रेनविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा मैदानमा ढलेका छन्।

३४ वर्षीय एरिक्सन अहिले होसमा रहेको र उनको अवस्था सामान्य रहेको डेनिस फुटबल संघले जनाएको छ।

ओडेन्समा नेपाली समयअनुसार आइतबार राति भएको खेलको ६५औं मिनेटमा एरिक्सन अचानक मैदानमा ढलेपछि खेल रोकिएको थियो।

केही समयपछि खेल रद्द गरियो। सन् २०२१ को युरो कपमा समेत उनी मैदानमै ढलेका थिए । त्यतिबेला फिनल्याण्डविरुद्धको खेलमा हृदयघात भएपछि एरिक्सनको शरीरमा 'इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर' नामक उपकरण जडान गरिएको थियो।

चिकित्सकका अनुसार यसपटक सोही उपकरण (पेसमेकर) ले सही समयमा काम गर्दा उनी छिट्टै होसमा आएका हुन् ।

टोलीका डाक्टर मोर्टेन बोसेनले भने, 'क्रिश्चियनको अवस्था राम्रो छ र उनी आफैं हिँडेर मैदानबाट बाहिरिएका थिए। पेसमेकरले गर्नुपर्ने काम गर्‍यो। उनी केही समयका लागि बेहोस भएका थिए, तर निकै छिटो होसमा आए। अहिले उनलाई थप परीक्षणका लागि अस्पताल लगिएको छ।'

एरिक्सन मैदानमा ढलेपछि सन् २०२१ को दुःखद घटनाको सम्झना दिलाउने गरी डेनमार्क र युक्रेनका खेलाडीहरूले उनलाई घेरेर सुरक्षा घेरा बनाएका थिए। धेरै खेलाडीहरू भावुक देखिएका थिए। ५ वर्षअघि पनि उनलाई यसैगरी खेलाडीहरूले घेरेर उपचारमा सहयोग गरेका थिए।

डेनमार्कका कप्तान पियर-एमिल होइबिएरले घटनाबारे प्रतिक्रिया दिँदै भने, 'हामीले उनलाई भुइँमा ढल्दै गरेको देख्यौं। हामीलाई थाहा थियो यसको नतिजा  के हुन सक्छ। सबैले निकै छिटो र सम्मानजनक रूपमा प्रतिक्रिया जनाए। सबैभन्दा महत्त्वपूर्ण कुरा क्रिश्चियन अहिले ठीक छन्।'

सन् २०२१ को हृदयघातपछि पनि एरिक्सनले फुटबलमा पुनरागमन गर्दै ब्रेन्टफोर्ड र म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलेका थिए। हाल उनी जर्मन क्लब वुल्फ्सबर्गमा आबद्ध छन्, जहाँ उनले २०२५-२६ सिजनमा ३४ खेल खेलेका थिए। आइतबारको खेल उनको १५१औं अन्तर्राष्ट्रिय खेल थियो।

डेनमार्कका प्रशिक्षक ब्रायन रिमरले खेलाडीहरूको एकताको प्रशंसा गर्दै भने, 'अहिले हामी एकसाथ उभिनु महत्त्वपूर्ण छ। क्रिश्चियनले अस्पतालबाटै सबै खेलाडीहरूलाई आफ्नो अवस्था ठीक रहेको सन्देश पठाएका छन्।'

आगामी बिहीबारदेखि सुरु हुने विश्वकपमा डेनमार्क र युक्रेन दुवै टोली छनोट हुन सकेका छैनन्। सन् २०२२ मा बीबीसीसँगको कुराकानीमा एरिक्सनले आफ्नो शरीरमा रहेको आईसीडी उपकरणका कारण आफूलाई मैदानमा असुरक्षित महसुस नहुने बताएका थिए।

salt training

कमेन्ट गर्नुहोस्