०४ असार २०८३, बिहीबार

उपराष्ट्रपतिसँग रुसी महासङ्घका राजदूतको भेट

असार ३, २०८३
काठमाडौं
उपराष्ट्रपतिसँग रुसी महासङ्घका राजदूतको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महासङ्घका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोबीच सुरोभत्सेभले भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटवार्तामा उनीहरूबीच नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा सौहार्दपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र रुसी महासङ्घबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रही आएकोप्रति सन्तोष व्यक्त गरे ।

उपराष्ट्रपति यादवले यसै वर्ष दुई राष्ट्रबीच कूटनीतिक सम्बन्धको ७०औँ वर्ष पूरा हुँदै गरेको प्रसङ्ग उल्लेख गर्दै पारस्परिक सम्मान, समझदारी र मित्रताको अटुट बन्धनमा आधारित सम्बन्धलाई नेपालले सगौरव स्मरण गर्न चाहेको बताए ।

उनले नेपाललाई सोभियत सङ्घकालदेखि मानव संसाधन विकास, पर्यटन, औद्योगिक तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले गरेको सहयोग प्रशंसनीय रहेको बताए । 'पछिल्लो समयमा दुई राष्ट्रबीच बढ्दो सांस्कृतिक तथा जनस्तरको आदानप्रदानप्रति नेपालले प्रसन्नता व्यक्त गर्दछ,' उपराष्ट्रपति यादवले भने, 'आगामी दिनमा नेपाल–रुस द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिँदै हाम्रो सम्बन्ध अझ सुदृढ हुने विश्वास लिएको छु ।'

सो अवसरमा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोग रहने बताए ।

उनले रुस नेपाललाई जलविद्युत्, कृषि, चिकित्सा तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्