
रुपन्देहीको बुटवलमा अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बुटवल उप-महानगरपालिका वडा नं. १२ स्थित एक स्थानबाट उनीहरूलाई बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा ४९ वर्षीय सिओङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन् । उनीहरू सबै चिनियाँ राहदानीवाहक नागरिक हुन् ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले नेपालको कानुनले निषेध गरेका विभिन्न एप्स र वेबसाइटहरू मार्फत क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिरहेका थिए । उनीहरूले बाइनान्स, ओकेएस, इनटोकन जस्ता क्रिप्टो एप्सका साथै पेटीएम , भीम, मोबिक्विकर फोनपे जस्ता भुक्तानी माध्यमहरूको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारिएको थियो ।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल र २ थान ल्यापटप समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूमाथि अभौतिक मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।