
नेपालको परामर्श तथा निर्माण क्षेत्रका सरोकारवालाको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चितवनको भरतपुरमा भवन निर्माणमा दिगो प्रविधिसम्बन्धी तीन दिने विशेष तालिम शुरू भएको छ।
सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा भरतपुरस्थित होटल पौवामा 'भवनहरूमा सर्कुलर, रेजिलेन्ट र रिजेनरेटेड डिजाइन' विषयक तालिम कार्यक्रम सञ्चालन गरेको हो।
पर्यावरणमैत्री, दिगो र भविष्यउन्मुख भवन निर्माणका आधुनिक अवधारणा तथा अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको तालिममा निर्माण क्षेत्रसँग सम्बन्धित सरकारी विभाग, मन्त्रालयअन्तर्गतका परियोजनाका सरोकारवाला निकाय, परामर्शदाता तथा निर्माण व्यवसायीहरूको सहभागिता रहेको छ। कार्यक्रमले विशेषगरी ‘थ्री सीज्’ अर्थात् नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायी बीचको समन्वय तथा दक्षता अभिवृद्धिमा जोड दिएको आयोजकले जनाएको छ।
तालिमको पहिलो दिनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल निर्माण व्यवसायी महासंघ बागमती प्रदेशका उपाध्यक्ष उमानन्द कँडेलले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा नेपाल निर्माण व्यवसायी महासंघ चितवन जिल्ला अध्यक्ष दिनेशचन्द्र न्यौपाने तथा भरतपुर महानगरपालिकाकी आर्किटेक्ट अस्मिता खनाल को विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन सत्र आर्किटेक्ट अरुणा तण्डुकार को सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन SCAEF नेपालका कार्यसमिति सदस्य आर्किटेक्ट सुगन्ध सुवेदीले गरेका थिए।
आयोजकका अनुसार यो कार्यक्रम पेशागत विकास तथा क्षमता निर्माण उप–समिति र SCAEF नेपाल को संयुक्त आयोजनामा तथा नेपाल सरकारअन्तर्गतको निर्माण व्यवसाय विकास कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघको सहकार्यमा सञ्चालन भइरहेको हो।
कार्यक्रममार्फत भवन निर्माण क्षेत्रमा विश्वव्यापी रूपमा बढ्दो महत्व प्राप्त गरिरहेका सर्कुलर डिजाइन, रेजिलेन्ट डिजाइन तथा रिजेनरेटेड डिजाइन सम्बन्धी ज्ञान, सीप र व्यावहारिक अनुभव सहभागीहरूलाई प्रदान गरिने जनाइएको छ। यस्ता अवधारणाले प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरणीय प्रभाव न्यूनीकरण, जलवायु परिवर्तनका जोखिमसँग जुध्न सक्ने संरचना निर्माण तथा दीर्घकालीन रूपमा वातावरणलाई पुनर्जीवित गर्ने निर्माण प्रणालीलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।