
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डमा निर्णायक वार्ता भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको धम्कीप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ।
ट्रम्पले इरान समर्थित समूह हिजबुल्लाहले इजरायलमाथि आक्रमण नरोके अमेरिकाले इरानमाथि नै कडा हमला गर्ने धम्की दिएका थिए ।
सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत ट्रम्पले इरानले लेबनानमा आफ्ना प्रोक्सीहरूलाई तुरुन्त नरोके अमेरिकाले इरानमाथि पुनः ठूलो प्रहार गर्ने धम्की दिएका थिए । ट्रम्पको यस चेतावनीलाई इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बगेर गालिबाफले ठाडै अस्वीकार गरेका छन् । गालिबाफले भने, 'यदि उनीहरूको धम्कीको कुनै प्रभाव हुन्थ्यो भने के उनीहरू आज यस्तो निराशाजनक अवस्थामा हुन्थे ? उनीहरू जतिसुकै कुरा गरुन्, वास्तविक कदम चाल्ने र एक्सन लिने हामी नै हौँ।'
स्विट्जरल्याण्डमा जारी वार्ताको मुख्य उद्देश्य अघिल्लो हप्ता भएको ६० दिने सहमतिलाई पूर्णता दिनु र क्षेत्रमा शान्ति कायम गर्नु हो। तर, सहमति विपरीत दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीच संघर्ष झन् चर्किएको छ।
इजरायली हवाई आक्रमणमा दर्जनौँ लेबनानी नागरिकको मृत्यु भएपछि इरानले हर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेको थियो, यद्यपि जहाजहरूको आवतजावत भने प्राविधिक रूपमा जारी नै रहेको देखिएको छ।
वार्तामा संलग्न अमेरिकी कूटनीतिज्ञहरूले इरानको तर्फबाट आइरहेका 'द्विविधापूर्ण सन्देश' हरूलाई स्पष्ट पार्ने प्रयास भइरहेको बताएका छन्।
छलफल विशेष गरी हर्मुज जलसन्धि पुनः पूर्ण रूपमा खोल्ने, लेबनानमा युद्धविराम कार्यान्वयन गर्ने र आणविक सम्झौताका मुख्य बुँदाहरूमा केन्द्रित रहेको छ। ट्रम्पको धम्की र इरानको कडा जवाफका बीच स्विट्जरल्याण्डको लुसर्नमा दुवै देशका प्रतिनिधिमण्डलबीचको वार्ता भने रातभर जारी रहने अपेक्षा गरिएको छ।