
सगरमाथाको चुचुरोमा पाइला टेक्नु धेरैका लागि एउटा सपना हो, तर इटहरी सुनसरीका मदन कुमार चुडालका लागि यसमा राष्ट्रियता, शान्ति र नयाँ नेपालको संकल्प जोडिएको थियो ।
२०६९ साल जेठ १४ गतको त्यो बिहानी मदनको जीवनमा एउटा यस्तो स्वर्ण अक्षरले लेखिएको दिन बन्यो, जसले उनको साधारण पहिचानलाई सधैँका लागि सगरमाथा आरोहीमा बदलिदियो । आजभन्दा झण्डै १२ वर्षअघि संसारको सर्वोच्च शिखरबाट उनले जब धर्तीलाई नियाले, त्यहाँ केवल गौरव र आत्मविश्वास मात्र थियो ।
त्यतिबेला देश एउटा ठूलो राजनीतिक संक्रमणबाट गुज्रिरहेको थियो । शान्ति प्रक्रिया टुंगिन बाँकी थियो र नयाँ संविधान निर्माणको बहस उत्कर्षमा थियो । जनयुद्धबाट आए उनी सहितका १० जनाले सगरमाथा चढ्ने सोच बनाएका थिए । उनीहरूको उद्देश्य केवल हिमाल चढ्नु मात्र थिएन, बरु सगरमाथा नेपालकै हो र नेपाल अखण्ड छ भन्ने सन्देश संसारभर फैलाउनु थियो ।
सगरमाथा चढ्नु शारीरिक रूपमा जति कठिन छ, आर्थिक रूपमा पनि उत्तिकै चुनौतीपूर्ण छ । मदनका अनुसार विदेशीहरूले सगरमाथा आरोहणका लागि एक करोड रुपैयाँभन्दा बढी खर्च गर्छन् । नेपालीहरूका लागि रोयल्टीमा केही छुट भए पनि २५ देखि ४० लाख रुपैयाँसम्म खर्च हुनु सामान्य कुरा हो । ४० देखि ६० दिनसम्मको आधार शिविरको बसाइ, प्रतिकूल मौसम, महँगा उपकरण र अक्सिजनको व्यवस्थापन गर्दा यो कुनै पनि सामान्य नेपालीको पहुँचभन्दा धेरै टाढाको विषय बन्छ । मदन एउटा तीतो यथार्थ सुनाउँछन् कि नेपालमा अझै पनि हिमाल शेर्पाहरूले मात्र चढ्न सक्छन् भन्ने भ्रम छ । तर उनी जस्ता तराईका युवाहरूले त्यो भ्रमलाई व्यवहारमै चिरेर देखाइदिए ।
हिमाल चढेर फर्किएपछि मदनले नेपालको पर्यटन क्षेत्रको अर्को पाटोलाई नजिकबाट नियाल्ने मौका पाए । उनी अहिले सगरमाथा आरोही संघको सचिवका रूपमा कार्यरत छन् । उनी र उनको संघले एउटा महत्वपूर्ण काम गरेका छन्— आरोहीहरूको राष्ट्रिय पहिचान । पहिले सगरमाथा चढ्ने नेपालीहरूको कुनै आधिकारिक परिचयपत्र हुँदैनथ्यो । मदनकै सक्रियता र संघको पहलमा अहिले सरकारले नै आरोहीहरूलाई नेसनल आईडी कार्ड र लोगो प्रदान गर्न थालेको छ । यो सगरमाथा चढेर ज्यानको बाजी लगाउने वीरहरूको एउटा ठूलो सम्मान हो ।
तर मदन राज्यको पर्यटन नीतिप्रति भने अलि असन्तुष्ट देखिन्छन् । सरकारले घोषणा गर्ने पर्यटन वर्षहरू केवल बजेट सिध्याउने माध्यम मात्र बनेको उनको ठहर छ । पर्यटन क्षेत्रमा विज्ञ र अनुसन्धानकर्तालाई भन्दा पनि आफ्ना मान्छे र राजनीतिक पहुँच भएकालाई प्राथमिकता दिँदा हिमालबाट देशले लिनुपर्ने जति फाइदा लिन नसकेको उनी बताउँछन् । यदि यति धेरै हिमाल अरू कुनै विकसित देशमा हुन्थे भने तिनले हिमाल बेचेरै देशलाई समृद्ध बनाइसक्थे,’ उनी भन्छन्, ‘हामीसँग हिमाल छ, जल छ, जङ्गल छ तर एउटा व्यवस्थित योजना छैन ।’
मदनको त्यो आरोहण यात्रा विवादमुक्त भने रहेन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको संलग्नता र राज्यको सहयोगका कारण त्यतिबेला जनस्तरमा ठूलो आलोचना भएको थियो । मदन सम्झन्छन्, ‘नेपालमा राजनीति गर्ने मान्छे वा उसको परिवारले केही गर्दा पनि आलोचना हुन्छ, नगर्दा पनि आलोचना हुन्छ ।’ सुरुमा राज्यले सहयोग गर्ने भने पनि विवाद चर्किएपछि उनीहरूले त्यो सहयोग लिएका थिएन्न । उनीहरूका लागि त्यो विवाद केवल एउटा अवरोध मात्र थियो, जसलाई उनीहरूले शिखर चुमेरै जवाफ दिए ।
झण्डै दुई महिनाको कठोर संघर्ष, अक्सिजनको कमी र मृत्युसँगको सामीप्यलाई मदनले नजिकबाट अनुभव गरे । कतिपय अवस्थामा फर्किउँ कि जस्तो लाग्नु स्वभाविक थियो, तर उनको मनमा एउटै कुरा खेलिरह्यो— ‘म एउटा मिसनमा छु ।’ आरोह–अवरोहका ती क्षणहरूलाई शब्दमा बयान गर्न कठिन भए पनि आज उनी आफूलाई निकै सन्तुष्ट महसुस गर्छन् । हिमालले उनलाई धैर्यता, साहस र संघर्षको वास्तविक अर्थ सिकाएको छ । आज पनि मदनको सपना छ कि भोलिको पुस्ताले हिमाललाई केवल टाढाबाट हेरेर मात्र होइन, यसको अध्ययन र संरक्षण गरेर देशको शान बढाउन सकोस् ।