
बुटवलको बसपार्क अगाडि गुडिरहेका गाडी वा हिँडिरहेका पैदलयात्रुहरू अचेल एकाएक रोकिन्छन् र केही बेर टोलाउँछन् । कुनै समय धूलो, फोहोर र पुराना विज्ञापनका कुरुप पोस्टरले ढाकिने सार्वजनिक भित्ताहरू अचेल पुर्खाको कथा र बुटवलको गौरवशाली इतिहास बोल्ने जीवित क्यानभास बनेका छन् ।
९० वर्षपहिले पहाडबाट १५ दिनको पैदल यात्रा गरेर घ्यूसँग नुन साट्न बटौली झर्ने हाम्रा हजुरबा पुस्ताको सङ्घर्ष, १८७१/७२ मा जितगढी किल्लामा अत्याधुनिक अंग्रेज फौजलाई घरेलु हतियारको भरमा धूलो चटाउने नेपाली वीरताको गाथा र आदिम मानव रामापिथेकसदेखि आधुनिक केबलकारसम्मको यात्रालाई कलाकारहरूले रंगीन चित्रमार्फत भित्ताहरूमा जीवन्त उतारेका छन्।
स्थानीय कलाकारहरूको सिर्जनशीलताले बुटवलको इतिहास, सभ्यता र सहरी सौन्दर्यलाई एकाकार गराइदिएको छ । यी भित्ताहरू अहिले सडककै खुला ग्यालरीजस्ता देखिन्छन्, जहाँ नयाँ पुस्ताले आफ्नो पहिचान हेरिरहेका छन् र सर्वसाधारणहरू रोकिएर सेल्फी खिच्दै बुटवलको ऐतिहासिक सानसँग संवाद गरिरहेका छन्।
पहाडबाट झारिएको घ्यूलाई ठूलो कराईमा खारेको दृश्यले त्यो बेलादेखि नै बुटवल व्यापारको केन्द्र रहेको सन्देश दिन्छ, जसले सहरको सौन्दर्यसमेत बढाएको छ। आजभन्दा १२४ वर्ष पुरानो अर्थात् वि.सं. १९५९ को जेलेबी (जेरी) बनाउने भाँडोको पनि भित्तामा तस्वीर कोरिएको छ। जेरी बनाउने त्यो भाँडो अहिले पनि पारि बुटवलमा प्रयोगमा रहेको बताइन्छ।
त्यस्तै आजभन्दा २११ वर्षअघि १८७१/७२ मा बुटवलको जीतगढी किल्लामा तत्कालीन अंग्रेज फौजसँग लडाइँ गर्दा नेपालीले प्रयोग गरेका घरेलु हतियारको तस्वीर पनि कोरिएको छ। यो चित्रले आधुनिक हतियारधारी शत्रूसँग लड्ने प्राचीन नेपालीहरूको परिचय र बुटवलको ऐतिहासिक गौरवगाथालाई बलियो गरी प्रस्तुत गर्छ।

यो ‘ऐतिहासिक कदम’मा हातेमालो गर्न पाउँदा चित्र कोर्ने आर्टिस्ट राजु खडका पुकलित देखिन्छन् । खड्काले आफनो कला त देखाउन पाएका छन् नै सँगसँगै बुटवलको इतिहास चिनाउने तस्वीर कोरेर योगदान दिने मौका पाएकोमा उनी खुसी पनि छन् । आर्टिस्ट खड्का भन्छन्, ‘वालमा कोरिएको पेन्टिङले बुटवलको ऐतिहासिकता झल्काएको छ । सँगै आकर्षण पनि थपेको छ ।’
पेन्टिङ गरिएको स्थानमा बुटवल उपमहानगरपालिकाले सरसफाई गरी चिटिक्क बनाएको छ ।

भित्तामा कोरिएका यी चित्र आकर्षणका रूपमा मात्रै नभएर ऐतिहासिक पहिचानको उत्खनन् पनि भएको छ । यसले पर्यटकलाई मोहित तुल्याउने छ नै, बुटवल चिनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । यि भित्ता अब केवल इँटा र सिमेन्टका संरचना मात्र नभई बुटवलको इतिहाससँग संवाद गर्ने माध्यामसँगै बुटवलको सान पनि बनेको छ । चित्रमार्फत ट्राफिक सचेतना, बुटवलमा सञ्चालनमा रहेका केबलकार, पर्यटकीय पार्क, शिक्षा र सांस्कृतिक पहिचानजस्ता विषयलाई सहज ढंगले प्रस्तुत गर्न सकिन्छ । सुन्दर तस्बिरहरू आज शहरको पहिचान, सौन्दर्य र चेतनाको जीवित ‘क्यानभास’ बनेका छन् ।

२१ जना कलाकारहरु वृहतर नेपाल, ६० वर्ष अघिको बुटवलको बसपार्क र त्यहाँ रहेका पुराना गाडी (बस), प्रथम सेन राजा मणिमुकुन्द सेन, टाँगामा सामान ढुवानी, विभिन्न जातीय संस्कृति झल्किने पहिरनसहितका तश्विर, ट्राफिक सचेतना, बुटवलका बनेका सिद्धार्थ केवलकार, पर्यटकीय स्थान हिलपार्क, बुटवल उपमहानगरपालिकाको भवनका रंगीन चित्र कोरेका छन । बुटवललाई झल्काउने गरी भइरहेको काममा आफू पनि जोडिन पाउँदा खुसी लागेको एचबी रम्तेल बताउछन । ‘यहाँ मैले काममात्रै गरिन, बुटवलका इतिहास चिन्ने मौका पाए । यो त मेरा लागि अवसर हो’ कलाकार रम्तेल भन्छन् ।

बुटवल उप–महानगरपालिकासँगको सहकार्यमा नेपाल व्यावसायिक कलाकार संघ रुपन्देहीमा आबद्ध कलाकारहरूले बुटवल बसपार्क अगाडि बुटवल र समग्र नेपालकै ऐतिहासिक अवस्थाको चित्रण देखाउने गरी ‘पेन्टिङ’ गरिएको हो । बुटवलको ऐतिहासिक पहिचान र संस्कृति झल्काउँदै सहरी सौन्दर्य बढाउन उपमहानगरले आन्तरिक राजश्व कार्यालयदेखि इलाका प्रशासनसम्मको सार्वजनिक पर्खालका भित्तामा रंगीन चित्र बनाएको छ । पर्खालको चित्रमा बुटवलको संस्कृति र ऐतिहासिक पक्ष झल्किएको छ ।

बुटवल सहरलाई सुन्दर र इतिहासिक विषयको जानकार बनाउन ‘वाल पेन्टिङ’ गरिएको उप–महानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डे बताउँछन् । ‘यो कलाकारको सम्मान पनि हो, सँगै बुटवलको ऐतिहासिक पक्षको उजागर गर्ने अवसर पनि हो’ मेयर पाण्डेय भन्छन, ‘यसले बसपार्क अगाडिको क्षेत्रमा आकर्षक पनि बनाएको छ । कलाकारिता (भित्ता चित्र) मार्फत बुटवलको सौन्दर्यीकरणलाई समेट्ने नीति अघि सारेको छ ।’ अब सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, सडकका मुख्य स्थानका वालहरूमा बुटवलको ऐतिहासिकता तथा कला संस्कृति झल्काउने चित्रहरू बनाउने योजना पालिको योजना अझै रहेको पाण्डेयले सुनाए ।

सन्देशमूलक चित्रकलाले बाटोका यात्रु तथा सर्वसाधारण हेरेर तथा फोटो खिचेर रमाउने रमाउने गरेका छन् । प्राचीन चित्र बुटवलको प्रारम्भिक इतिहास बुझने महत्वपूर्ण स्रोत बन्न पनि सक्छ । ‘त्यस समयका मानिसहरूको जीवनशैली, विश्वास, व्यापार सामाजिक गतिविधिबारे बुझन सकिन्छ’ मेयर पाण्डेय भन्छन, ‘स्थानीय कलाकारको मेहनत र सिर्जनशीलताले भित्ताचित्रलाई नयाँ उचाइँ दिएको छ ।’ भित्ताहरू अहिले सेल्फी खिच्ने र दृश्यावलोकन गर्नेहरु झुम्मिने गर्छन । कला केवल ग्यालरीभित्र सीमित नहुने सन्देश भित्ताचित्रहरूले दिएका छन् ।

