२६ असार २०८३, शुक्रबार
पर्यटन वर्षको प्रभाव

कोशीका पर्यटकीय क्षेत्रमा बढ्यो आकर्षण, सबैभन्दा धेरै भारतबाट भित्रिए

असार १५, २०८३
विराटनगर
कोशीका पर्यटकीय क्षेत्रमा बढ्यो आकर्षण, सबैभन्दा धेरै भारतबाट भित्रिए

नेपालको भौगोलिक विविधता र प्राकृतिक सौन्दर्यको अनुपम संगम मानिने कोशी प्रदेशले विश्वको सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै सबैभन्दा होचो भू–भाग झापाको केचना कवलसम्मको विशाल भू–धरातल ओगटेको छ ।

यही भौगोलिक विशिष्टता र जैविक एवं सांस्कृतिक सम्पन्नताले गर्दा कोशी प्रदेशमा पछिल्लो समय पर्यटन प्रवर्द्धनमा केही आशलाग्दा काम भएका छन् ।

विशेषगरी छिमेकी मुलुक भारत र तेस्रो मुलुकका पर्यटकलाई आकर्षित गर्न कोशी प्रदेश सरकारले अघि सारेका योजनाबाट पर्यटक बढ्न थालेका छन् ।

कोशी प्रदेश सरकारले मुलुकमै पहिलोपटक प्रदेशस्तरबाटै पर्यटक प्रहरी परिचालन गरेर केही सहजता प्रदान गरेको छ । यसले सुरक्षाको क्षेत्रमा नयाँ र सकारात्मक सन्देश दिएको सरकारको दाबी छ । 

पर्यटक प्रहरीको मुख्य उद्देश्य भनेको यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई विशिष्टिकृत सुरक्षा प्रदान गर्नुका साथै उनीहरूको यात्रालाई झन्झटमुक्त, सुरक्षित र अविस्मरणीय बनाउनु हो । भन्सार विभाग र पर्यटन कार्यालयको पछिल्लो तथ्यांकले कोशी प्रदेशमा पर्यटकको आगमन निकै उत्साहजनक र आशालाग्दो रहेको देखाउँछ, जसले प्रदेशको समग्र अर्थतन्त्रमा नयाँ आशा र उत्साह जगाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत जेठ ७ गतेदेखि सरकारले भारतीय साना सवारीको विवरण राख्न थालेयताको नतिजा निकै सकारात्मक र उत्साहपूर्ण पाइएको छ । 

null

जेठ मसान्तसम्मको छोटो अवधिमा मात्र टीआईभी प्रणालीमा ८६ हजार ५२ वटा सवारी साधन दर्ता भएका छन् भने ६५ हजारभन्दा बढी भारतीय साना सवारी साधनहरू औपचारिक रूपमा नेपाल प्रवेश गरेका छन् । 

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार यस अवधिमा करिब २ लाखभन्दा बढी भारतीय नागरिक साना सवारी साधनमार्फत नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । 

कोशी प्रदेशका मुख्य नाकाहरूबाट मात्रै एक महिनामा ११ हजारभन्दा बढी साना सवारी साधन भित्रिएका छन्, जसले यहाँको पर्यटन बजारको विशाल सम्भाव्यता र आकर्षणलाई प्रस्ट पार्छ । पर्यटन कार्यालय काँकडभिट्टाले उपलब्ध गराएको विवरणमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि जेठ मसान्तसम्म काँकडभिट्टा नाकाबाट मात्रै कूल १ लाख ५४ हजार ३३ जना पर्यटक नेपाल भित्रिएका छन् । 

यसमध्ये ८ हजार ९ सय १९ जना तेस्रो मुलुकका पर्यटक रहेका छन् भने १ लाख ४५ हजार १ सय १४ जना भारतीय पर्यटक रहेका छन् । सोही अवधिमा ८ हजार ६ सय ५२ जना तेस्रो मुलुकका र १ लाख ३० हजार ८ सय ४२ जना भारतीय पर्यटक सोही नाका हुँदै फर्किएको तथ्यांकले देखाउँछ । 

काँकडभिट्टा र इलामको पशुपतिनगर नाकालाई संयुक्त रूपमा हेर्ने हो भने एघार महिनाको अवधिमा १ लाख ३१ हजार ९ सय १५ पर्यटक प्रवेश गरेको र त्यसमध्ये ३८ हजार ९ सय ६८ बाह्य पर्यटक रहेको देखिन्छ । 

विराटनगर नाकाबाट पनि २ हजार ७ सय २१ साना सवारी साधन र ४ हजार ४ सय ८६ मोटरसाइकल औपचारिक रूपमा भित्रिएका छन् ।

null

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव कृष्णकुमार न्यौपानेका अनुसार प्रदेशस्तरबाट मात्रै पर्यटक लक्षित गरेर प्रहरी राखिएको नेपालकै पहिलो र भिन्न अभ्यास हो । हाल कोशीका विभिन्न ७ महत्त्वपूर्ण पर्यटकीय स्थानमा २१ जना पर्यटक प्रहरी परिचालन गरिसकिएको छ । 

यो संख्यालाई थप विस्तार गर्ने र सेवालाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ कोशी प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा थप ६० जना सुरक्षाकर्मीलाई विशेष पर्यटक प्रहरी तालिम दिइँदै छ । यस अगाडि नै २० जनाले लालिम लिइसकेका छन् । २० जना पनि प्रदेश आफैंले तयार गरेका पर्यटक प्रहरी हुन् ।

पर्यटक प्रहरीको काम केवल गस्ती गर्नु मात्र नभई पर्यटकका समस्या सुन्ने र समाधान गर्ने पनि हो । यसअघि भारतबाट आउने पर्यटकले सीमा नाका र सडकका विभिन्न ठाउँमा हुने प्रहरी चेकिङका कारण ठूलो सास्ती र मानसिक हैरानी खेप्नुपर्ने गुनासो बारम्बार आउने गर्दथ्यो । यसले नेपालको छविमा समेत नकारात्मक असर परिरहेको थियो । 

तर अहिले प्रदेश सरकारले पर्यटन वर्ष २०८२ लाई लक्षित गरी भारतीय गाडीमा नाका प्रवेश गर्ने बित्तिकै पर्यटक स्टिकर टाँस्ने व्यवस्था गरेको छ । उपसचिव न्यौपानेका अनुसार, एकपटक स्टिकर टाँसेको गाडीलाई अन्यत्र ठाउँमा पटक–पटक चेकिङ गरेर दु:ख दिने काम पूर्ण रूपमा बन्द गरिएको छ । 

प्रहरीले शंका लागेमा मात्रै चेकिङ गर्ने भएकाले पहिला भन्दा बाह्य पर्यटकलाई सहज भएको पर्यटन व्यवासयी भविष श्रेष्ठले बताए । अझै केही सुधार गर्न भने बाँकी रहेको उनले बताए ।

कोशी प्रदेशमा पारिवारिक घुमघाम र मनोरञ्जनका लागि दर्जनौं यस्ता पर्यटकीय तथा धार्मिक गन्तव्य छन्, जसले विश्वभरका प्रकृतिप्रेमी र तीर्थालुहरूलाई तानिरहेका छन् । सुनसरी, मोरङ र झापाका बासिन्दाका लागि मात्र नभई सीमापारिका विहार तथा पश्चिम बङ्गालका पर्यटकका लागि भेडेटार एउटा उत्कृष्ट ‘हिल स्टेसन’ सावित भएको छ । 

धरान बजारबाट मात्र १६ किलोमिटरको दूरीमा रहेको १४२० मिटर उचाइको भेडेटारमा तराईको गर्मी छल्न आउने पर्यटकको सधैँ घुइँचो लाग्छ । तराईमा प्रचण्ड गर्मी हुँदा भेडेटारमा कुहिरोभित्र हराउन पाउनु र सिरसिर चिसो हावामा रम्नु यहाँको मुख्य आकर्षण हो । 

भेडेटार केवल आफैंमा एउटा गन्तव्य मात्र नभई आसपासका अन्य पर्यटकीय क्षेत्रहरू जस्तै; पाथीभारा मन्दिर, नाम्जे गाउँ, नमस्ते झरना र राजारानी तालमा पुग्ने प्रमुख ट्रान्जिट प्वाइन्ट पनि हो । यहाँको आधुनिक सिसाको टावरले पर्यटकलाई थप रोमाञ्चकता र नयाँपन प्रदान गरेको छ । 

null

विहारको कटिहारबाट आएका किरण कुमार जस्ता युवाहरूका लागि भेडेटारको मौसम एउटा सपनाको संसार जस्तै लाग्ने गरेको छ । उनीजस्ता दैनिक सयौं पर्यटक सार्वजनिक सवारी वा रेलमार्फत जोगवनी हुँदै नेपाल भित्रिने गरेका छन्, जसले गर्दा यहाँका होटल र होमस्टे सधैँ भरिभराउ देखिन्छन् । भेडेटारको यो पर्यटकीय चहलपहलले धरान र धनकुटाको स्थानीय अर्थतन्त्रमा समेत ठूलो टेवा पुर्‍याएको छ ।

पर्यटनको यो बढ्दो लहरले स्थानीय अर्थतन्त्र र जनजीवनमा सकारात्मक र दिगो परिवर्तन ल्याएको छ । धनकुटाको डाँडाबजारस्थित सामुदायिक होमस्टे सञ्चालक सीता घिमिरेको अनुभवले भन्छ कि यहाँ आउने भारतीय पर्यटकले केवल कोठा र खानाको मात्र उपयोग गर्दैनन्, उनीहरूले स्थानीय स्तरमा उत्पादन भएका अर्गानिक कृषि सामग्री समेत ठूलो परिमाणमा किनेर लैजाने गरेका छन् । 

यहाँ उत्पादित आरु, आल्चा, काउली र अन्य मौसमी फलफूल तथा तरकारी भारतीय पर्यटकका लागि आकर्षणको वस्तु बनेका छन् । यसले एकातिर पर्यटन व्यवसाय फस्टाएको छ भने अर्कोतिर स्थानीय किसानको उत्पादनले सिधै उपभोक्ता र राम्रो बजार मूल्य पाएको छ । यसरी पर्यटनले स्थानीय स्वरोजगारी र आर्थिक समृद्धिको नयाँ ढोका खोलेको छ ।

इलामको कन्याम अर्को त्यस्तो गन्तव्य हो जसले चियाको माध्यमबाट आफ्नो छुट्टै पहिचान विश्वभर बनाएको छ । भारतीय शहर दार्जिलिङको नजिक रहेको कन्यामका चिटिक्क परेका चिया बगानले पहाडका ढिस्कामा हरियो गलैँचा बिछ्याए जस्तो झल्को दिन्छन् । 

यहाँ विभिन्न जातीय पोसाक लगाएर तस्वीर खिच्ने, घोडा चढ्ने र भर्खरै सञ्चालनमा आएको स्काई वाकमा हिँड्ने पर्यटकको संख्या उल्लेख्य छ । कन्यामलाई आधार बनाएर पर्यटक झुल्के घाम हेर्न श्रीअन्तु र रेडपाण्डा अवलोकन गर्न सन्दकपुरसम्म पुग्ने गरेका छन्, जसले पहाडी पर्यटनको सम्भावनालाई थप उचाइमा पुर्‍याएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तु पर्यटनमा पनि कोशी प्रदेश निकै धनी र अद्वितीय छ । यसकै एउटा गन्तव्य कोशी टप्पु वन्यजन्तु आरक्ष हो । यो विशेषगरी अर्नाका लागि विश्वमै प्रख्यात छ । 

नेपालको सबैभन्दा ठूलो नदी कोशीको विशाल जलराशी र यसका आसपासका सिमसार क्षेत्र विश्वभरका चरा अवलोकनकर्ताका लागि स्वर्ग मानिन्छन् । यहाँ पर्यटकका लागि बर्ड वाचिङ क्याम्प, हात्ती सफारी र जिप सफारीका आधुनिक सुविधा उपलब्ध छन् ।

त्यस्तै, गुराँसको राजधानी भनेर चिनिने तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रले कोशी प्रदेशको पर्यटनमा विशेष गौरव र पहिचान थपेको छ । तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको कोशी पर्यटन वर्ष २०८२ को औपचारिक शुरूआत पनि यहीँबाट भएको घोषणा गरिएको थियो । 

null

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजाति यही क्षेत्रमा पाइने भएकाले यसको वातावरणीय र पर्यटकीय महत्त्व अझ बढेको हो । तेह्रथुमको वसन्तपुर बजारबाट शुरू हुने यो यात्राले पर्यटकलाई लालीगुराँसको स्तम्भदेखि लिम्बू संस्कृतिको जीवन्त स्वरूप झल्काउने चोलुङ पार्कसम्म पुर्‍याउँछ । 

चोलुङ पार्कमा ढुङ्गा र स्थानीय सामग्रीको प्रयोग गरेर बनाइएका संरचनाले फिल्म र म्युजिक भिडियो सुटिङका लागि समेत ठूलो आकर्षण बढाएको छ, जसले सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गरिरहेको छ ।

संखुवासभा र ताप्लेजुङको सङ्गममा रहेको गुफापोखरीले पर्यटकलाई हिमाली शृंखलाको काखमा पुगेको अलौकिक अनुभूति गराउँछ । २८९० मिटरको उचाइमा रहेको यो पोखरीबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र पाँचौं अग्लो मकालु हिमालको छायाँ पोखरीको कञ्चन पानीमा देख्न सकिन्छ । 

हिउँ पर्ने समयमा यहाँ हिउँ खेल्न जानेको घुइँचो लाग्ने गर्दछ, जसले गर्दा यहाँका टी–हाउस र साना होटलको व्यवसायमा उल्लेखनीय टेवा पुगेको छ । धार्मिक पर्यटकका लागि पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेव मन्दिर कोशी प्रदेशको अर्को मुख्य आस्थाको केन्द्र हो । 

हिन्दू, बौद्ध र किराँत तीनै धर्मको त्रिवेणी मानिने हलेसी गुफामा पुग्दा देखिने धार्मिक सहिष्णुता र सद्‌भावले यहाँको सांस्कृतिक गरिमालाई थप उँचो बनाएको छ । अचेल काठमाडौं र अन्य ठूला शहरबाट मध्यपहाडी राजमार्ग हुँदै हलेसी पुग्न सहज पहुँच भएकाले धार्मिक पर्यटकको चाप बढेको छ । यसले गर्दा स्थानीय स्तरमा होटल र यातायात व्यवसायमा नयाँ लगानीका अवसर सिर्जना भएका छन् ।

null

सरकारले आउँदो आर्थिक वर्षलाई ‘कोशी भ्रमण वर्ष’को रूपमा विशेष तयारीका साथ मनाउने योजना बनाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीका अनुसार भारतीय पर्यटकलाई आकर्षित गर्न कोशी–विहार कार्यक्रम सञ्चालन गरिएको छ । 

यस कार्यक्रम अन्तर्गत विद्यार्थीलाई ब्राण्ड एम्बेस्डरको रूपमा भारतीय क्षेत्रमा प्रचार गराउने, नेपाली भाषी भारतीयलाई लक्षित गरी विशेष कार्यक्रम गर्ने र भारतीय पर्यटकलाई थप आकर्षित गर्ने उनले बताए  । 

धार्मिक स्थलसम्मको पहुँच र साहसिक पर्यटनका गतिविधि थप्न सके कोशी प्रदेश भारतीय पर्यटकका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘हिलस्टेशन’ र ‘रिलिजियस हब’ बन्ने निश्चित छ । 

पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले नेपालमा आउने पर्यटकलाई क्वान्टिटी (संख्या)बाट क्वालिटी (गुणस्तर)मा बदल्न र उनीहरूको बसाइँ लम्ब्याउन अब सरकार र निजी क्षेत्रले ठोस योजनाका साथ सहकार्य गर्नुपर्ने बेला आएको बताउँछन् ।

उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउतका अनुसार कोशी प्रदेशका लागि पर्यटन नै आर्थिक मेरुदण्डको सबैभन्दा ठूलो र भरपर्दो हिस्सा बन्ने सम्भावना छ । यसका लागि पूर्वाधार विकास र सेवाको गुणस्तरमा निरन्तर सुधार आवश्यक रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्