
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नति गर्ने आफ्नो योजनालाई निरन्तरता दिँदै विभिन्न १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । यसले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ ।
योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेको भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन् । अब भोल्टेको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्ने छ ।
देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया भएको एनसेलले जनाएको छ । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने कम्पनीको विश्वास छ ।
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजनाअन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढी टावरमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिन आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोशीका तीन जिल्लाका विभिन्न स्थानियतहहरुमा थ्रीजी बन्द गरेको थियो ।
थ्रीजी सेवा बन्द हुने स्थानको सूचीमा कोशी प्रदेशको उदयपुरको त्रियुगा, चौदन्डीगढी, वेलका, कटारी, संखुवासभाका चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाका पाख्रीबास, साँगुरीगढी, भोजपुरका टेम्केमैयुङ र अरुणलगायतका स्थानीय तह रहेका छन् । मधेश प्रदेशको सप्तरीका सप्तकोशी र कन्चनरुप, कर्णालीको रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायतका स्थानिय तहमा थ्रीजी बन्द हुनेछ ।
यसैगरी लुम्बिनी प्रदेशअन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौडा, बकैया, मनहरी र राक्सिराङजस्ता स्थानिय तहमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ ।
यो सेवा बन्द भए पनि ग्राहकले भोल्टेको फाइदा लिन सक्छन्, जसमा एकै समयमा भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा अहिलेकै शुल्कमा प्रयोग गर्न सकिन्छ ।
भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रूपमा छिटो समयमा नै स्थापित हुन्छ ।