
अडियो रेकर्डिङमा समस्या भएपछि राष्ट्रियसभाको बैठक केहीबेरका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो सवा १ बजे बसेको बैठक केहीबेर चले पनि प्रत्यक्ष प्रसारणमा आवाज आएको थिएन ।
अर्काइभमा समेत अडियो रेकर्ड नभएपछि अध्यक्ष नारायण दाहालले बैठक स्थगित गरेका हुन् । स्थगित हुनुअघि महन्थ ठाकुर, रामकुमारी झाँक्रीलगायत सांसदले शून्य समयमा बोलेका थिए ।
प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयको छलफल सुन्न सरकारका मन्त्रीहरू समेत उपस्थित भएका थिए । बैठक स्थगित भएपछि मन्त्रीहरू फर्केका छन् ।
समस्या समाधान गरेर बैठक चलाउने तयारी भएको संसद् सचिवालय स्रोतले जानकारी दियो । यसअघि बिहीबार प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारणमा पनि समस्या आएको थियो ।