
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो समयको भाषा, व्यवहार र ‘अहंकारी प्रवृत्ति’का कारण अहिलेको अवस्थामा एकता सम्भव नभएको प्रचण्डको भनाइ छ ।
शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय भेला एवं प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले विगतको पार्टी एकता किन विफल भयो भन्ने विषयमा गम्भीर समीक्षा नगरी फेरि हतारमा एकता गरिए अर्को दुर्घटना दोहोरिन सक्ने चेतावनी दिए ।
प्रचण्डले ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै ‘उल्टो–उल्टो कुरा गर्ने’ र ‘अहंकारपूर्ण’ शैलीसँग तत्काल सहकार्य वा एकता सम्भव नरहेको बताएका हुन् ।
उनले कार्यकर्तालाई एमालेसँग तत्काल एकता हुने भन्ने भ्रममा नपर्नसमेत आग्रह गरे ।
यद्यपि, विचार मिल्ने दुई–तीन वटा साना राजनीतिक दलसँग भने छिट्टै पार्टी एकताको प्रक्रिया अघि बढ्ने प्रचण्डले जानकारी दिए । ती दलहरूसँगको एकतामा कुनै अन्योल नरहेको उनको भनाइ थियो ।
संसद्मा भने सरकारका गलत नीति र निर्णयविरुद्ध अन्य दलसँग कार्यगत सहकार्य हुने प्रचण्डले स्पष्ट पारे । उनले सरकारविरुद्धको सहकार्यलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उल्लेख गर्दै मुद्दाका आधारमा मात्रै सहकार्य गरिने बताए ।