
गायिका बबिना किराती र गायक दुर्गेश थापाको स्वरमा रहेको नयाँ गीत ‘मास्टर्नी’ अहिले विवादको केन्द्रमा छ। यो गीतको शब्द, दृश्य र प्रस्तुतिलाई लिएर विवाद उत्पन्न भएको हो ।
अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय रहेको यस गीतलाई लिएर कला समीक्षक प्रकाश सायमीले कडा टिप्पणी गरेका छन् ।
समीक्षक सायमीले यस गीतलाई 'कला' नभई 'रद्दी व्यवसायको भद्दा रूप' को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै अभिनेत्री प्रियंका कार्कीले गीतमा प्रयोग गरेको शब्द र शैलीप्रति आफ्नो कुनै गुनासो नरहेको तर यसलाई कला मान्न नसकिने बताए ।
सायमीले यो प्रस्तुतिलाई जर्मन नाटककार बर्तोल्त ब्रेख्तको भनाइसँग तुलना गर्दै 'पैसा र चर्चाका लागि गरिने सस्तो व्यवसाय' भनेका छन्। उनले लेखेका छन्, 'प्रियंकाका माता-पिता, सासू-ससुरा कसैलाई यो भद्दा कलाप्रति आपत्ति छैन र उनीहरूले यसलाई पचाएका छन् भने परिवार बाहिरकाले पनि पचाउन सक्नुपर्छ। तर वास्तवमा यो कला होइन, ब्रेख्तले भने जस्तै रद्दी व्यवसायको भद्दा रूप हो।'
गीतमा प्रयोग भएका 'द्विअर्थी' शब्दहरूको प्रसंग उठाउँदै सायमीले यसलाई भारतका चर्चित नौटङ्की कलाकार दादा कोण्डकेको शैलीसँग तुलना गरेका छन्। कोण्डकेले पनि आफ्नो समयमा 'अँधेरी रात मे दिया तेरे हात मे' जस्ता द्विअर्थी शीर्षक राखेर फिल्म र गीत बनाउने गर्थे। 'कोण्डकेले समाजमा भ्रम पैदा गर्थे र दर्शकलाई नै तिमीहरूको दिमाग फोहोर छ भन्थे। उनले पैसा त कमाए तर मरेपछि कसैले श्रद्धाञ्जलीसम्म दिएनन् र आज उनलाई सम्झिने कोही छैन,' सायमीले चेतावनीपूर्ण शैलीमा लेखेका छन् ।
शब्द र अर्थको खेल
गीतको "मलाई ... भए आउ" जस्ता शब्दहरू शब्दकोशबाटै निकालिएको भए पनि त्यसले दिने अर्थ र समाजमा पार्ने प्रभाव गलत रहेको सायमीको ठहर छ। चर्चा पाउन र पैसा कमाउनका लागि गरिने यस्ता सस्तो प्रयोगले कलाकारको दीर्घकालीन छविमा गम्भीर असर पार्ने उनको विश्लेषण छ।
अहिले 'मास्टर्नी' गीतको भिडियोमा प्रियंका र दुर्गेशको नृत्यलाई कतिपयले 'बोल्ड' र 'रमाइलो' भनेका छन् भने कतिपयले यसलाई नेपाली संस्कृति र पारिवारिक वातावरण सुहाउँदो नभएको भन्दै आलोचना गरिरहेका छन्।
कला क्षेत्रका व्यक्तित्वहरूबाटै यति कडा आलोचना आएपछि निर्माण पक्षले भने यसबारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।