
काठमाडौं, १९ चैत- वीर अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप थियो । वीर अस्पतालको इमर्जेन्सी विभागमा विष सेवन गरी भर्ना भएका एक युवक थिए । कोठामा विष सेवन गरेको अवस्थामा भेटिएपछि उपचारका लागि उनकी दिदीले वीर अस्पतालमा ल्याएकी रहिछन् ।
‘म अफिसबाट कोठामा पुग्दा भाइ अचेत अवस्थामा लडिरहेको भेटेँ, अलिअलि मात्रै बोल्न सक्ने अवस्थामा थियो,’ परिचय नबताउने शर्तमा उनले लोकान्तरसंग भनिन्, ‘के भयो भनेर सोधेँ विष खाएको थिएँ भन्यो, त्यसपछि हतारिँदै यहाँ ल्याएँ ।’
अघिल्लो दिनदेखि स्लाइन पानी दिएर राखिएको उनले सुनाइन् ।
‘कुन विष खाएको भन्ने नै थाहा छैन । त्यही पत्ता लगाउन रगत परीक्षणका लागि टिचिङ अस्पताल पठाएकी छु,’ उनले भनिन्, ‘रगत परीक्षण गर्न पनि टिचिङ पुग्नुपर्यो । डाक्टरले आईसीयुमा राख्नुपर्छ भन्नुभएको छ, तर यहाँ आईसीयू पनि खाली छैन रे । प्राइभेटमा पनि महंगो हुन्छ भन्छन् । के गर्ने अन्यौलमा परेको छु ।’
बिहान वीर अस्पतालमा लोकान्तरसँग कुराकानी गरेकी उनले साँझपख उनको बारेमा जानकारी लिन सम्पर्क गर्दा आईसीयू नपाएपछि भाइलाई वीर अस्पतालबाट दिउँसो केएमसी अस्पताल लगेको जानकारी दिइन् ।
‘ठूलो अस्पताल, सबै सेवा छ होला भनेर वीर अस्पताल लगेको थिएँ । रगत जाँच गर्न चिटिङमा दुईपटक धाउनु पर्यो । आईसीयू नपाएर केएमसीमा ल्याएँ । भाइ डिप्रेसनमा छ । अब मनोचित्सकसंग परार्मश गराउन बाँकी नै छ,’ उनले टेलिफोनमा भनिन् ।
शय्या सीमित
वीर अस्पतालको मेडिकल रेर्कड शाखाका अनुसार वैशाखदेखि चैत १५ गतेसम्ममा ५७ जना विष सेवन गरेका बिरामीको उपचार भएको छ । यस्तै झुण्डिएर आत्महत्या प्रयास गरेका ४ जनाको उपचार भएको छ । आत्महत्याको प्रयासमा सबैभन्दा धेरै विष सेवन गरेकाहरू उपचारका लागि आउने गरेको अस्पतालको तथ्याङ्कले देखाउँछ ।
यीबाहेका एसिड, अखाद्य वस्तु, अत्याधिक अल्कोहल तथा औषधि सेवन गरेर पनि आत्महत्याको प्रयास गरेका बिरामीहरू आउने गरेको वीर अस्पतालका आकस्मिक सेवा विभाग प्रमुख डाक्टर केदारप्रसाद सेञ्चुरीले बताए ।
वीर अस्पतालमा आत्महत्या प्रयासका बिरामीहरूका लागि उपयुक्त उपचार कक्ष नभएको सेञ्चुरीले बताए । आत्महत्या प्रयास गर्ने बिरामीहरू मानसिक स्वास्थ्य समस्यामा रहेका हुन्छन् । उनीहरूको लागि छुट्टै कक्ष हुन आवश्यक भए पनि वीर अस्पतालमा रहेको सीमित शैय्यामा राखेर उपचार गराउँदै आएको सेञ्चुरीको भनाइ छ ।

विष सेवन गरेका बिरामीको केस जटिल भएकाले बिरामीको अवस्था हेरेर उपचार गरिने उनले बताए ।
‘विष सेवन गरेकाहरूको अवस्था अलि जटिल हुनसक्छ, विष सेवन गरेर आएका बिरामीको हामीले अनुसन्धान गर्छौं । कस्तो विष खाएको हो, सोही अनुरूप बिरामीलाई नाक, मुखबाट पाइप राखेर बान्ता गराउने, स्लाइन पानी, विष काट्ने एनिटडोजहरू नसाबाट दिन्छौं,’ उनले लोकान्तरसंग भने, ‘बिरामीको मुटुको धड्कन, श्वासप्रश्वासको अवस्था परीक्षण गर्छौं ।’
विष सेवन गरेको अवस्थामा अस्पतालमा आइपुगेका बिरामीलाई २४ देखि ४० घण्टासम्म चिकित्सकको निगरानीमा राख्ने गरेको डा. सेञ्चुरीले बताए । मुटुको चाल र श्वासप्रश्वासमा समस्या भएमा आईसीयूमा राखेर पनि उपचार गर्नुपर्ने उनको भनाइ छ ।
वीर अस्पतालको आकस्मिक कक्षमा शैय्याभन्दा बिरामीको संख्या अत्याधिक हुँदा उपचार गर्न समस्या हुने गरेको इमर्जेन्सी विभागमा कार्यरत डा. विकास रौनियारले बताए ।
‘वीर अस्पताको आकस्मिक कक्षमा २२ वटा मात्रै शैय्या छन् । दैनिक दुईसयसम्म बिरामीको उपचार गर्दै आएका छौँ । अस्पतालमा आवश्यक शैय्या र उपचार कक्ष छैन, तर हामीले जस्तो छ त्यस्तैमा राखेर उपचार गर्दै आएका छौं,’ उनले भने, ‘यो समस्या अहिले पनि छ पहिला पनि थियो । यस्तौमा सेवा दिने बानी बसिसकेको छ ।’
देशकै पुरानो र जेठो वीर अस्पतालमा काठमाडौं र अन्य जिल्लाबाट रिफर भएका बिरामीको चाप भइरहन्छ । बिरामीको चाप बढी र अस्पतालमा शैय्या कम हुँदा आकस्मिक कक्षमा विष सेवन गरेर आउने बिरामीलाई आईसीयूमा शय्या अभाव हुने गरेको डा. सेञ्चुरीले बताए ।
‘विष सेवन गरेका कतिपय बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ तर आईसीयू कक्षमा शय्या यस्ता बिरामीको लागि छुट्याइएको हुँदैन, त्यसैले अन्य अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ ।’
आत्महत्याको प्रयास गर्ने बिरामीहरू मानसिक स्वास्थ्य समस्यामा हुन्छन् । उनीहरूको उपचार गर्दा चिकित्सकहरूले संवेदनशील भएर परामर्श दिँदै गर्नुपर्ने हुन्छ ।
आत्महत्याको प्रयास गरेर अस्पताल ल्याइएका कतिपय बिरामीले चिकित्सकलाई उपचार गराउन समेत दिँदैनन् । यस्तो अवस्थमा मनोचिकित्सकको संलग्नतामा बिरामीलाई सकारात्मक परार्मश दिँदै उपचार गराउनुपर्ने हुन्छ । तर वीर अस्पतालमा भने यस्तो सुविधा नभएको डा. सेञ्चुरीको भनाइ छ ।
‘आत्महत्याको प्रयास गरेर उपचारमा ल्याइएका कतिपय बिरामीहरू उपचार गराउन समेत मान्दैनन् ।
त्यस्तो अवस्थामा मनोरोग चिकित्सक पनि उपचारमा संलग्न भएमा राम्रो हुने हो,’ उनले भने, ‘तर हाम्रो अस्पतालमा मनोरोग सेवा त छ । हप्तामा दुईदिन मात्रै सञ्चालन हुन्छ । आकस्मिक सेवामा मनोचिकित्सक संलग्न हुँदैनन् । त्यसैले आकस्मिक कक्षमा ड्यूटीमा रहेका डाक्टरले नै काउन्सिलिङ गर्नुहुन्छ । बिरामीले मान्दै मानेन भने उसको आफन्तको सहयोगमा हातखुट्टा बाँधेर पनि उपचार गर्नुपर्ने अवस्था हुन्छ ।’
आत्महत्याको प्रयासमा विष सेवन गरेर आउने बिरामीलाई उपचार गर्न कठिन हुने गरेको डा. विकास रौनियारले बताए ।
‘सुसाईडको केसमा आएका बिरामीहरूको उपचार गर्न अलि जटिल नै हुन्छ । तर हामीले सकेसम्म काउन्सिलिङ गरेर उपचार गराइरहेका हुन्छौं,’ उनले भने, ‘हाम्रो अस्पतालमा साइक्याट्रिक डाक्टरको समस्या छ, त्यसैले यहाँ उपचारपछि त्यस्तो केसका बिरामीलाई उसको अवस्था हेरेर परामर्शको लागि अन्य अस्पतालमा रिफर गर्छौं ।’