०५ असार २०८३, शुक्रबार

४० हजार भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता

कात्तिक २०, २०७४
४० हजार भूकम्पपीडितले अझै पाएनन् पहिलो किस्ता
काठमाडौं, २१ माघ – भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा समेत भूकम्पपीडित ४० हजार परिवारले घर निर्माणका लागि अनुदान रकम पाउन सकेका छैनन् ।

सरकारले पहिलो किस्ताबापत लाभग्राहीलाई उपलब्ध गराउने घोषणा गरेको ५० हजार रुपैयाँ अनुदान बापतको रकम भूकम्पबाट अतिप्रभावित जिल्लाका ४० हजार १ सय ११ परिवारले अझैसम्म पाउन नसकेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि पटक–पटक निजी घर निर्माणका लागि पहिलो किस्ताको रकम चाँडै लाभग्राहीलाई उपलब्ध गराउने सार्वजनिक वचनबद्धता जनाउँदै आएको छ । तर अझै पनि ठूलै संख्याका भूकम्पप्रभावितले उक्त रकम पाउन सकेका छैनन् ।

यसअघि दशैं सकिएलगत्तै दोस्रो किस्ताको रकम भूकम्पपीडित परिवारलाई उपलब्ध गराउने घोषणा गरिएपनि जाडो सकिन लाग्दा समेत लाभग्राही अनुदान रकमबाट वञ्चित भएका छन् ।

९३ प्रतिशत प्रभावितले पहिलो किस्ता पाए

प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा निजी घरको पुनर्निर्माणका लागि कुल अनुदान सम्झौताको ९३ प्रतिशत घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरिसकेका छन् ।

निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनीमध्ये माघ १८ गतेसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको ५० हजार रुपैयाँ प्राप्त गरिसकेका प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित १४ जिल्लामात्र ६ लाख २६ हजार घर पुनर्निर्माण गर्नका लागि पहिचान भएका छन् ।

१० प्रतिशतमात्र घर बने

मुलुकभर हालसम्म ४१ हजार ३ सय ११ घरको पुनर्निर्माण सकिएको प्राधिकरणको तथ्याङ्क छ । कुल बनाउनुपर्ने निजी घरको संख्याको यो करीब १० प्रतिशत हो ।

प्राधिकरणका अनुसार प्रभावित जिल्लामा २७ हजार नयाँ निजी घर निर्माणको चरणमा छन् । प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) आएपछि पुनर्निर्माणको कामले गति पाउने अपेक्षा सरोकारवाला सरकारी अधिकारीहरूको छ ।

७०० ले पाए दोस्रो किस्ता

पहिलो किस्ताको अनुदान पाएर मापदण्ड अनुसार घरको जग निर्माण गरेका ७ सय २० घरधनीले दोस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका प्राधिकरणले जनाएको छ । त्यस्तै, ६१ हजारले दोस्रो किस्ताका लागि आवेदन दिएका प्राधिकरणको भनाइ छ ।

दोस्रो किस्ता अनुदानका लागि प्राधिकरणले करीब १२ अर्ब रुपैयाँको अख्तियारी पाएको छ । प्राधिकरणले दोस्रो किस्ताका लागि २६ अर्ब २ करोड रुपैयाँ माग गरे पनि झण्डै आधा कमको मात्र अख्तियारी पाएको हो ।

प्राधिकरणका अनुसार पहिलो किस्ता पाइसकेर आधारभूत तहको निर्माण कार्य सम्पन्न गरिसकेकाका लागि दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँको सम्झौता गरिएको छ । सरकारले तेस्रो किस्ता बापत थप १ लाख रुपैयाँ दिने घोषणा पनि गरिसकेको छ । प्राधिकरणले निश्चित मापदण्डका आधारमा किस्ताकिस्तामा अनुदान रकम वितरण गर्छ ।

९३ हजार गुनासो फर्छ्योट

प्राधिकरणका अनुसार हालसम्म भूकम्पपीडितका ९३ हजार ३ सय ६४ वटा गुनासो फर्छ्योट भएको छ । प्राधिकरणले भूकम्पबाट अतिप्रभावित १२ जिल्लाका उक्त संख्याको गुनासो फर्छ्योट गरेको हो । हालसम्म २ लाख ४ हजार ९ सय ६६ गुनासो प्राप्त भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका सहप्रवक्ता भीष्म भुसालले पहिलो किस्ताको रकम नपाएका लाभग्राहीलाई सो रकम चाँडै दिलाउने प्रयास भइरहेको बताए । ‘दोस्रो किस्ताको रकम वितरण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले लोकान्तरसँग भने, ‘अब पुनर्निर्माणका गतिविधि परिणामात्मक हुँदै गएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्