२९ असार २०८३, सोमबार

पाँच प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहर

असार ५, २०८३
काठमाडौं
पाँच प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहर

देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा तातो लहरको जोखिम कायम रहने भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाको छ । जसका कारण कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ।

महाशाखाले कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी प्रदेशका तराई क्षेत्रका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने जनाइएको छ। यसले जनजीवन तथा स्वास्थ्यमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ। ती प्रदेशका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्