
विराटनगर, १५ वैशाख– गत माघ पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर बेपात्ता पारिएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणको छानवीनमा नयाँ 'मोड' आएको छ ।
३३ किलो सुन प्रकरण र सोसँगै जोडिएको मोरङका सुन व्यापारी सनम शाक्यको हत्याबारे छानवीन गर्न गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ । समितिले अहिले उक्त प्रकरणमा जोडिएका विभिन्न व्यक्तिसँग बयान लिइरहेको छ ।
समितिले केही वहालवालादेखि पूर्व उच्च प्रहरी अधिकारीसँग बयान लिएर थप छानवीनका लागि हिरासतमा लिन निर्देशन दिएको छ । समितिको निर्देशन बमोजिम प्रहरीले प्रहरीका ३ जना वहालवाला अधिकारी र १ जना पूर्व डिआईजीसहित २७ जनाविरुद्ध म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
तर घटनामा नयाँ मोड तब आयो, जब सुनकाण्डमा जोडिएका प्रहरी उपरीक्षक (डिएसपी) प्रजित केसी एका–एक जिल्ला प्रहरी कार्यालय मोरङमा पुगे ।
अपराध महाशाखाको डिएसपी हुँदा सुन काण्डसँग जोडिएको सनम शाक्य हत्याकाण्डमा ‘अनावश्यक चलखेल’ गरेको भन्दै गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको छ । सोही प्रकरणमा जोडिएका कारण केसीलाई अपराध महाशाखाको जिम्मेवारीबाट हटाएर गत चैत २२ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो ।
हाल गृह मन्त्रालयको समितिले उनीसँग बयान लिइरहेको जनाइएको छ । तर उनी शनिवार एका एक जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित भएका छन् । गृह मन्त्रालयको समितिले उनीबारे थप निर्णय नै नगरेको अवस्थामा केसी मोरङ पुगेका हुन् । केसी मोरङ पुग्नुलाई उच्च सरकारी वकिल कार्यालयका केही अधिकारीले घटनामा चलखेलको रुपमा लिएका छन् ।
‘गृह मन्त्रालयको उच्चस्तरीय समितिको छानवीनमा रहेका एक प्रहरी अधिकारी बिनाकुनै जानकारी घटनाको मुद्दा चलाइरहेको प्रहरी कार्यालयमा उपस्थित हुनु आफैंमा विरोधाभाषपूर्ण छ,’ उच्च सरकारी वकिलको कार्यालय मोरङका एक अधिकारीले लोकान्तरसँग भने, ‘डिएसपी केसी मोरङ प्रहरीमा आउनुले पनि घटनामा प्रहरीको संलग्नता कतिसम्म छ भन्ने बुझिन्छ ।’
जिल्ला प्रहरी कार्यालय मोरङ स्रोतका अनुसार केसीले शनिवार मोरङ जिप्रकामा हाजिर हुन खोजेका थिए । तर उनीसँग कुनै पत्र पनि नभएको र शनिवार बिदाको दिन भएकाले औपचारिक पूरा हुन सकेन ।
घटनाको अनुसन्धान गरिरहेका मोरङ प्रहरीको मुद्दा शाखाका अधिकृतलाई भेटेका केसी त्यसपछि पनि जिप्रकामा रहेको जनाइएको छ ।
प्रहरी स्रोतले डिएसपी केसीसँगै प्रहरीका अन्य दुईजना जवान पनि मोरङ जिप्रका पुगेका थिए । तर उनीहरुको नाम भने खुल्न सकेको छैन ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी महानगरीय अपराध महाशाखाको नेतृत्वमा रहेका बेला मोरङमा सनमको हत्या भएको थियो । हत्याका अभियुक्त जोगाउने उद्देश्यले एसएसपी लोहनीसहितको टोली हत्याकाण्डका अभियुक्त खोज्ने भन्दै मोरङ पुगेको थियो ।
मोरङ पुग्नेमा एसएसपी लोहनी, डिएसपी केसी र प्रहरी नायव निरीक्षक सई बालकृष्ण सञ्जेल थिए । गृह मन्त्रालयको समितिले सनम हत्याकाण्डमा सई बालकृष्ण सञ्जेलको संलग्नता रहेकोबारे केही तथ्य फेला परेको भन्दै थप अनुसन्धान गर्न प्रहरी हिरासतमा पठाएको थियो ।
प्रहरीले निलम्बन गरिसकेका सई सञ्जेल अहिले मोरङ प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध र कर्तव्य जानसम्बन्धी मुद्दा दर्ता भएको छ ।