
काठमाडौं, ४ जेठ – गूगल जस्तो ठूलो कम्पनीमा काम गर्ने सपना धेरैले देख्छन् किनकि त्यहाँ लाखौं रुपैयाँ कमाइ हुन्छ । यस्तो आकर्षक तलब भएको जागिर किन छोड्दैछन् त केही मानिस ?
एक मशिनको कारणले उनीहरू जागिर छोडिरहेका हुन् ।
केही महिनाअघि गूगलले अमेरिकाको रक्षा मन्त्रालयसँग एक विवादास्पद ड्रोनलाई कृत्रिम बौद्धिकता दिने सम्झौता गरेको थियो । यो कार्यक्रमको नाम प्रोजेक्ट मेभेन हो ।
गूगलको ड्रोनले मानिस र वस्तुको अन्तर बुझ्छ ।
गूगलका केही कर्मचारी यो परियोजनासँग रिसाएका छन् । उनीहरू यसमा काम गर्न चाहिरहेका छैनन् । समाचारअनुसार, मशिनलाई यति धेरै शक्ति दिइएको विरोधमा १२ जनाजतिले राजीनामा दिएका छन् ।
यसबाहेक अमेरिकी सेनाको काममा गूगल संलग्न भएको र यस्ता निर्णयहरू पारदर्शी पनि नहुने भनी कर्मचारी रिसाएका छन् । यस्तो कदम चालेर गूगलले प्रयोगकर्ताको विश्वासमा ठेस पु–याएको उनीहरूको भनाइ छ ।
विरोध गर्ने कर्मचारीहरूलाई इलेक्ट्रोनिक फ्रन्टियर (ईईएफ) फाउन्डेसनले पनि साथ दिएको छ । ईईएफका तर्फबाट सिन्डी कोन र पिटर एकसर्लीले भने, ‘गूगलले यो परियोजना शुरु गर्दा मशिनलाई शक्तिशाली र झन् राम्रो बनाउने
मात्र भनेको थियो । तर आर्टिफिसियल इन्टेलिजेन्समा विश्वव्यापी बहस नगरिकनै प्रयोग गर्नु भनेको मानिसको ज्यानसँग खेल्नु हो ।’
यो ड्रोन प्रोजेक्टसँग कर्मचारीहरू अत्यन्तै रिसाएकाले चारहजार कर्मचारीले आन्तरिक निवेदन दिएर विरोध दर्ता गराएका छन् । टप म्यानेजमेन्टलाई उनीहरूले प्रोजेक्ट रद्द गर्ने माग गरेका छन् । तर समाचारमा आएअनुसार,
म्यानेजमेन्टलाई यसले कुनै फरक पारेको छैन । यस विषयमा गूगलले कुनै जवाफ दिएको छैन ।
एजेन्सी