१७ असार २०८३, बुधबार

सर्वहारालाई सपना बाँड्नेहरू पूँजीपति भए, हाम्रो लडाईं हामी नै लड्छौं - स्वनाम साथी

जेठ १६, २०७५
सर्वहारालाई सपना बाँड्नेहरू पूँजीपति भए, हाम्रो लडाईं हामी नै लड्छौं - स्वनाम साथी

काठमाडौं, १६ जेठ – सत्ताको चरम दमनले थलिएकाहरूलाई माथि उठाउन सिंगो जीवन खर्च गरेका नेपाली कम्युनिस्ट आन्दोलनका एक गुमनाम नाम - शशि शेरचन ‘स्वनाम साथी’ ।

उनी श्रमिकदेखि मालिकसम्म हरेकलाई साथी भनेरै बोलाउन रुचाउँछन् । साम्यवादी समाज निर्माणको महाअभियानमा जीवन बिताएका स्वनामले जवानीमा प्रेम र विवाह पनि बिर्सिएछन् क्यारे ! उमेर र रोगले सँगसँगै च्यापेपछि बुढेसकालमा परार मात्रै बिहे गरेका हुन् उनले ।

नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण र इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकार सिंहदरबारमा रहेका बेला मंगलबार ११औं गणतन्त्र दिवस मनाइयो । हामी गणतन्त्र दिवसकै अवसर पारेर स्वनामलाई भेट्न उनकै निवास पुगेका थियौं ।

मिर्गौलासम्बन्धी समस्याका कारण लामो समयदेखि आराम गरिरहेका स्वनाम नयाँ बसपार्कपछाडि नेपाल टेलिकम नजिकै एक रोधीघर रहेको घरको तेस्रो तल्लामा बस्दा रहेछन् ।

कपाल लामो र सेतो थियो । त्यसलाई पछाडि लगेर चुल्ठो बाँधेका रहेछन् । उनले मुसुक्क हाँस्दै हात मिलाए अनि रोधीघरको ढोकाबाट हामीलाई माथि आफ्नो डेरासम्म पुर्‍याए ।

उनीसँगको डेढ घण्टाको बसाइ एक सिंगो इतिहासको किताब पढेजस्तै भयो । सबै बुझेनौं, सुन्यौं मात्रै । साहित्यका बिम्ब र प्रतिक, प्रेमका घुमाउरा कुराकानी, हामीले केही सोधेनौं, सबैले उनैले भने ।

त्यो बसाइमा उनले कम्युनिस्ट आन्दोलन विकृत बनेकोमा चिन्ता व्यक्त गरे । आफूलाई कम्युनिस्ट भन्ने तर त्यसअनुरूप व्यवहार नगर्ने कम्युनिस्ट नामधारीहरूप्रतिको असन्तुष्टिलाई बिम्ब र प्रतिक प्रयोग गर्दै उनले घुमाउरो भाषामा आक्रोश पोखे ।

कुराकानीको शुरुवातमै उनले गणतन्त्र ल्यायौं भन्नेहरूले इतिहास बिर्सेको गुनासो पोखे । उनले भने, ‘जे यहाँ छ यो सबैको हो । लाखौं वर्ष लगाएर विकास भएको चीज हो । म पनि छु यहाँ, तर म मात्रै छैन । कसैले मेरो मात्रै हो भन्न मिल्दैन ।’ 

कयौं वर्षको वैचारिक क्रान्ति र वर्षौंको युद्धका कारण आजको अवस्था आएको भन्दै उनले कुनै पनि उपलब्धि केही निश्चित व्यक्तिहरूकोे मात्रै नभएको बताए ।

निरंकुश सामन्तहरूलाई हटाएर साहुहरूले देश चलाइरहेको बताएका उनले शासकहरूले सर्वहारा वर्गलाई बिर्सिएको गुनासो गरे ।

‘हामी सँगै हिँडेको थियौं । उहाँहरू हामी पढेलेखेका छौं, हामी सत्ता चलाउन सक्छौं भन्दै सामन्तवादविरुद्ध हिँड्नुभएको मात्रै हो । उहाँहरूले अलिकति २००७ सालमा, अलिअलि २०४७ सालमा लिनुभयो । यसपाला पूरै लिनुभयो । उहाँहरूले खाने भनेर लड्नुभएको हो, त्यसैले उहाँहरूले खाएकोमा अप्ठ्यारो नमान्नुस् । अहिले सर्वहारालाई हामीले भन्ने के हो भने, ती सामन्तले खानुभन्दा यीनै टाठाबाठाले खाऊन् । उहाँहरूलाई हामीले अब तिमी काम गर, खाऊ, फेरि अप्ठ्यारो पर्‍यो अनि विदेशीले दुःख दियो भने हामी छँदैछौं भन्दै आफ्नो काममा लागेका हौं । तर सर्वहाराकाको लडाईं जारी छ ।’

स्वनामको परिभाषामा गणतन्त्र (उनकै शब्दमा)

भाषिक शब्दमा गणतन्त्रको अर्थ- गण भनेको मानिसको समूह वा समुदाय र तन्त्र भनेको शासन हो । कोसँग कति गण (भोट) छ भन्ने कुरा न हो । त्यसैले गणतन्त्र भनेको प्रत्येकको शासन हो, यहाँ कोहीलाई ढोग्नुपर्ने जरुरत छैन । जोसँग धेरै गण छ, उसैले नेतृत्व गर्छ । १८ सय वर्षे निरंकुश शासन फालेको दिन हो गणतन्त्र दिवस ।

सबै कुरालाई चारवटा नजरबाट हेर्नुपर्छ- राम्रो, नराम्रो, अलिकति राम्रो-अलिकति नराम्रो र बेवास्ता ।

नेपालमा भइरहेको गणतान्त्रिक अभ्यासमा पनि यी चार कुरा लागू हुन्छन् । यही कुराअनुसार हाम्रो गणतन्त्रका पनि चार पक्ष छन् । पूँजीपतिहरूका लागि राम्रो छ । हिजो सपना देख्दाका सहयात्रीहरू, जोसँग पैसा छैन उनीहरूका लागि नराम्रो छ । यस्तै अलिअलि परिर्तन त भयो नि ! यसका केही राम्रा पक्ष छन्, केही नराम्रा भन्नेहरूका लागि राम्रो पनि नराम्रो पनि । जसलाई गणतन्त्रको केही प्रभाव नै परेको छैन, उनीहरूका लागि के मतलब भो र यसको ?

मेरो नजरमा त यो ठीक छैन, अहिले पूँजीपतिहरूले सत्ता चलाइरहेका छन् । उनीहरूले पनि सर्वहाराको दैनिकी सहज बनाउने भन्ने सपना छरेका थिए नि ! तर उनीहरू अहिले पूँजीपति भएका छन्, उनीहरूका लागि त राम्रो हो । 

अहिले कम्तिमा पैसा भए त सत्तामा पुग्न पाइन्छ । जस्तै एउटा महिला विद्यादेवी भण्डारी राष्ट्रपति बन्नुभयो ।

समान अवसर नभए पनि साम, दाम, दण्ड, भेद प्रयोग गरेर भए पनि जान सक्ने अवस्था त छ कम्तिमा, यसलाई केही हदसम्म सकारात्मक रूपमा लिन सकिन्छ ।

जहाँसम्म संसदीय व्यवस्थाको कुरा छ, यसमा संसारभरी कूल बजेट (स्रोत साधन)मध्ये ५० प्रतिशत ठूला साहुहरूले खान्छन् वा पूँजीपतिहरूले पाउँछन् । २५ प्रतिशत साना साहुहरूले खान्छन् । धर्मगुरु, कर्मचारीका नेता, राजनीतिक दलका नेता लगायतले १५ प्रतिशत खान्छन् । बाँकीमध्ये आम जनताले पाउने ७ प्रतिशत मात्र हो, यो कुरा संसारभरी नै लागू हुन्छ ।

अहिले संसारमा २ लाख ५० हजार अर्ब बिलियन डलर सम्पत्ति जम्मा भएको छ, त्यो सम्पत्तिमध्ये ५० प्रतिशत विश्वभरका पाँचजना साहुको नाममा छ । बाँकी आधाको नाममा छ । त्यसैले यो व्यवस्था नै ठीक छैन ।

कम्युनिष्ट आन्दोलनको शुरुवात

हामीभन्दा अगाडि धेरैले धेरै गरिसकेका थिए । हामीले थोरै सहयोग गर्ने अठोट लिएका थियौं ।

हाम्रो न्युनतम आवश्यकता पूरा हुने समाज बनाउने अभियानमा थियौं । त्यो अभियानले केही परिवर्तन ल्याएको छ । यो सत्य स्वीकार्नुपर्छ ।

उतिबेला प्रगतिशील र प्रजातान्त्रिक गरी दुईवटा विद्यार्थी संगठन थिए । हामी तथाकथित प्रजातन्त्र भनेर व्याख्या गर्थ्यौं । किनभने, प्रजातन्त्र भनेको पूँजीवादीको राज्य व्यवस्था हो । हामीले पूँजीवादबाट बाहिर निस्किन्छौं भन्ने सपना देखेका थियौं ।

त्यसपछि कम्युनिष्ट आन्दोलनमा नयाँ मोड आयो । कमरेड पुष्पलाल (पुष्पलाल श्रेष्ठ)हरूले पहिले राजा फालौं, त्यसपछि सबै मिल्छ भन्ने चिन्तन ल्याउनुभयो  ।

आधी साम्यवाद (बैदिक काल) थियो, दासयुग आयो, सामन्ती युग आयो, अब पूँजीवाद आउँछ अनि साम्यवाद ल्यउँला भनेर उहाँहरूले भन्नुभयो । तर हामी अहिले पूँजीवादी व्यवस्थामै छौं । हामीले चाहेको व्यवस्था ल्याउन सकेका छैनौं । सम्पत्तिलाई निजी हुनबाट रोक्ने कुरा भए मात्रै सर्वहाराको दिन आएको मान्न सकिन्छ ।

आजसम्म नेकपा माओवादी, नेकपा एमाले र नेपाली कांग्रेस सबै धन्यवादका पात्र हुन् । किनभने आजको दिनसम्म उनीहरुले नै ल्याइपुर्‍याएका हुन् ।

उनीहरूलाई अगाडि किन हिँडेनौ भनेर किन भन्नुपर्‍यो ? रातो टोपी लाथ्यौ, बहुदलीय जनवाद भनेर भन्थ्यौ भनेर किन सम्झाउनुपर्‍यो ? उनीहरूले भनिरहेकै छन् त बिस्तारै समाजवादतिर जाने हो भनेर ।

उनीहरूले जे भने पनि हामीले सर्वहाराको लडाईं लडिरहनुपर्छ, लडिरहेका छौं । किनभने, हामी नाच्नुछ । रमाइलो गर्नुछ । दोहोरी गाउनुछ । त्यसकारण सर्वहाराको लडाईं जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्