प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्यन अहिले चासो र चर्चाको विषय बनेको छ ।
प्रधानमन्त्री ओलीको छ दिने चीन भ्रमणका क्रममा समग्रमा १४ महत्त्वपूर्ण सम्झौता भए । सरकारी तहमा भएका ५ वटा सम्झौतामध्ये रेल्वे कनेक्टिभिटीको विषय निकै चर्चामा छ । तर रेल्वे सेवा कसरी अगाडि बढाउने भन्नेबारे प्रधानमन्त्री ओलीको नै स्पष्ट धारणा छैन ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्किने क्रममा विमानस्थलमा रेलमार्ग निर्माण विश्वकै जटिल प्रविधि भएकाले हतारमा भन्दा पनि परिपक्व ढंगले काम गर्न चाहेको बताउँदै तत्काल सम्भव नभएको संकेत गरेका थिए ।
पूर्वसम्भाव्यता अध्ययन गरेपछि मात्रै लगानी लगायतका बाँकी कुरा अगाडि बढ्ने बताउँदै ओलीले तत्काल रेल आउन नसक्नेतर्फ संकेत गरे ।
यसअघि प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको बेइजिङ भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाअन्तर्गत महत्त्वाकांक्षी परियोजना ‘वान बेल्ट वान रोड’मार्फत् क्रसहिमालय कनेक्टभिटी नेटवर्कबारे सहमति भएको थियो ।
पश्चिमी भागबाट मध्यएसिया हुँदै युरोप, मध्यपूर्व, दक्षिण एसियासम्मै रेलमार्ग जोड्ने परिकल्पना गर्दै चीन सरकारको महत्त्वाकांक्षी योजना वान बेल्ट वान रोड ओबीओआरमा नेपाल र चीनबीच सम्झौता पनि भइसकेको छ । सहमति हुने तर कार्यान्वयन नहुने यथार्थकाबीच अहिलेको चीनसँगका सम्झौता कसरी अगाडि बढ्लान् ?
लोकान्तरकर्मी मनीषा अवस्थीले राजनीतिक अर्थशास्त्री कल्याण रोकासँग कुराकानी गरेकी छन् । कुराकानीका क्रममा रोकाले चीनसँगको रेल कनेक्टिभिटीलाई सदुपयोग गर्न सके समृद्धिको गति तीव्र हुने बताए ।
हेरौं भिडियो अन्तर्वार्ता :