
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले कार्यभार सम्हालेको पहिलो दिनमै मन्त्रालयको जग बसाल्ने गरी केही महत्त्वपूर्ण र रणनीतिक निर्णयहरू गरेका छन् । कार्यभार सम्हापछि सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्ना निर्णय र भावी योजनाहरू सार्वजनिक गर्दै उनले मन्त्रालयमा सबै कुरा शून्यबाट शुरू गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका छन् ।
मन्त्रालय चलाउन अन्य स्थापित मन्त्रालयहरूजस्तो संरचना र प्रशासनिक प्रबन्ध पहिल्यैदेखि तयारी अवस्थामा नरहेको उनले उल्लेख गरेका छन् ।
मन्त्रालयको कामकारबाहीलाई कानुनी दायरा र स्पष्ट मार्गनिर्देशन दिन सर्वप्रथम 'विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन' ल्याउने निर्णय गरिएको उनले जानकारी दिए ।
००००
नेपाल प्रहरीका ५०९ जना प्रहरी इन्सपेक्टरको एकैपटक सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षकको जेठ २७ गतेको निर्णयअनुसार तलब भत्तासमेत असार महिनादेखि हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
००००
पूर्व फुटबलर विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्ष नियुक्त भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषदको निर्णय अनुसार बुधबार श्रेष्ठलाई राखेपको उपाध्यक्ष नियुक्त गरेका हुन् ।
००००
लामो पर्खाइ र वर्षौँको तयारीपछि अन्ततः फुटबल प्रशंसकहरूका लागि प्रतीक्षित क्षण आइपुगेको छ । नेपाली समयानुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदै छ ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठुलो र विशाल 'सुपरसाइज्ड' विश्वकप हो । यस पटकको प्रतियोगितामा टोलीहरूको सङ्ख्या बढाएर ४८ पुर्याइएको छ । यी टोलीहरूले १६ वटा अत्याधुनिक रङ्गशालाहरूमा कूल १०४ वटा खेलहरू खेल्नेछन् ।
००००
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकका लागि तोकिएको समय आजको दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक गर्न सकिनेछ।
महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अध्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अध्यावधिक गरिसक्न अपिल गरे ।
००००
स्वास्थ्य मन्त्रालयले 'लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३' जारी गरेको छ । जसमा देशभरका सबै अस्पतालहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क छुट्याउनुपर्ने व्यवस्था अनिवार्य गरिएको छ।
००००
बिमा दाबी गर्न र ग्राहकले धितो राखेको सुनचाँदी हिनामिना गर्ने उद्देश्यले आफ्नै पसलमा चोरीको नाटक गरेको आरोपमा बुटवलका एक सुनचाँदी व्यवसायी पक्राउ परेका छन्।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा जेठ १७ गते भएको भनिएको चोरी घटनाको अनुसन्धानका क्रममा पसल सञ्चालककै संलग्नता खुलेपछि प्रहरीले उनलाई सार्वजनिक गरेको हो।
००००
परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जानकारी दिँदै भ्रमण तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ।
वर्तमान सरकार गठनपछि मन्त्री खनालले हालै भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरेका थिए। भारत भ्रमणलगत्तै उनको चीन भ्रमणको तयारी थालिएको हो।
००००
प्रतिनिधिसभामा ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल आगामी बैठकमा पनि जारी रहने भएको छ । सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त जानकारी गराए । बैठक बिहीबार पनि बस्दैछ ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले अब प्रधानमन्त्री सदनमा उपस्थित हुने कुराको कुनै गुन्जायस नरहेको बताएका छन् ।
प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति निन्दनीय, आपत्तिजनक र लज्जास्पद रहेको बताउँदै उनले यही विषयलाई लिएर निरन्तर सदन अवरोध भए पनि प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले सदनलाई अटेर गरेको बताए ।
००००
नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन गर्नुपर्नेमा जोड दिए ।
००००
सभामुखले बोल्नका लागि समय नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूले आपत्ति जनाएका छन् ।
सभामुखले बुधबारको बैठकमा विपक्षी बेञ्चका सांसदहरूलाई बोल्न समय दिने क्रममा आफूहरूलाई छुटाइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । उक्त पार्टीको विरोधपछि सभामुखले बोल्न समय दिएका थिए ।
००००
के सरकारी जागिर भनेको बिदा मिलाएर विदेश जाने र उतै बेपत्ता हुने सजिलो लाइसेन्स हो?
सुन्दा पत्याउन गाह्रो होला, तर नेपालका ६ हजारभन्दा बढी निजामती कर्मचारीहरू बिदा लिएर गएपछि स्वदेश फर्किए वा फर्किएनन् त्यसको आधिकारिक अभिलेख नै छैन ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अबको एक सातापछि अध्ययन बिदा लिएर विदेशमा हराएका कर्मचारीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
००००
सांसद खुस्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि गृहमन्त्री सुधन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री गुरुङले खुस्बुलाई बैठकभित्रै भेटेर कारबाही प्रक्रिया अगाडि बढाइने बताएका हुन् ।
त्यसका लागि गुरुङले ओलीलाई प्रक्रियामा जान पनि आग्रह गरेका छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतको इतिहासमै सबैभन्दा लामो समय नेतृत्व सम्हाल्ने निर्वाचित प्रधानमन्त्री बनेकोमा नरेन्द्र मोदीलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत बुधबार लामिछानेले मोदीको उपलब्धिलाई ‘ऐतिहासिक कोशेढुंगा’को संज्ञा दिँदै शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री मोदीले जुन १० मा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको लगातार निर्वाचित प्रधानमन्त्रीको कीर्तिमान उछिन्दै नयाँ रेकर्ड कायम गरेका छन्।
००००
सरकारले निजामती सेवा ऐनमा ठूलो परिवर्तन गर्न लागेको छ । संसद् वा अध्यादेशमार्फत् यो नयाँ व्यवस्था लागू भएमा तत्कालै १० हजारभन्दा बढी कर्मचारीहरू प्रभावित हुनेछन्, जसमा ५ हजार ४ सय ८२ जना निजामती कर्मचारीले त तुरुन्तै सेवाबाट हात धुनुपर्ने देखिन्छ ।
मुख्य सचिवदेखि खरिदारसम्मका विभिन्न तहका कतिजना कर्मचारीहरू घर जानुपर्ने हुन्छ ?
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय उच्च स्रोतका अनुसार, प्रस्तावित नयाँ निजामती विधेयकमा कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५५ वर्ष वा ३० वर्षे सेवा अवधि लागू गर्ने प्रस्ताव गरिएको छ ।
यसको मतलब यदि कुनै कर्मचारीको उमेर ५५ वर्ष पुग्यो वा उसले सेवा गरेको ३० वर्ष पूरा भयो भने, दुईमध्ये जुन पहिले आउँछ, सोही आधारमा उसले अनिवार्य अवकाश पाउनेछ ।
यति मात्र होइन, पेन्सनको हकमा पनि नयाँ सीमा प्रस्ताव गरिएको छ, जसअनुसार अब ३० वर्षभन्दा बढी जागिर गरिसकेकाले पनि अधिकतम ३० वर्षको मात्र पेन्सन सुविधा पाउनेछन् । उदाहरणका लागि, यदि तपाईंले ३५ वर्ष सेवा गर्नुभएको छ भने पनि तपाईंले ३० वर्ष बराबरकै पेन्सन पाउनुहुनेछ, बाँकी ५ वर्षको कुनै हिसाब हुने छैन।