
काठमाडौं, १४ असार – फूटबल विश्वकपमा बिहीवार समूहचरणका अन्तिम चार खेल हुन गएरहेका छन् । यी खेलले पोल्यान्ड, पनामा र ट्युनिसयाका लागि कुनै महत्त्व राख्दैनन् किनकि उनीहरू समूह चरणबाट बाहिरिइसकेका छन् ।
तर जापान, सेनेगल र कोलम्बियाले चाहिँ आजको खेलमा राम्रो प्रदर्शन गर्नैपर्ने दबाब छ । त्यसो त जापानले पोल्यान्डसँग बराबरी खेले मात्र पनि प्रिक्वार्टरफाइनलमा ठाउँ बनाउनेछ । एसियाका अन्य सबै टीमहरू समूह चरणबाटै बाहिरिएपछि जापानले मात्र इज्जत थाम्ने लक्षण देखाएको छ ।
त्यसो त पोल्यान्डमाथि जापानको राम्रो इतिहास छ । यी दुई टोलीबीच भएका दुई प्रतिस्पर्धामा जापानले नै विजय हासिल गरेको छ ।
पोल्यान्ड विश्वकपमा तेस्रोपटक समूह चरणबाटै बाहिरिएको हो । यसअघि सन् २००२ र २००६ मा पनि ऊ छिट्टै घर फर्किएको थियो ।
जापान चाहिँ समूहमा पहिलो स्थानमा छ । जापान र सेनेगलको अंक तथा गोल अन्तर बराबर छ तर पहेंलो कार्ड जापानले कम पाएको छ । पोल्यान्ड चाहिँ समूहको अन्मित स्थानमा छ ।
उता सेनेगल र कोलम्बियाका टोलीहरू यसअघि जम्मा एकचोटि भेट भएका छन् । सन् २०१४ मा भएको उक्त प्रतिस्पर्धा २–२ गोलको बराबरीमा टुंगिएको थियो । कोलम्बियाले अघिल्लो विश्वकपमा क्वार्टरफाइनलमा ठाउँ बनाएको थियो
। सेनेगल चाहिँ सन् २००२ को विश्वकपपछि पहिलोपटक विश्वकप खेलिरहेको हो अनि त्यतिखेर ऊ क्वार्टरफाइनलसम्म पुगेको थियो ।
पनामा र ट्युनिसियाले अहिलेसम्म एउटा पनि म्याच खेलेका छैनन् । ट्युनिसियाले विश्वकपमा लगातार १३ म्याचमा जीत हासिल गरेको छैन र चारमा हार बेहोरेको छ । पनामा भने विश्वकपमा पहिलोपटक छनोट भएको हो ।
बेल्जियम र इंग्ल्यान्डमा इतिहास इंग्ल्यान्डको पक्षमा छ । त्यसो त दुवै टोली अन्तिम १६ मा पुगिसकेका छन् । दुवैको समान ६–६ अंक छ तर पहेंलो कार्ड इंग्ल्यान्डले कम खाएको छ ।
यी दुवै टोली २१ चोटि भिडिसकेका छन् । त्यसमा बेल्जियमले जम्मा एक जीत हासिल गरेको छ भने इंग्ल्यान्डले १५ खेल जितेको छ । सन् १९३६ पछि अहिलेसम्म इंग्ल्यान्डलाई बेल्जियमले हराउन सकेको छैन ।
एजेन्सी