
काठमाडौं, २० असार – अर्जेन्टिना फूटबल एसोसिएसन (एएफए)ले प्रशिक्षक जोर्गे साम्पाओलीका ठाउँमा म्यानचेस्टर सिटी फूटबल क्लबका व्यवस्थापक पेप ग्वार्डियोलालाई अनुबन्धन गर्न प्रस्ताव राखेको खबर सार्वजनिक भएको छ । सन् २०२२ सम्मका लागि ग्वार्डियोलालाई वर्षको १ करोड २० लाख डलर पारिश्रमिक दिने गरी 'बम्पर अफर' गरिएको खुलासा भएको हो ।
जबकि रुस विश्वकपमा सहभागी राष्ट्रहरूमध्ये सबैभन्दा बढी तलब पाउने जर्मन प्रशिक्षक जोआचिम लोको तलब वार्षिक ३३ लाख डलरको हाराहारीमा मात्र छ । ग्वार्डियोलालाई अफर गरिएको भनिएको रकम यसको झण्डै चार गुणा बढी हो ।
अर्जेन्टाइन टीम सम्हाल्न तयार भएको अवस्थामा उनले पाउने तलबको आधी रकम एएफएले तिर्नेछ भने आधाचाहिँ टोर्नियोसले भुक्तानी गर्नेछ । टोर्नियोससँग सन् २०३० सम्मका लागि अर्जेन्टिनी राष्ट्रिय टोलीको टीभी अधिकार छ ।
ग्वार्डियोलाले सर्जिओ अग्वेरोसँग फोनमा कुरा गरेर अर्जेन्टिनाको प्रशिक्षण गर्न आफूलाई मन लागेको तर राष्ट्रिय टोलीलाई अर्जेन्टिनीले नै प्रशिक्षण दिएको ठीक हुने बताएको जनाइएको छ ।
तर म्यानचेस्टर सिटीसँग हालै सम्झौता रिन्यू गरेर २०२१ सम्म लम्ब्याएका ग्वार्डियोलाले यो अफर मान्दै अर्जेन्टिना जाने सम्भावना न्यून छ । उनलाई क्लब छोड्न कुनै हतारो पनि छैन ।
ग्वार्डियोलाले लियोनेल मेस्सीसँग पनि राम्रो सम्बन्ध छ । उनीहरू कुनै बेला बार्सिलोनामा सँगै थिए । ग्वार्डियोलाले मेस्सीलाई राष्ट्रिय टोलीमा टिकाइराख्न सक्छन् ।
ग्वार्डियोलाले एत्तिहाद स्टेडियम छोड्ने सम्भावना त्यति देखिँदैन । तैपनि उनले कुनै राष्ट्रिय टोलीको प्रशिक्षण गर्ने इच्छा देखाएका भने छन् र अर्जेन्टिना एक विकल्प हुन सक्छ ।
ग्वार्डियोला पछिल्लो दशकका उत्कृष्ट प्रशिक्षक हुन् । उनको नेतृत्वको क्लब म्यानचेस्टर सिटीले अघिल्लो सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।
त्यसअघि उनले बार्यन म्युनिखको नेतृत्व गर्दै बुन्डेसलिगा तथा बार्सिलोनाको नेतृत्व गर्दै लालागि, च्याम्पियन्स लिगलगायत प्रतिष्ठित उपाधि जिताइसकेका छन् ।
यो पनि पढ्नुहोस् :
मेस्सीलाई अर्जेन्टिनी जर्सीमा उपाधिको भोक, चार वर्ष खेले थप ४ मौका !
अर्जेन्टिनी टीममा आमूल परिवर्तनको खाँचो : यसरी फर्किनसक्छ शक्ति !