
काठमाडौं – जैमिनी ऋषिका सन्तान अर्थात् जैमिनी गोत्र भइ विश्वभरि बसोबास गर्दै आएका विभिन्न जातजाति तथा थरका व्यक्तिलाई एकै पारिवारिक सुत्रमा जोड्ने उद्देश्यले विश्व जैमिनी समाजको गठन गरिएको छ ।
विश्व जैमिनी समाजको नेतृत्वको लागि टिकाराम आर्य घोडासैनीको अध्यक्षतामा ३३ सदस्यीय समिति चयन गरिएको छ । पारिवारिक गोत्रको पहिचान र भावी पुस्ताबीच गोत्रको प्रचारप्रसार समितिमार्फत् जैमिनी सन्तानको पहिचान, संरक्षण, सम्बद्र्धन र सही सम्बन्ध स्थापित गर्न समितिको स्थापना भएको अध्यक्ष घोडासैनीले बताए ।
जैमिनी गोत्रका सन्तानहरू नेपाल, भारत, भुटानमा धेरै परिवार रहेको र अन्य देशमा पनि छरिएर रहेको जनाइएको छ । नेपालका करीब ५२ जिल्लामा रहेका जैमिनीका सन्तान २–३ पुस्तामा मात्रै पनि धेरै ठाउँमा फैलिएको इतिहास छ । भारतमा पनि जैमिनी ऋषिको नामको विभिन्न ठाउँ तथा स्कूलको नामाकरण गरिएको पाइन्छ ।
ऋषि परम्पराको अग्रपंक्तिमा रहेका महर्षि जैमिनीको जन्मस्थान र तपस्थली रहेको जैमिनीघाट कालीगण्डकीको पश्चिम किनार काली र ठेउले खोलाको दोभान म्याग्दी जिल्लामा पर्छ । जसलाई ज्यामिरघाट पनि भनिन्छ ।
जैमिनी ऋषिको उद्गम र तपोभूमि ज्यामिरघाट भएपनि पछि भारतको कन्यौजगढमा गएको अनुमान गरिएको छ । त्यसपछि जैमिनीका सन्तान महादेव र नलभोग जोशी भारतमा भएको राजनीतिक तथा धार्मिक प्रभावका कारण इसाईले सनातन धर्मका मानिसलाई धर्मान्तरण गर्न दबाब दिन थालेपछि सनातन धर्म जोगाउन नेपालको अछाम जिल्लास्थित घोडासैनमा बसेको बताइन्छ ।
घोडासैन गाविसको नामाकरण पनि महादेव जोशीको परिवारबाट रहेको किम्बदन्ती छ । एउटा किम्बदनी अनुसार धार्मिक निष्ठाको परीक्षण गर्न १ जना राजाले आफ्नो घोडा आगनमा सुकाएको बिस्कुनमा छोडिदिए । घोडाले बिस्कुन खाँदा समेत महादेव जोशीको ब्राह्मणी घरबाहिर निस्किनन् । सहेर बसिरहिन । त्यो देखेर राजाले तिनका सन्तानलाई घोडालाई सहने घोडासैनी भन्न थालेको र पछि गएर यिनका सन्तान विभिन्न जिल्लामा फैलिएको उल्लेख छ ।
नेपालका विभिन्न जिल्लाका घोडासैनी शब्दको भाषिक, उच्चारणको कारण अपभ्रंश भएर धेरै जैमिनी सन्तान घोडासैनी, घोरसाई, घोरासैनी, घोसार्ने, शर्मा, जैसी, जोशी, उपाध्याय लेखेको पाइएको छ ।