२४ असार २०८३, बुधबार

पश्चिम नेपालको थारु बस्तीमा अट्वारीको रौनक, प्रदेश सरकारले दियो बिदा

भदौ ३१, २०७५
पश्चिम नेपालको थारु बस्तीमा अट्वारीको रौनक, प्रदेश सरकारले दियो बिदा

धनगढी– पश्चिम नेपालको थारु समुदायमा आजदेखि अट्वारी पर्व शुरु भएको छ ।

कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतवार र सोमवार अट्वारी पर्व मनाइने प्रचलन रहँदै आएको हो । अट्वारी आज र भोलि (भदौ ३१ र असोज १ गते) परेको छ । यसैबीच प्रदेश नं. ७ सरकारले अट्वारी पर्वको अवसरमा आज (अाइतवार)  १ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि यस क्षेत्र थप उत्साह बढेको छ ।

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको याे पर्व थारु समुदायमा निकै मौलिक ढंगले मनाइन्छ । प्रायः आइतबार नै मनाइने हुँदा पर्वको नाम पनि ‘अट्वारी’ नामाकरण हुन गएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् । असत्य माथि सत्यको जीत र नारी सम्मानको प्रतीक नै अट्वारी पर्वको विशेषता रहेको समेत थारुको भनाइ छ ।

अन्डी धानको खोजी

पर्वमा अन्डी धानको चामलबाट रोटी, खुर्मा, फुलौरी, बरियालगायत परिकार अनिवार्य बनाइने र सगुनकै रुपमा प्रयोग गर्ने प्रचलन थारु समुदायमा रहिआएको छ । अण्डी धान नभएको घरमा पर्व नै खल्लो हुने या पर्व नै अपुरो हुने थारु बुद्धिजीवीहरु बताउँछन् । जुनकारण कोहि पर्व शुरु हुनु पहिलै आफ्ना इष्टमित्र, साथीभाईसंग सगुनकै लागि भएपनि खरिद गरेर त कोहि अन्य धानको चामलसंग अन्डी धानको चामल साटेर भएपनि पर्व मनाएको पाइन्छ ।

कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीकी स्थानीय चुल्हिया देवी थरुनीले घरमा अन्डी धान नहुँदा पर्वको तयारीमे केही असहजता आएको बताइन् । तर पर्वको तयारीमा जुटेको उनको भनाइ छ । 

अन्डी धान एक किसिमको रैथाने प्रजातिको धान हो । जसको बोट अन्य धानको तुलनामा अग्लो र मोटो हुन्छ । भने दाना हल्का रातो र मोटो हुन्छ । सुगन्धित र स्वादिष्ट भात हुने हुँदा तरकारीको आवश्यकता खासै नपर्ने बताइन्छ । अन्य धानको भात भन्दा वढी टाँसिने, नियमित छाकको लागि प्रयोग नहुने हुँदा यसको खेती तुलनात्मक रुपमा कम गरिन्छ । 

अट्वारीकै लागि भएपनि अन्डी धान रोप्ने गरिए पनि अचेल विभिन्न उन्नत तथा हाईब्रिड जातका धान रोप्ने प्रबृतिले अन्डी धान लोप हुँदै गएको छ । थारू समुदायमा अतिआवश्यक पर्ने अन्डी धान नभइ नहुने भएकोले संरक्षणको आवश्कता महसुस भएको संयोजक चौधरीले बताए ।

अट्वारीको ऐतिहासिकता

अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाई भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ । 

कुनैबेला भेंवा (भीम) घुम्दै जाँदा तराईं (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किंवदन्ती रहेको छ । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मचाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रहि आएको हो ।

अर्को किंवदन्ती अनुसार एक समयमा द्रोपतिसहित पाँच पाण्डवहरु सुर्खेतको कांक्रेबिहार घुम्न पुगेका थिए । थारू राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले तावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरीका मानिसहरु तावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे, तर सकेनन् । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात फर्केपछि मात्रै तावाको रोटी झिकेको किंवदन्ती छ । उक्त सहयोग गरेको दिन आइतवार परेकोले पनि अट्वारी पर्व आइतवार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरु बताउँछन् ।

मनाउने विधि र अग्रसनको महत्व

समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा) मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतवार हुन आउँछ । जुनअनुसार चालु वर्ष भदौ ३१ गते (आइतबार) र असोज १ गते (सोमबार) अट्वारी पर्व परेको हो । आइतबार भन्दा अघिल्लो राती (शनिबार) दर खाने र आइतबार आधा दिनसम्म ब्रत बस्ने गरिन्छ ।

ब्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नु पर्ने हुन्छ । त्यसपछि, सोमबार विहान्नै पूजापाठ अर्थात ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा विभाजन गरिन्छ । छुट्याएको भाग चेलीबेटीहरुलाई अग्रासन (कोसेली) स्वरुप दिनको लागि राखिन्छ भने एक भाग ब्रतालुहरुले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । भोजन ग्रहण पश्चात अग्रासन दिन जाने प्रचलन रहेको छ ।

उता विवाहित चेलीबेटीहरु माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरु माइती घरबाट दाजुभाईले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाई दिदीबहिनीलाई विवाहित चेलीहरु मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ । जसले गर्दा थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतिकको रुपमा लिने गरिएकाे थारु नागरिक समाजका संयोजक चौधरीको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्