२६ असार २०८३, शुक्रबार

यात्रुलाई दुःख दिने र नियम उल्लंघन गर्ने सवारी तथा व्यवसायीमाथि कारबाहीको चेतावनी

असार २४, २०८३
काठमाडौं
यात्रुलाई दुःख दिने र नियम उल्लंघन गर्ने सवारी तथा व्यवसायीमाथि कारबाहीको चेतावनी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवामा हुने यात्रुमैत्रीविहीन गतिविधि तत्काल सुधार गर्न सम्बन्धित व्यवसायी तथा श्रमिकलाई चेतावनी दिएको छ ।

महासंघले बुधबार ‘अत्यन्त जरुरी’ सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशभर सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुलाई गन्तव्यसम्म नपुर्‍याउने, बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, बसपार्कबाहिर जथाभावी यात्रु चढाउने–ओराल्ने गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसैगरी, सिट सफा नराख्ने, गुणस्तरीय खानाको व्यवस्था नगर्ने, राजमार्गमा जथाभावी खाना खुवाउने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने तथा सवारीसँग सम्बन्धित कागजात दुरुस्त नराख्ने जस्ता गतिविधि भइरहेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यस्ता गतिविधिका कारण सार्वजनिक यातायात क्षेत्रलाई आमनागरिकले अव्यवस्थित र अमर्यादित पेसाका रूपमा लिन थालेको उल्लेख गर्दै महासंघले अर्बौं रूपैयाँ लगानी भएको र राज्यलाई ठूलो राजस्व बुझाउँदै आएको यातायात व्यवसायको प्रतिष्ठामा समेत नकारात्मक असर परेको जनाएको छ ।

महासंघले यस्ता कार्य तत्काल सुधार गरी आधुनिक, प्रविधिमैत्री र यात्रुमैत्री सेवा सञ्चालन गर्न सम्बन्धित व्यवसायी तथा निकायलाई आग्रह गरेको छ ।

यस्ता गतिविधि गरेको पाइएमा सम्बन्धित सवारीसाधन, व्यवसायी तथा मजदुरमाथि सम्बन्धित निकायबाट कानूनबमोजिम कारबाही हुने समेत महासंघले चेतावनी दिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्