२९ जेठ २०८३, शुक्रबार

दशैंको मासु बजारः खसी भन्दा च्यांग्राको माग, कुखुराभन्दा हाँस बढी

असोज १०, २०७५
दशैंको मासु बजारः खसी भन्दा च्यांग्राको माग, कुखुराभन्दा हाँस बढी

काठमाडौं-हिन्दू नेपालीहरुको ठूलो पर्व दशैं नजिकिँदै गर्दा सरकारले २ हजार खसीबोका, भेडा च्यांग्रा राजधानी भित्र्याउने गरेको छ । दशैमा माखुको खपत धेरै हुने गरेको छ भने शक्तिपीठहरुमा पशुबलीका लागि बोका, च्यांग्राको प्रयोग हुने गरेको छ । 

नेपाल खाद्य संस्थानले दशैंको मासु बजारलाई नियन्त्रणमा राख्न प्रत्येक वर्ष बजारमा खसीबोका ल्याउने गरेको छ । संस्थानका प्रवक्ता शंकरप्रसाद सापकोटाले दशैंमा मासु धेरै खपत हुने हुँदा बजारको मूल्य कायम गरेर नियन्त्रण गर्नका लागि संस्थानले खसीबोका ल्याउने गरेको बताए । 

उनले भने, ‘हामीले प्रत्येक वर्ष दशैंमा मासुका लागि खसी, बोका, च्यांग्रा ल्याउने गर्छौं । यो बजारको माग धान्नका लागि होइन । मूल्य नियन्त्रण गर्नका लागि मात्रै हो । यो वर्ष हामीले १ हजार खसी,बोका र १ हजार भेडा च्यांग्रा ल्याउने तयारी गरेका छौं ।’

तर पछिल्लो समय रातो मासुभन्दा स्वस्थ्यका लागि सेतो मासु राम्रो भन्ने बारे चिकित्सकहरुले सचेत गराउन थालेपछि चौपायासँगै पंक्षिजन्य मासु र माछाको व्यापार पनि बढ्न थालेको व्यवसायीहरु बताउँछन् ।  

खसीको बजार 

नेपालमा अन्यको मासुको तुलनामा खसी बोकाको मासु बढी उपभोग गरिन्छ । त्यसमा पनि दशैंमा त खसीको मासु नै धेरैको रोजाईमा पर्ने गर्छ । खुसीको मासुको अहिलेको बजार मूल्य प्रति केजी ९ सयदेखि हजार रुपैयाँसम्म पर्ने गर्दछ, भने दसैंको समयमा बढी खपत हुने हुँदा केही महंगो समेत हुने गरेको छ ।  काठमाडौं उपत्यकामा बस्ने बाहिरी जिल्ला घर भएका करिब ६० प्रतिशत मानिसमध्ये अधिकांश  दशैंका लागि घर फर्किने भएकाले उपत्यकाबाहिर पनि दशैंमा मासुजन्य पदार्थको खपत अत्यधिक हुने गरेको खाद्य संस्थानले जनाएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले दशैंमा अन्य मासुभन्दा खसीबोका नै बढी बिक्री हुने गरेको बताए । 

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दशैंमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनले भने, ‘तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुन्छन्, तर विस्तारै नेपाली भेडा च्यांग्राले पनि बजार पाउँदैछ ।’ दशैंमा राजधानी उपत्यकामा खसी बोका भन्दा च्यांग्रा बढी बिक्री हुने गरेका थापा बताउँछन् । ‘नेपाली बजारको भनेपछि व्यवसायीहरुले पनि च्यांग्राको बक्रीमा जोड दिन थालेपछि बिक्री बढेको हो ।’ 

राँगा/भैंसीको मासु

दशैंमा राँगा भैंसीको मासु पनि धेरैको रोजाइमा पर्ने गर्छ । रातो मासुकै रुपले चिनिने यो मासु विगतमा केही समुदायले मात्रै खाने भएपनि अहिले भने अन्य समुदायले पनि यसको मासु उपभोग गर्ने गर्छन् । 

बँदेल र बंगुरको मासु

अन्य मासुसंगै आजभोलि दशैंमा बंदेलको मासु पनि प्रचलनमा रहेको छ । यसैगरी कैलो सेतो, रेसाविहीन र प्रशस्त बोसो भएको बंगुरको मासु पनि खाने गरिन्छ । अहिले बंगुर पालना व्यवसाय फस्टाएसँगै यसको मासु उपभोगको संख्यामा पनि वृद्धि भएको छ । त्यसमा पनि सेतो रङको मासु हुने भएकोले स्वास्थ्यका लागि त्यत्ति हानीकारक नुहने हुँदा उपभोक्ताको रोजाईमा पर्ने गरेको छ । 

पंक्षीमा हाँसको माग बढ्दो

दशैंमा पंक्षिहरुको मासु खानेहरुमध्ये पछिल्ला वर्षमा कुखुराभन्दा हाँसको बिक्री बढेको व्यवसायीहरुले बताएका छन् । राजधानी उपत्यकामा ठूलो बजार रहेको कुखुराको बजार दशैंमा धेरै नेपालीले काठमाडौं छोड्ने र काठमाडौंबासीले खसी नै बढी खाने भएकाले  खासै व्यापार नबढ्ने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेल्बासेले बताए ।

उनका अनुसार दशैंमा हाँसको माग बढ्ने गर्छ । काठमाडौं उपत्यकामा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँस खोज्ने हुँदा व्यवापार बढी हुने गरेको छ ।  यसैगरी होटर रेष्टुरेन्टमा समेत हाँसका परिकार बढ्न थालेकाले बढी बिक्री हुने गर्छ । उनले लोकल कुखुराको उत्पादन घटेकाले माग भए पनि आपुर्ति गर्न नसकिएकोले बोइलर कुखुराले बजार ओगटेको बताए । उनकाअनुसार हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक साढे दुईदेखि ३ लाख किलो प्रतिदिन कुखुराको मासु खपत हुने गर्छ भने देशभरी ५ लाख किलो प्रतिदिन मासु खपत हुन्छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्