०८ असार २०८३, सोमबार

अधिवेशन अन्त्यसँगै सेलायो महाअभियोगको प्रसंग, घरबिदामा बसेर आँखा र दाँतको उपचार गर्दै जोशी

असोज १२, २०७५
अधिवेशन अन्त्यसँगै सेलायो महाअभियोगको प्रसंग, घरबिदामा बसेर आँखा र दाँतको उपचार गर्दै जोशी

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन भन्दै गएको असोज ४ गते सत्तारुढ नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरियो । 

प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई राजीनामाका लागि बाध्य तुल्याउन नेकपाका सांसदहरूले हस्ताक्षर संकलन शुरू गरेको सन्देश जोशीलाई पठाए । तर जोशीले राजीनामा नगर्ने बताए । 

महाअभियोग प्रस्तावका लागि आवश्यक एक चौथाइभन्दा बढी सांसदको हस्ताक्षर संकलन भएपनि आजसम्म महाअभियोग प्रस्ताव दर्ता गरिएको छैन । यसअघि संसदमा दर्ता भएका महाअभियोग प्रस्ताव गुपचुपमा हस्ताक्षर गरेर गरिएको थियो । 

जोशीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनका लागि हस्ताक्षर संकलन गर्ने समयमा हल्ला गरियो । महाअभियोगका लागि हस्ताक्षर संकलन भएको कुरा समाचारमा आएपछि असोज ७ गतेको राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले प्रश्न उठाए । उनले महाअभियोग लगाएर कांग्रेसले जस्तो गल्ती नगर्न पनि नेकपालाई सुझाव दिए । 

किन पछि हट्यो नेकपा ?

न्यायाधीश जोशीविरुद्ध खाली कागजमा गरिएका हस्ताक्षर उनलाई राजीनामा गर्नका लागि बाध्य पार्ने कोसिस रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बुझाइ छ । 

सर्वोच्च अदालतलाई पार्टीको कार्यालय बनाउन लागिएको भन्दै प्रतिपक्षी दलले विरोध गरेपछि सो प्रस्ताव अहिले सेलाएको छ । नेपाली कांग्रेस मात्र होइन राजपाले समेत महाअभियोग प्रस्तावको विरोध गर्‍यो । राष्ट्रिय सभाको बैठकका राजपाका वृषेशचन्द्र लालले संसदीय सर्वोच्चचा स्वीकार गरिसकेका जोशीलाई किन महाअभियोग लगाउनुपर्‍यो भन्दै प्रतिप्रश्न गरे । 

बिहीवार संसदको वर्षे अधिवेशन अन्त्य भएसँगै महाअभियोगको प्रसंग सेलाएको छ । अब महाअभियोग प्रस्ताव दर्ता गरेर जोशीलाई निलम्बन गर्न सकिएपनि संसदीय प्रक्रिया अघि बढ्न भने संसदको हिउँदे अधिवेशन कुर्नुपर्छ । हिउँदे अधिवेशन मंसिर दोस्रो सातामात्रै शुरू हुनेछ ।

आँखा र दाँतको उपचार गर्न घर बसेको छु : जोशी

महाअभियोगको हल्ला चलेपछि न्यायाधीश जोशी घर बिदामा बसे । यसअघि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि महिनादिन लामो बिदा बसेका जोशी सर्वोच्चमा ओमप्रकाश मिश्र नयाँ प्रधानन्यायाधीश बनेर आएपछि हाजिर भएका थिए । 

जोशी अदालतमा हाजिर भएर इजलास समेत पाएपछि नेकपाका केही सांसदहरूले महाअभियोगका लागि हस्ताक्षर संकलन गरेका थिए । बाहिरचाहिँ जोशीले राजीनामा दिन्छन्, भन्ने हल्ला चल्यो । 

तर उपचारका लागि घर बिदामा बसेका जोशीले मंगलवारदेखि फेरि अदालतमा हाजिर हुने बताएका छन् ।

‘आँखा र दाँतमा समस्या देखिएपछि इलाजको लागि बसेको हुँ,’ न्यायाधीश जोशीले शुक्रवार लोकान्तरसँग भने, ‘अहिले दाँतको उपचार भएको छ । डाक्टरले सोमवारसम्म ठीक हुन्छ भनेका छन् ।’

जोशीले आफू कसैको दबाबमा घर बिदामा नबसेको बताए । उनले स्वास्थ्य उपचार गरेपछि अदालत फर्किने जानकारी दिए ।

आइतवार ( असोज ७ गते) सर्वोच्चमा इजलास हेरेका जोशी त्यसपछि बिदामा छन् । बिदामा बसेका जोशीलाई बिहीवार बसेको न्यायपरिषद् र न्याय सेवा आयोगको बैठकमा समेत बोलाइएन । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशी न्याय परिषद् र न्याय सेवा आयोगका सदस्य हुन् । 

जोशीले न्याय परिषद् र न्याय सेवा आयोगको बिहीवार बसेको बैठकबारे आफूलाई कसैले जानकारी नदिएको बताए । परिषद् र आयोगको बैठकमा अनुपस्थितिबारे लोकान्तरको जिज्ञासमा जोशीले भने, ‘मलाई कसैले खबर गरेनन् । खबर नआएपछि कसरी उपस्थित हुने ?’

salt training

कमेन्ट गर्नुहोस्