०४ साउन २०८३, सोमबार
अमेरिका–इरान १२ घण्टे म्याराथन वार्ता

६० दिनभित्र सम्झौता गर्ने रोडम्याप तय, जटिल मुद्दा सुल्झाउन 'हाई लेभल कमिटी' गठन गरिने

असार ८, २०८३
काठमाडौं
६० दिनभित्र सम्झौता गर्ने रोडम्याप तय, जटिल मुद्दा सुल्झाउन 'हाई लेभल कमिटी' गठन गरिने

युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा शुरू भएको पहिलो चरणको उच्चस्तरीय प्रत्यक्ष वार्ता उत्साहजनक प्रगतिका साथ सम्पन्न भएको छ । १२ घण्टासम्म चलेको यो म्याराथन बैठक सकारात्मक र रचनात्मक रूपमा टुङ्गिएको मध्यस्थकर्ता राष्ट्रहरू कतार र पाकिस्तानले सोमबार जारी गरेको संयुक्त वक्तव्यमा जनाएका छन् । 

गत हप्ता दुई देशबीच भएको प्रारम्भिक समझदारी पत्रका आधारमा वार्तालाई अघि बढाउँदै आगामी ६० दिनभित्र अन्तिम शान्ति सम्झौता टुङ्गोमा पुर्‍याउन दुवै पक्षले एक स्पष्ट मार्गचित्रमा सहमति जनाएका हुन् । 

राजनीतिक तहको पहिलो बैठक सकिएसँगै अबका प्राविधिक तथा जटिल मुद्दाहरू सुल्झाउन दुवै देशले एक 'हाई लेभल कमिटी' गठन गर्ने निर्णय गरेका छन् । यो समितिले मध्यस्थता प्रक्रियाको राजनीतिक अनुगमन गर्नेछ र दुवै देशका मुख्य वार्ताकारहरूले कमिटीलाई नियमित रूपमा जानकारी गराउने छन् ।

यसका साथै वार्तालाई सही दिशा दिन विभिन्न उप-समूह गठन गरिएको छ, जसले यसै हप्ताभरि स्विट्जरल्याण्डको बर्गेनस्टकमा प्राविधिक स्तरको छलफल जारी राख्नेछन् । विशेषज्ञ टोलीहरूले मुख्य गरी तीनवटा विषयमा विस्तृत कार्य गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । जसमा आणविक कार्यक्रम, प्रतिबन्धहरू फुकुवा गर्ने विषय र अनुगमन तथा विवाद समाधान रहेका छन् । 

वार्ताको एक प्रमुख उपलब्धि अमेरिका र इरानबीच सीधा सम्पर्क संयन्त्रको स्थापना गर्ने सहमति बनेको छ । केही समयअघि इरानले हर्मुज जलमार्ग बन्द गरेको दाबी गरेपछि उत्पन्न भ्रम र तनावलाई चिर्न यो कदम चालिएको हो ।

यो सीधा सम्पर्क लाइनको मुख्य उद्देश्य हर्मुजबाट गुज्रने व्यापारिक तथा तेलका जहाजहरूलाई सुरक्षित रूपमा आवतजावत गराउनु र कुनै पनि सम्भावित टकराव वा गलतफहमीलाई तत्कालै रोक्नु रहेको छ । विश्वको २० प्रतिशत तेल र प्राकृतिक ग्याँस ढुवानी हुने यो जलमार्ग ६० दिने वार्ता अवधिभर पूर्ण रूपमा खुला रहने सुनिश्चितता गरिएको छ ।

प्रारम्भिक सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध रोक्ने भनिए तापनि विगत केही दिनयता इजरायल र हिजबुल्लाहबीच दक्षिणी लेबनानमा हिंसात्मक चाप बढेको थियो । 

वार्ता शुरू हुनुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले लेबनानमा आफ्ना 'प्रोक्सीहरू'लाई तत्काल नरोकेमा इरानमाथि पुनः कडा प्रहार गर्ने धम्की दिएका थिए । यसको जवाफ दिँदै इरानका मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले अमेरिकी धम्कीको कुनै असर नपर्ने भन्दै आफूहरू कुरामा भन्दा एक्सनमा विश्वास गर्ने बताएका थिए ।

यद्यपि, अमेरिकी मुख्य वार्ताकार तथा उपराष्ट्रपति जेडी भान्सले ट्रम्पले वार्ताकारहरूलाई नयाँ पाना पल्टाउन निर्देशन दिएको खुलाएका छन् । भान्सका अनुसार यदि इरानले दीर्घकालीन रूपमा आफ्नो आणविक हतियारको महत्त्वाकांक्षा र क्षेत्रीय अस्थिरता फैलाउने कार्य त्याग्छ भने अमेरिका इरानसँगको सम्बन्धलाई मौलिक रूपमै परिवर्तन गर्न तयार छ । इरानले भने आफ्नो आणविक कार्यक्रम सधैँ शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ ।

यसै हप्ताको शुरूमा दुवै देशका राष्ट्रपतिद्वारा हस्ताक्षरित प्रारम्भिक सम्झौता अनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको सैन्य नाकाबन्दी हटाउने, ३०० अर्ब डलरको इरान पुनर्निर्माण योजना अघि बढाउने र इरानमाथिका सबै प्रकारका आर्थिक प्रतिबन्धहरू समाप्त गर्ने उल्लेख छ । यसको बदलामा इरानले हर्मुज जलमार्ग खुला राख्नुपर्नेछ । तर, ट्रम्पको पहिलो कार्यकालमा अमेरिका बाहिरिएको ओबामाकालीन आणविक सम्झौताको मुख्य बुँदामा भने अहिले गठन गरिएका विशेषज्ञ टोलीहरूले थप कुराकानी गर्न बाँकी नै छ ।

ऐतिहासिक वार्तामा अमेरिकी टोलीमा भान्सका साथै जारेड कुश्नर र स्टिभ विटकफ सहभागी छन् भने इरानको तर्फबाट गालिबाफ र विदेशमन्त्री अब्बास अराघची रहेका छन् । मध्यस्थता गरिरहेका पाकिस्तानका प्रधानमन्त्री तथा सेना प्रमुख र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले यो वार्ता प्रक्रियालाई शान्तिको ठोस प्रस्थानविन्दु मान्दै सन्तोष व्यक्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्