‘त्यतिबेला वाग्मती पूरै सफा थियो । हामी केटाकेटी मिलेर वाग्मतीमा पौडी खेल्न जान्थ्यौं । वाग्मती स्वच्छ र सुन्दर देखिन्थ्यो । सफा वाग्मतीमा पिँधको बालुवा प्रस्ट देखिन्थ्यो । पिँधमा पैसाको सिक्का खसेको पनि देखिन्थ्यो,’ कुराको सिलसिलामा यसो भनिरहँदा उनका हात यताउता नाच्दै थिए ।

अहिलेको वाग्मती उनले भनेजस्तो छैन । उनले फेरि थपे, ‘अझ कतिले त वाग्मतीको पानी पनि पिउने गर्थे ।’
वाग्मती किनारको वारपार बग्थ्यो ।
काठमाडौंको झम्सिखेलमा जन्मिएका पूर्ण थापासँग बाल्यकालका मीठा र रमाइला स्मरणहरू अझै ताजा छन् ।
त्यतिबेला अहिले जस्तो काठमाडौंमा धूलोधूँवा थिएन । काठमाडौंमा यति धेरै घर पनि थिएनन् । फलफूल किनेर खानु पर्दैैनथ्यो । ‘केही खान मन लाग्यो भने बाटोमै टिपेर खाए हुन्थ्यो,’ उनी सुनाउँछन् ।
काठमाडौंमै जन्मे हुर्केपनि उनको पुर्ख्यौली घर भने दोलखा थियो । उनी काठमाडौंमा जन्मे, हुर्के । मध्यमवर्गीय परिवार थियो उनको । ठिक्कका सपना थिए ।
स्कूल तहमा पढ्दा उनी विभिन्न प्रहसन गर्ने गर्थे । सानैदेखि नै नाटकको भूत सवार थियो थापामा । ‘त्यतिबेला नेपालमा टेलिभिजन थिएन,’ उनी थप्छन्, ‘पुराना सबै कलाकार स्टेज कार्यक्रमबाट नै अभिनयमा आउनुभएको हो ।’
बच्चा बेलामा कमेडी प्रहसन गर्थे उनी । नाच्थे पनि । उनी भन्छन्, ‘ललितपुर जिल्लामा हामी कहलिएका कलाकार थियौं,’ – उनी मुस्कुराउँदै भन्छन् ।
सानैदेखि कमेडी भूमिकामा स्टेजमा प्रहसन गरेपनि उनले २०३५ सालतिर पहिलोपटक ‘पर्खालभित्र’ नाटकमा अभिनय गरे । ‘त्यसपछि अरू पनि नाटकमा अभिनय गरें,’ उनी सम्झनाको ढोका ढक्टक्याउँदै भन्छन् ।
प्रहसन र दर्शकको मायाले उनलाई कलाकारिताको नशा लाग्यो । दर्शकको माझमा अभिनय गर्दा उनले दर्शकको माया पाउँथे । ‘मेरा दर्शक नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ ।’
२०४० को शुरुवातसँगै काठमाडौंमा नाटकको बाढी आयो । नाटक मञ्चन गर्न बनाइएका नाटकघर तथा हलमा निरन्तर रूपमा नाटक मञ्चन हुन थाले । त्यो भेलमा केही स्तरीय नाटक पनि जन्मिए । केही झुर पनि । झुर नाटकको बढ्दो प्रभावले नाटकका दर्शक घट्दै गए ।
पछि नेपाल टेलिभिजनको पनि स्थापना भयो । नाटकका केही दर्शक टिभीतिर आर्कषित भए ।बेला यस्तो आयो, नाटकका दर्शक स्वात्तै घटे । पछि केही कमेडी नाटकले मात्र दर्शक पाउन थाले ।
थापा फुटबलका राम्रा खेलाडी थिए । ‘अभिनयमा दर्शकको वाहवाही पाएपछि भने फुटबल खेल्न छोडें,’ उनी भन्छन्, ‘एक क्षेत्र मैले छोड्नैपर्ने लागेर मैले खेल जगत् छोडें ।’ उनलाई समय मिलाउन गाह्रो थियो ।
त्यतिबेला न नेपालमा खेलको भविष्य थियो, न कलाको । तर पनि उनले फूटबलमा भन्दा कलामा नै आफ्नो भविष्य देखेर खेललाई छोडे ।
क्याम्पस पढ्दा ठूलो साथी समूह भयो उनको । साथी समूहले नयाँ नयाँ कुराहरूको कन्सेप्ट बनाउँथे । रमाउँथे ।
कसैसँग प्रेम भएन । बरू पारिवारिक स्नेह बनेको थियो त्यो समूहमा ।
उनी भन्छन्, ‘मैले पहिलोपटक राज्यलक्ष्मी श्रेष्ठलाई देखें अनि हामीबीच प्रेम बस्यो,’ उनी लामो हाँसो हाँस्दै सुनाउँछन्, ‘पछि उनैसँग बिहे भयो ।’
२०५१ सालमा ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रममार्फत करारमा कार्यक्रम महाशाखामा जागिर खान थालेपछि उनको दैनिकी फेरियो । जागिरे जीवनमा उनलाई समय मिलाउन झनै गाह्रो हुन थाल्यो ।
करारमा रेडियो नेपाल छिरेका थापा दुई वर्षपछि स्थायी जागिरे बने । अहिले पनि उनी रेडियो नेपालका जागिरे हुन् । रेडियो नेपालको नाटक उत्पादन शाखामा छन् उनी । पहिलेको तुलनामा ‘रेडियो नाटक’ प्रभावित हुँदै गएको छ भन्छन् थापा ।
‘तीतो सत्य’मा ‘सुब्बा साब’ को भूमिकामा उनलाई रुचाइयो । यसको सफलतासँगै विभिन्न स्थानमा गर्ने प्रहसन र कार्यक्रमले थापाको आर्थिक पक्ष पनि उकास्यो । चिनारी पनि दियो । व्यस्त समय हुँदाहुँदै पनि ‘तीतो सत्य’मा काम गर्न भने उनलाई गाह्रो भएन ।
‘रेडियो नेपालमा सँगै काम गर्दा दीपकराज गिरीसँग चिनजान थियो । साथी भएकाले पनि उहाँसँग काम गर्न मलाई गाह्रो भएन,’ उनी भन्छन्, ‘मेरो लागि भनेर नै उहाँहरूले साँझको शूटिङ राखिदिनुहुन्थ्यो ।’
पहिले नाटक लेख्ने र निर्देशन गर्ने गरेपनि अहिले भने उनी केही नाटक तथा शृंखलामा मात्र सीमित छन् । समय मिलाउन नसक्दा त्यति धेरै सक्रिय हुन नसकेपछि सेवानिवृत्त भएपछि भने कलाकारिता क्षेत्रमा सक्रिय हुने उनको योजना छ ।
उनी भन्छन्, ‘पछिल्लो पुस्तामा धेरै राम्रा कलाकार आउनुभएको छ । नयाँ पुस्तासँग काम गर्न पनि साह्रै रमाइलो हुन्छ ।’