
काठमाडौं – यसवर्षकै बहुप्रतीक्षित चलचित्र‘छक्का पञ्जा ३’ बुधवार (घटस्थापना)को दिनदेखि प्रदर्शनमा आउँदैछ ।
चलचित्रप्रति दर्शकको उत्साहलाई मध्यनजर गर्दै मल्टीस्टारर चलचित्रको सोमवार साँझबाटै मल्टिप्लेक्स हलहरूमा बुकिङ खुला गरिएको छ ।
देशभरका झण्डै १ सय ४५ हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रले मल्टीप्लेक्स हलमा उच्च शो पाएको छ । चलचित्रलाई काठमाडौंभित्र क्युएफएक्स अन्तर्गतका हलमा ३० शो दिइएको छ ।
प्रदर्शनको पहिलो दिन काठमाडौंमा क्युएफएक्सअन्तर्गत लबिम मलमा ८ शो, सिभिल मलमा ७, छाँया सेन्टरमा ७, कुमारीमा ५ र जय नेपालमा ३ शो यस चलचित्रले पाएको छ ।
त्यस्तै क्यूज सिनेमाले ११ शो, विग मुभिजले १० शो र एफक्यूबले ११ शो बाँडेको छ । काठमाडौं बाहिरका मल्टीप्लेक्समा पनि ‘छक्का पञ्जा ३’लाई सर्वाधिक उच्च शो उपलब्ध गराइएको छ ।
ब्राण्ड, स्टार कलाकार, गीतसंगीत र ट्रेलरका कारण प्रतीक्षित चलचित्रको बुकिङ खुला गरिएसँगै दर्शकहरूले आफ्नो टिकट सुरक्षित गरिरहेका छन् ।
चलचित्रको बुकिङ आक्रामक भए चलचित्रले बम्पर ओपनिङ गर्ने निश्चित छ । दीपाश्री निरौला निर्देशित चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।