०५ असार २०८३, शुक्रबार

‘अनुचित दबाब’ काण्डका सचिवको उल्टै हुँकार: भ्रष्टले हटाए, सचिवले जुम्रा मारेर बस्नु ?

कात्तिक २०, २०७४
 ‘अनुचित दबाब’ काण्डका सचिवको उल्टै हुँकार: भ्रष्टले हटाए, सचिवले जुम्रा मारेर बस्नु ?
काठमाडौं, १५ फागुन – अनुचित कामका लागि कर्मचारीलाई तीव्र दबाब दिएको छताछुल्ल भएपछि सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरलाई सरकारले मन्त्रालयबाट हटाएर राष्ट्रिय सतर्कता केन्द्र पु–याएको छ । उनीविरुद्ध चारसय कर्मचारी विरोधमा उत्रेका थिए ।

लोकान्तरले सिँचाइमन्त्री दिपक गिरी र सचिव ठाकुरको ‘अनुचित दबाब काण्ड’ को पर्दाफास अघिल्लो हप्ता गरेको थियो ।

आफूहरूलाई विभिन्न बहानामा हैरान पारेको भन्दै सिँचाइ विभाग र मातहत कार्यालयमा काम गर्ने देशैभरका चारसय कर्मचारीले सचिव ठाकुरलाई हटाउन माग गर्दै हस्ताक्षर संकलन गरेका थिए । सचिव नहटाए आन्दोलन गर्ने चेतावनी कर्मचारीले दिएका थिए ।

अघिल्लो हप्ताको मन्त्रिपरिषद् बैठकले सचिव ठाकुरको सरुवा गरेको हो ।
सचिव ठाकुरले चाहिँ केन्द्रमा बसेर भ्रष्टाचार गर्न पल्केकाहरूलाई तह लगाउन खोज्दा आफूजस्तो ‘सज्जन’ कर्मचारीको सरुवा भएको विवादास्पद प्रतिक्रिया लोकान्तरलाई दिएका छन् ।

सचिवले ठाकुरले कार्यसम्पादन मूल्यांकन बिगारिदिन्छु, जागिरै खोसिदिन्छु भनेर आफूहरूलाई धम्क्याएको, अनुचित काममा दबाब दिएको, तल्लोस्तरको भाषा प्रयोग गरेको, छुद्र व्यवहार देखाएको, वृत्तिविकास रोकेको, कार्यसम्पादन मूल्यांकनको त्रास देखाएर तर्साएको, विभिन्न फाइलहरू रोकेको लगायतका आरोप सिँचाइ मन्त्रालय मातहतका कर्मचारीले लगाएका थिए ।

सिँचाइमन्त्री गिरीसमक्ष सिँचाइ विभाग, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग र जलस्रोत अनुसन्धान तथा विकास केन्द्रका प्रमुख (सहसचिव स्तर) सहित तीनसय कर्मचारीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाइएको थियो भने बाँकी कर्मचारीले उनलाई हटाउन माग गर्दै पछि हस्ताक्षर गरेका थिए ।

दबाब बढेपछि सरकारले ठाकुरलाई सिँचाइ मन्त्रालयबाट सरुवा गरेको हो । लोकान्तरसँग कुरा गर्दै ठाकुरले भ्रष्टहरूलाई तह लगाउन खोज्दा आफ्नो सरुवा भएको दाबी गरे ।

‘केन्द्रमा गोलबद्ध भएर भ्रष्टाचारको जालो बुनिरहेका भ्रष्टहरूलाई तह लगाउन खोज्दा मेरा सरुवा भएको हो,’ सचिव ठाकुरले भने, ‘भ्रष्टाचारीलाई ठीक पार्न खोजेपछि म ‘सज्जन’ विरुद्ध भ्रष्टाचारी नै जाइलागे, मेरो केही लागेन ।’

आफूले कर्मचारीलाई कुनै दबाब नदिएको, नधम्क्याएको, कार्यसम्पादन मूल्यांकन बिगारिदिन्छु पनि नभनेको दाबी उनले गरे । ‘मविरुद्ध लगाइएका सबै आरोप गलत हुन्’ उनको दाबी छ ।

गल्ती नै नगरेको भए चारसय कर्मचारीले किन तपाईंविरुद्ध हस्ताक्षर संकलन गरे त ? लोकान्तरको प्रश्नमा उनले थपे, ‘पीत पत्रकारिता नगर्नुस् । मेराविरुद्ध चारसय कर्मचारीले हस्ताक्षर गरे होलान् । तर मेरो पक्षमा १४ सयले गरेको हस्ताक्षरको पनि कुरा गर्नुस् ।’ उनले आफ्नो पक्षमा पनि व्यापक कर्मचारी रहेको दाबी गरे ।

कर्मचारीलाई किन अनुचित दबाब दिएको ? विना आधार २५ सहसचिवलाई किन सरुवा गरेको ? भन्ने प्रश्नमा ठाकुरको जवाफ थियो, ‘सचिव भएपछि केही गर्नै नहुने ? सचिवले के जुम्रा मारेर बस्नु ?’

उनले केही भ्रष्टहरूले पत्रकारलाई प्रभावमा पारेर आफ्नाविरुद्ध समाचार लेखाएको आरोप समेत लगाए ।
‘तपार्इं पत्रकारहरू मैले कारवाही गर्न खोजेका भ्रष्ट कर्मचारीको मात्र कुरा सुन्नुहुन्छ,’ उनले थपे, ‘मेरा कुरा पनि छापिदिनुस् न ।’

पत्रकारमाथि संगीन आरोप

उनले भ्रष्ट कर्मचारीले पत्रकारलाई प्रभावमा पारेर समाचार लेखाएको सूचना आफूकहाँ आएको दाबी गरे । ‘मैले राम्रो काम गर्दागर्दै उल्टै ममाथि खनिने भ्रष्ट हुन् । तिनै भ्रष्टले पत्रकारलाई प्रभावमा पारेका छन् र मेराविरुद्ध चाहिने नचाहिने कुरा लगाइरहेका छन् ।’

यस्ता थिए सचिवमाथिका आरोप

सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर देवराज निरौलाका अनुसार सचिव ठाकुरको व्यवहारबाट आजित भएका सिँचाइसँग सम्बन्धित कार्यालयमा काम गर्ने सयौं कर्मचारीहरूले देशैभरबाट उनीविरुद्ध स्वतःस्फूर्त रूपमा हस्ताक्षर संकलन गरेका थिए ।

सचिव हटाउन माग गर्दै २३ जना सहसचिव स्तरका कर्मचारीले हस्ताक्षर गरेका थिए भने बाँकी विभिन्न पदमा काम गर्ने कर्मचारी थिए ।

निरौलाका अनुसार कार्यसम्पादन मूल्यांकन रेटिदिन्छु भनेर सचिव ठाकुरले शुरुदेखि नै कर्मचारी आतंकित पारेका थिए । उनी गएको २८ जेठमा सिँचाइ मन्त्रालयमा सचिवमा सरुवा भएर आएका थिए ।

सचिव ठाकुरले कर्मचारीको कार्यसम्पादन मूल्यांकन घटाइदिने (भविष्य बिगार्ने) भनेर धम्की दिएको, स्वीकृत भइसकेका विदेश अध्ययन र भ्रमणका कार्यक्रम अन्तिममा रोकेको, कतिपयको प्रक्रियाका गइसकेका वृत्तिविकासका फाइल रोकेको, आयोजना प्रमुख र संयोजकहरूलाई मनपरी सरुवा गरेको, सरुवा गर्दा कुनै कारण नखुलाएको, सरुवा गरिसकेपछि त्यसको बोधार्थ कतै नदिएको, सिँचाइसम्बन्धी गुरुयोजनाका फाइलहरू स्वीकृत नगरी रोकेर राखेको, कर्मचारीलाई विनाकारण राजीनामा दिन बाध्य पारेको लगायतका आरोप कर्मचारीले लगाएका थिए ।

सहसचिवले देखाएको हिम्मत

बहालवाला सचिव ठाकुरलाई मन्त्रालयबाट सरुवा गराउन सहसचिवहरूको अगुवाइमा सयौं कर्मचारीले हस्ताक्षर गरेको निजामती सेवामा दुर्लभ घटना भएको जानकारहरू बताउँछन् ।

ठाकुरलाई हटाउन माग गर्दै सिँचाइ विभाग, जलउत्पन्न प्रकोप नियन्त्रण विभाग र केन्द्रका सहसचिवले अगुवाइ गरेका थिए ।

ज्ञापनपत्रमा सिँचाइ विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारी, जलउत्पन्न प्रकोप नियन्त्रण विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारी र केन्द्रकी प्रमुख (सहसचिव) सरिता दवाडीले क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा हस्ताक्षर गरेका थिए ।

‘अति भएपछि यो कदम चाल्न बाध्य भएका हौं,’ सिँचाइ विभागका महानिर्देशक अधिकारीले लोकान्तरसँग भनेका थिए, ‘सचिव ठाकुरको कर्मचारीप्रतिको व्यवहार अत्यन्तै रुखो, ठाडो र धम्क्याउने खालको छ । उहाँसँग कोही पनि खुशी छैनन् । काम गर्ने वातावरण नभएपछि यो कदम चाल्न बाध्य भएका हौं ।’

धम्क्याउँदै मेरो राजीनामा मागे: सहसचिव दवाडी

हाल जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी प्रमुख (सहसचिवसरह) रहनुभएकी सरिता दवाडीलाई सचिव ठाकुरले केही महिनाअघि विनाकारण बेस्सरी थर्काएका थिए । दवाडी सिँचाइ विभागमा उपमहानिर्देशक भइसकेकी कर्मचारी हुन् । सचिव ठाकुरले उनलाई मर्यादाक्रममा घटुवा गर्दै उपमहानिर्देशकको तल बसेर काम गर्ने एक परियोजनामा सरुवा गरे ।

त्यसमा चित्त नबुझेपछि दवाडीले शुरुमा सिँचाइमन्त्री गिरीलाई भेटेर सचिवले आफूमाथि अन्याय भएको बताइन् । मन्त्री गिरीले आफूले सचिवले जे ल्याए, त्यसैलाई सदर मात्र गरेको र कुन वरिष्ठ हो वा कनिष्ठ हो भन्ने जानकारी नलिएको जवाफ दिए । त्यसपछि दवाडी सचिव ठाकुरलाई भेट्न उनको कार्यकक्षमा गइन् ।

‘मलाई अन्याय भयो सचिवज्यू, म उपमहानिर्देशक भइसकेको कर्मचारी । मभन्दा कनिष्ठको मुनि बसेर काम गर्ने ठाउँमा किन सरुवा गर्नुभएको भनेर मैले सोधें’, दवाडीले लोकान्तरसँग भनिन्, ‘खुरुक्क मैले सरुवा गरेको ठाउँमा गएर काम गर्नुहोस् । मन छैन भने राजीनामा दिए हुन्छ भनेर सचिव ठाडो जवाफ दिए ।’

सहसचिव दवाडीका अनुसार सचिवले ठाडो जवाफ दिएपछि उनले पनि कडै जवाफ फर्काइन् । ‘मलाई यस्तो नराम्रो गरी थर्काउने ? तपाईंले टीका लगाएर दिएको पद हो र राजीनामा गर्नलाई ? मलाई तपाईंको व्यवहार ठीक लागेन । अन्याय सहेर बस्दिनँ ।’ सचिवलाई उनले यसरी जवाफ फर्काएकी थिइन् ।

दवाडीका अनुसार सहसचिव स्तरका कर्मचारीलाई सरुवा गर्दा उनीहरूलाई शुरुमै जानकारी दिइन्छ र सामान्यतया सरुवा गर्न लागेको ठाउँबारे सोधिन्छ पनि । तर सचिव ठाकुरले उनलाई सरुवा गर्नुअघि एक शब्द पनि सोधेका थिएनन् ।
‘शायद मैले सचिवको अपेक्षा पूरा गर्न सकिनँ होला र मलाई त्यस्तो अन्याय गरियो होला,’ दवाडीले भनिन्, ‘सरुवामा हुने अनेक प्रलोभन र अनुचित लाभका बारेमा मैले सचिवको इच्छा पूरा गर्न नसकेकाले पनि मलाई त्यस्तो व्यवहार गरिएको हुनसक्छ,’ उनले लोकान्तरसँग भनिन् । सचिवले आफूलाई मात्र होइन, सयौं
कर्मचारीलाई उस्तै दुःख दिएको उनको भनाइ छ ।

कारण नखुलाई २५ सहसचिवको सरुवा

केही महिनाअघि सचिव ठाकुरले सिँचाइ मन्त्रालय मातहतका २५ सहसचिव स्तरका कर्मचारीको सरुवा गरेका थिए । त्यो सरुवामा कुनै कारण र आधार खुलाइएन । उनले उठाएको सरुवासम्बन्धी फाइललाई मन्त्री गिरीले सदर गरेका थिए ।

‘यतिसम्म कि सहसचिवको सरुवा गरेपछि विभिन्न निकायमा दिनुपर्ने बोधार्थसमेत दिइएन,’ सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर देवराज निरौलाले लोकान्तरसँग भने, ‘त्यसबाट सचिवको नियत त प्रस्टै भएको थियो ।’

salt training

कमेन्ट गर्नुहोस्