०७ असार २०८३, आइतबार

नकआउट चरणमा पुग्न मेक्सिको र दक्षिण कोरियाबीच भिडन्त

असार ५, २०८३
काठमाडौं
नकआउट चरणमा पुग्न मेक्सिको र दक्षिण कोरियाबीच भिडन्त

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण खेलमा आज आयोजक मेक्सिको र दक्षिण कोरिया आमनेसामने हुँदैछन्। एस्टाडियो ग्वाडालजारामा बिहान पौने ७ बजे सुरु हुन लागेको खेलमा जित निकाल्ने टोलीले अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गर्नेछ।

यसअघिका आफ्ना पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई र दक्षिण कोरियाले चेक गणतन्त्रलाई पराजित गर्दै ३–३ अंक जोडिसकेका छन्। मेक्सिकोका प्रशिक्षक जेभियर एगुइरेले टोलीमा तीन परिवर्तन गर्दै राउल जिमेनेजलाई अग्रपंक्तिमा उतारेका छन् भने दक्षिण कोरियाको नेतृत्व कप्तान सोन ह्युङ-मिनले गरिरहेका छन्।

समूह ‘ए’ कै अर्को खेलमा दक्षिण अफ्रिका र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। खेलको छैटौँ मिनेटमै मिचल साडिलेकको गोलबाट अग्रता लिएको चेक गणतन्त्र विरुद्ध दक्षिण अफ्रिकाका टेबोहो मोकोएनाले ८३ औँ मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए।

यो बराबरीले दुवै टोलीको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनाएको छ। हाल समूह तालिकामा मेक्सिको र दक्षिण कोरिया शीर्ष स्थानमा छन्। आजको खेलको नतिजाले नै यस समूहबाट छनोट हुने समीकरणलाई थप प्रस्ट पार्नेछ।

कमेन्ट गर्नुहोस्