
फिफा विश्वकप अन्तर्गत समूह 'बी' को खेलमा कतारले स्विजरल्याण्डलाई १-१ को बराबरीमा रोकेको छ। खेलको अन्तिम समयमा बुआलेम खोखिले गोल गरेपछि कतारले विश्वकप इतिहासमा आफ्नो पहिलो अंक बटुल्न सफल भएको हो।
सान फ्रान्सिस्को बे एरिया स्टेडियममा ६७ हजार ९६६ दर्शकका माझ भएको प्रतिस्पर्धात्मक खेलमा स्विजरल्याण्डले सुरुवाती अग्रता लिएको थियो। खेलको १७औँ मिनेटमा ब्रील एम्बोलोले पेनाल्टीमार्फत गोल गर्दै स्विजरल्याण्डलाई १-० को अग्रता दिलाएका थिए।
स्विजरल्याण्डका मिडफिल्डर रेमो फ्रुलरलाई कतारी गोलरक्षक महमुद अबुनादाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टीको अवसर दिएका थिए।
यद्यपि, टेलिभिजन रिप्लेमा फ्रुलर अफसाइड देखिएको भन्दै उक्त पेनाल्टी निर्णयमा केही विवाद समेत उत्पन्न भएको थियो।
खेलभरि स्विजरल्याण्डले बलियो पकड जमाएको थियो। बल पोजेसन, सट र कर्नरको तथ्याङ्कमा अगाडि रहे पनि स्विजरल्याण्डका खेलाडीहरूले थप गोल गर्न भने सकेनन्।
विशेषगरी नटिंगहम फरेस्टका फरवार्ड ड्यान एन्डोय, रुबेन भर्गास र एम्बोलोले गोलका सुनौला अवसरहरू खेर फालेका थिए।
एकपक्षीय जस्तो देखिएको खेलमा हारतर्फ धकेलिएको कतारले इन्जुरी समयमा चामत्कारिक पुनरागमन गर्यो। खेलको ९४औँ मिनेटमा होमाम एल अमीनको सटिक क्रसलाई बुआलेम खोखिले हेडरमार्फत गोलमा परिणत गरेपछि कतारी टोली र समर्थकहरूमा खुसीयाली छाएको थियो।
सन् २०२२ को विश्वकपमा घरेलु टोली भएर पनि कुनै अंक जोड्न नसकेको र सबै खेल हारेको कतारका लागि यो बराबरी निकै महत्वपूर्ण छ। खेलपछि कतारका स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुईले आफ्ना खेलाडीहरूको अनुशासन र खेलप्रतिको मानसिकताको प्रशंसा गरे।