
काठमाडौं – शहरदेखि गाउँसम्म दशैंको उमंग र उत्साहले छोएको छ । दशैं शुरू भएसँगै कलाकार पनि आ–आफ्नै तयारीमा लागेका छन् ।
वर्ष दिनभर प्रायः चलचित्र, गीत, मेला महोत्सव तथा अन्य काममा व्यस्त भइरहने कलाकार दशैंमा भने सकेसम्म आफ्नो घरमा पुगेका हुन्छन् । केही दिनका लागि भएपनि बिदा मिलाएका घर जान्छन् कलाकार पनि ।
दशैंको रौनक छाइसकेको सन्दर्भमा केही कलाकारसँग दशैं योजनाबारे कुराकानी गरिएको छ ।
भुवन केसी, अभिनेता
अभिनेता भुवन केसीले यस वर्षको दशैं काठमाडौंमै मनाउने छन् । दशैंमा परिवार, आफन्त जम्मा भएर टिका लगाउने, भेटघाट गर्ने उनको योजना छ ।
खानपानमा त्यति सौखिन नभएपनि आफन्तसँग भेटघाट, दशैंको आर्शिवादलाई भने उनी महत्त्वका साथ हेर्छन् । उनी बानेश्वरस्थित घरमा टिका लगाइसकेपछि सिनामंगल मामाघरमा टिका लगाउन जाने छन् ।
प्रायः काठमाडौंमै दशैं मनाउँदै आएका भुवनलाई बाल्यकालको दशैं सधैं सम्झनामा आउँछ । ‘दशैं नजिकिँदैछ भनेपछि नयाँ कपडा लगाउन पाइन्छ, पिङ खेल्न पाइन्छ भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यसकारण पनि बाल्यकालको दशैं स्मरणमा आइरहन्छ ।’
अभिनेता भइसकेपछि भने सुटिङकै क्रममा हरेक दिनजसो नयाँ कपडा किनिरहने हुँदा दशैंमा सपिङ नगर्ने उनी बताउँछन् । उनको नयाँ चलचित्र ‘क्याप्टेन’ फागुन १९ गतेबाट प्रदर्शनमा आउँदैछ । दशैंलगत्तै उनी पुनः चलचित्र ‘क्याप्टेन’को काममा व्यस्त रहने छन् ।
नारायण रायमाझी, वरिष्ठ गायक तथा चलचित्र निर्देशक
वरिष्ठ गायक तथा चलचित्र निर्देशक नारायण रायमाझीले यस वर्षको दशैं आफ्नो जन्मघर पाल्पामा मनाउँदै छन् । दशैंमा उनी विभिन्न सांगीतिक कार्यक्रममा समेत सामेल हुनेछन् । त्यसका लागि उनले शुक्रबार नै काठमाडौं छाडिसकेका छन् । टिकाको दिनभन्दा अगाडि उनी पाल्पा, गुल्मी जिल्लामा आयोजित झण्डै आधा दर्जन सांगीतिक कार्यक्रममा सामेल हुनेछन् । परिवार, आफन्त जम्मा भएर टिका लगाउनेसँगै साथीभाई भेट्ने उनको दशैंको योजना छ ।
दीपाश्री निरौला, कलाकार तथा निर्देशक
कलाकार तथा निर्देशक दीपाश्री निरौलाका लागि २ वर्षदेखि दशैं अझ बढी विशेष बन्दै आएको छ । कारण उनी निर्देशित चलचित्र दशैंको छेकोमा रिलिज हुँदै आएका छन् ।
यस वर्ष पनि उनको चलचित्र ‘छक्का पञ्जा ३’ असोज २४ गतेदेखि प्रदर्शनमा आइसकेको छ । त्यसकारण पनि उनी दशैं आफ्ना लागि विशेष रहेको बताउँछिन् । उनी यस वर्षको दशैं विराटनगर घरमा मनाउने छिन् ।
उनी नवमीका दिन विराटनगर जाने छिन् । विराटनगर र धरानका दर्शकसँग बसेर चलचित्र हेर्ने उनको योजना छ । उनी भन्छिन्, ‘मेरो लागि गत वर्षदेखि दशैं नि २ वटा हुँदै आएको छ । एउटा दशैं चलचित्र छक्का पञ्जा ३, अर्को दशैं नै भयो ।’
प्रा.डा. कृष्णहरी बराल, गीतकार
प्रा. डा. कृष्णहरी बराल यस वर्षको दशैं सिन्धुलीमा मनाउने छन् । उनको सोचाइ त १०–१५ दिन नै गाउँमा बिताउने छ । उनी आफ्ना बाँकी केही काम पूरा गरेर सिन्धुली जाने तयारीमा छन् ।
‘गाउँको घरमा आमा हुनुहुन्छ । अन्य आफन्त जम्मा भएर टिका लगाउने, आफन्त भेटघाट गर्ने योजना बनाएको छु,’ उनी भन्छन्, ‘दशैं अगाडि सक्नुपर्ने काम समयमै सकिए १०–१५ दिन नै गाउँमा बसेर आउने योजनामा छु ।’
उनका धेरै साथीभाई दशैंको तयारीमा लागिसकेका छन् । त्यसकारण पनि अब काठमाडौंमै भएका साथीभाइसँगको भेटघाट पातलिँदैछ । उनी भन्छन्, ‘अब नयाँ संस्करण प्रकाशन गर्नुपर्ने किताबको केही तयारी यही समयमा गर्ने योजनामा छु ।’ त्योबाहेक उनी विगतका वर्षमा जस्तै सामान्य रुपमै दशैं मनाउने तयारीमा छन् ।
कोमल वली, गायिका तथा सांसद
गायिका तथा सांसद कोमल वलीले यस वर्षको दशैं दाङमा मनाउने छिन् । उनी केही दिनअघि दाङ पुगेकी छन् । वर्षदिनभर कार्यक्रममा व्यस्त रहने कोमल परिवार, आफन्त जम्मा भएर टिका लगाउने, साथीभाइ भेट्ने योजनामा छिन् । दाङमा आफन्तसँग टिका लगाएपछि बुवाआमा काठमाडौं भएकाले टिकाको दिन उनी काठमाडौं फर्किने छिन् ।
दशैंमा उनको अर्को योजना छ, पुस्तक पढ्ने । ‘देवानी आचारसंहिता लगायतका विभिन्न ८–१० वटा पुस्तक किनिसकेकी छु । दशैंमा टिका, भेटघाटबाहेक पुस्तक पढाइलाई प्राथमिकता दिनेछु,’ उनले भनिन् ।
केकी अधिकारी, अभिनेत्री
अभिनेत्री केकी अधिकारीको यसपालि टीका छैन । हजुरबुवा बित्नुभएको वर्षदिन नपुगेकाले उनले यस वर्ष टिका लगाउने छैनन् । अहिले ‘सरकारी जागिर’ नामको चलचित्र सुटिङमा व्यस्त रहेकी केकी टिका नभएपनि आफन्त, साथीभाइसँगको भेटघाटलाई स्पेसल बनाउने योजनामा छिन् । दशैंमा उनी काठमाडौंमै हुने छिन् ।
मञ्जु पौडेल, गायिका तथा उद्घोषिका
गायिका तथा उद्घोषिका मञ्जु पौडेलले यस वर्षको दशैं गुल्मीमा मनाउने छिन् । उनले दशैंको खास केही योजना त बनाएकी छैनन् । तर, यस वर्षको दशैं उनका लागि विशेष हुँदैछ । ३ वर्षपछि उनी परिवारका साथ दशैं मनाउँदै छिन् ।
‘कार्यक्रमको शिलशिलामा विगत ३ वर्षदेखिको दशैं विदेशमा मनाएकी थिए, यस वर्ष परिवारका साथ मनाउँदैछु । त्यसैले पनि यस वर्षको मेरो दशैं त्यसै पनि विशेष छ,’ उनले भनिन् । दशैं उनलाई विशेष लाग्छ । उनी परिवार, आफन्तकोे हातबाट टिका लगाउने, आफूभन्दा सानालाई टिका लगाइदिने, मिठो खानेकुरा खाने गरेर दशैं मनाउने छिन् ।
दशैंमा लामो समय भेट हुन नपाएका आफन्त, साथीभाइसँग भेट हुने हुँदा त्यसमा छुट्टै आनन्द प्राप्त हुने उनी बताउँछिन् । मञ्जु शनिवार काठमाडौंको एक सांस्कृतिक कार्यक्रममा सहभागी भएपश्चात् आइतवार गुल्मी घरतर्फ लाग्ने छिन् ।
पुष्प खड्का, अभिनेता
उनी दशैं आफ्नो घर कैलालीमा मनाउने छन् । प्रायः दशैं गाउँमै मनाउँदै आएका छन् उनी । दशैं टाढाटाढा भएका आफन्तसँग भेट गराउने विशेष पर्व भएको उनी बताउँछन् ।
‘वर्षदिनभर काममा व्यस्त रहने हामी नेपालीको लागि दशैं निकै महत्त्वपूर्ण चाड हो,’ उनी भन्छन्, ‘यस पर्वले टाढाटाढा भएका आफन्त, साथीभाइसँग भेट गराउने अवसर जुटाउँछ ।’ पुष्पका आमाबुवा भारतमा बस्छन् । दशैंले उनलाई आमाबुवासँग भेट गराउँछ, साथीभाइसँग भेट गराउँछ । भाइ र बहिनीसँग काठमाडौंमा बस्दै आएका पुष्प सुटिङको काम सकेर २८ गते घरतर्फ लाग्ने योजनामा छन् ।
‘म, भाइ, बहिनी काठमाडौंबाट जान्छौं, बाबाममी सिधै सिन्धुली जानुहुन्छ,’ उनले भने । दशैंमा नयाँ लुगा किन्ने प्रचलन रहेपनि आफूले दशैंमा कहिल्यै नयाँ लुगा नकिन्ने बताउँछन् । ‘हामी सुटिङमै समय–समयमा नयाँ लुगा किनिरहेकै हुन्छौं, त्यसैले पनि सपिङको त्यति मतलब हुँदैन । तर, परिवारका लागि भने सपिङ गर्नुपर्छ,’ उनले भने ।
बेनिशा हमाल, नायिका
नायिका बेनिशा हमालले आफ्नो घर चितवनमा दशैं मनाउने छिन् । त्योभन्दा अगाडि भने उनले मुम्बई जाने तालिका बनाएकी छिन् । त्यहाँबाट नवमीका दिन चितवन फर्किने छिन् ।
उनी पनि दशैंमा सपिङ नगर्ने कलाकारमा पर्छिन् । भन्छिन्, ‘सुटिङकै क्रममा हामी पटक–पटक सपिङ गर्छौ । त्यसकारण पनि हामी कलाकारलाई दशैंमा सपिङ गर्ने त्यति चलन हुँदैन ।’
बाहिर भएका आफन्त, साथीभाइलाई वर्षदिनमा दशैंले एकैठाउँ उपस्थित गराउने अवसर मिलाउने हुँदा उनी यसलाई महत्त्वपूर्ण पर्वका रुपमा लिन्छिन् ।