
काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री उपेन्द्र यादवको बस्ने कक्षभित्र एक महिला रुँदै भित्र पसिन् । मन्त्री यादवका प्रेस संयोजक महेश चौरासीया एकछिन अचम्मित भए । चौरासीयाले उनलाई रुँदै आउनुको कारण सोधे । बोल्न खोजिन्, तर सकिनन् । उनी झन एकोहोरो रुन थालिन् ।
‘यहाँ बस्नुस् त, पहिला आँसु पुछ्नुस्, फ्रेस हुनुस् अनि के भयो भन्नुस्,’ चौरासीयाले ती महिलालाई सम्झाए ।
केही समय उनी सोफामै बसेर रोइन् र रोदन मिश्रित स्वार निकाल्दै भनिन्, ‘मलाई सधैं घुमाउने काम मात्रै गरिएको छ, मैले धेरै दुःख पाए । मेरो सरुवा...’ उनी फेरि भक्कानिएर रोइन् ।
केही समय पछि आँसु पुछ्दै फेरी भनिन्, ‘मेरो नाम जय श्री दास । मलाई तेह्रथुमबाट भारदह अस्पताल सरुवा गरियो । तर अस्पतालले हाजिर नै गराइदिएन । घरमा ३ वर्षको नानी छोडेर हिँडेको १० दिन भयो । मेरो सरुवा भएको ठाउँमा दरवन्दी नै छैन भन्छन् ।’
***
जिल्ला अस्पताल तेह्रथुममा पाँचौ तहको रेडियोग्राफी पदमा ३ वर्षदेखि कार्यरत दासलाई स्वास्थ्य सेवा विभागले कात्तिक ९ गते भारदह अस्पताल, सप्तरी सरुवा गरेको थियो ।
स्वास्थ्य सेवा विभागले कात्तिक १० गते दासलाई पत्रमार्फत भारदह अस्पताल सप्तरीमा खटाइएको सरुवा पत्र दियो । दास कात्तिक २३ गते तेह्रथुमको जिल्ला अस्पतालबाट रमाना लिएर २७ गते भारदह अस्पताल सप्तरी पुगिन् ।

तर, भारदह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कुन्दन ठाकुरले अस्पतालमा रेडियोग्राफीको दरवन्दी खाली नभएकाले हाजिर गराउन नमिल्ने बताए । दासको सरुवा भएको रदवन्दीमा रेडियोग्राफर जूही झा कार्यरत रहेको कारण देखाउँदै हाजिर गराउन नमिल्ने वेहोरा सहित भारदह अस्पतालले पुस एक गते दासको हातमा अर्को पत्र थमाइदियो ।
जिल्ला अस्पतालबाट रमना लिएर सप्तरी पुगेकी दासलाई अस्पतालले हाजिर नै नगराएपछि उनी काम र तलबविहीन बनिन् ।
आफ्नो सरुवा गर्ने कार्यलय स्वास्थ्य सेवा विभागमा पुगेपछि समस्या समाधान हुन्छ कि भन्ने आसाले उनी सप्तरीबाट एक्लै काठमाडौं आइन् । तर स्वास्थ्य सेवा विभागका कर्मचारीले सरुवा भएको ठाउँमा हाजिर गर्न मन्त्रीकै आदेश चाहिने भन्दै उनलाई अलमलाइदिए ।
‘मेरो हाजिर नै नगराएपछि एक सातासम्म नगरपालिका र अस्पतालमा धाए, त्यहाँबाट विभाग पठाइदिए, विभागमा मन्त्रीले आदेश दिएपछि मात्रै हाजिर हुन मिल्छ भन्छन्,’ दासले लोकान्तरसँग आफ्नो दुःखेसो सुनाइन््, ‘हिजो (बुधवार) दिनभरी विभागमै वित्यो, आज (बिहीवार) पनि विभागमा गएको मन्त्री वा राज्यमन्त्रीलाई नै भन्नुपर्छ भन्नुभयो, त्यहि भएर यहाँ आए ।’
सरुवा भएको ठाउँमा काजमा खटिन भोग्नुपरेको दुःखले उनको मन कमजोर भइसकेको थियो । बिहीबार स्वास्थ्य मन्त्रालय पुगेकी उनलाई शुरुमा स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य राज्य मन्त्री र मन्त्री यादव दुबै मन्त्रालयमै नभएको भन्दै फर्काउन लागिसकिएको थियो । तर एक कर्मचारीले उनलाई मन्त्री यादवको कोठातर्फ जानु भनेपछि उनी रुँदै भित्र पसेकी थिइन् ।

‘मलाई बाहिर त मन्त्री राज्यमन्त्री नै बाहिर जानुभएको छ भन्नुभएको थियो, मन्त्री भित्रै हुनुहुँदो रहेछ,’ दासले लोकान्तरसँग भनिन्, ‘मेरो हाजिर भएर काममा खटिने व्यवस्था भइदिए आजै फर्किन्थें, घरमा नानी छोडेर आएको छ्ु, यहाँ बहिनीको कोठामा सरुवाकै लागि कतिदिन बस्नु ।’
दरवन्दी नै खाली नभएको ठाउँमा सरुवा गरीदिँदा आफुले दुःख पाएको उनको गुनासो छ ।
‘त्यहाँ मेले सरुवा गराइदिनु पनि भनेको थिइन, मलाई घरबाट साढे २ घण्टा लाग्छ अस्पताल पुग्न, तरपनि सरुवा भएको ठाउँ जानै पर्छ भनेर रमना लिएर गए । अहिले यस्तो विजोग भएको छ ।’
दासले स्वास्थ्यमन्त्री यादवका प्रेस संयोजक चौरासीयालाई आफु सरुवा भएको, रमना लिएको र भारदह अस्पताल सप्तरीले हाजिर गर्न नमिल्ने भन्दै दिएको पत्र देखाइन् र आफ्नो समस्या सुनाइन् । दासको कुरा सुनेपछि चौरासीयाले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीलाई फोन गरे, तर उनले उठाएनन् । उनले दासको सरुवाको विषयमा भएको समस्या समाधानको जिम्मेवारी विभागकै भएको भन्दै विभागमा जान सल्लाह दिए ।
स्वास्थ्य सेवा विभागले अव्यवस्थित ढंगबाट कर्मचारी सरुवा गर्दा दास जस्तै दुःख भोग्ने कर्मचारीको संख्या धेरै छ । विभागले वैज्ञानिक तरिकाले सरुवा नगर्दा कुनै अस्पतालमा भएको दरवन्दी नै रिक्त छ भने कुनै अस्पतालहरुमा एउटा दरवन्दीमा ४ जनासम्म स्वास्थ्यका कर्मचारी सरुवामा परेका छन् ।