१६ असार २०८३, मंगलबार

‘होटल ढाका एक्सप्रेस’ लिज विवाद अदालतमा, यथास्थिति कायम राख्न अन्तरिम आदेश

पुनर्निर्माणमा ८९ लाख रूपैयाँ लगानी गरेको दाबी गर्दै लिजधनी अदालत
असार १५, २०८३
काठमाडौं
‘होटल ढाका एक्सप्रेस’ लिज विवाद अदालतमा, यथास्थिति कायम राख्न अन्तरिम आदेश

काठमाडौंको ठमेलस्थित एक होटलको लिज सम्झौता, पुनर्निर्माणमा गरिएको लगानी र होटलको कब्जासम्बन्धी विवाद काठमाडौं जिल्ला अदालतमा पुगेको छ । 

दुवै पक्षको प्रारम्भिक बहसपछि अदालतले विवादको अन्तिम टुंगो नलाग्दासम्म होटलको वर्तमान अवस्था (यथास्थिति) कायम राख्न अन्तरिम आदेश जारी गरेको छ ।

अदालतमा दर्ता गरिएको उजुरीअनुसार काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित साततले ‘होटल ढाका एक्सप्रेस’ बङ्गलादेशी नागरिक ईस्थामुल हक सामेलको स्वामित्वमा रहेको छ । 

उक्त होटल अर्का बङ्गलादेशी नागरिक रिपन मेहमुदले सन् २०२४, मे १६ मा आवासीय होटल सञ्चालन गर्ने उद्देश्यले लिजमा लिएका थिए ।

लिज सम्झौताअनुसार रिपनले २५ लाख रूपैयाँ सुरक्षा धरौटी बुझाएका थिए भने मासिक ३ लाख ५० हजार रूपैयाँ भाडा तिर्ने सहमति भएको उजुरीमा उल्लेख छ ।

उजुरीमा भवन मालिकसँगको मौखिक तथा लिखित सहमतिका आधारमा रिपनले होटलको पुनर्निर्माण तथा मर्मतमा करिब ८९ लाख रूपैयाँ लगानी गरेको दाबी गरिएको छ । उक्त रकमबाट होटलको लबी मर्मत, छैटौं र सातौं तलामा आंशिक रूपमा बनेका १० कोठाको निर्माण सम्पन्न, सजावट, फर्निचर जडान तथा बाथरूम निर्माणलगायतका काम गरिएको उल्लेख छ । भवनमा यसअघि रहेका २१ कोठा भने यथावत् रहेको जनाइएको छ ।

null

पुनर्निर्माण तथा मर्मतमा भएको लगानी रकम पहिल्यै बुझाइएको २५ लाख रूपैयाँ धरौटीमा थपिने सहमति भए पनि काम सम्पन्न भएपछि र पहिलो एक वर्षे लिज अवधि समाप्त हुँदा समेत उक्त रकम समावेश नगरिएको आरोप उजुरीमा लगाइएको छ ।

उजुरीअनुसार त्यसपछि भवन मालिकले सम्झौता र प्रचलित कानूनविपरीत ६ महिनामै मासिक भाडा ३ लाख ५० हजारबाट बढाएर ४ लाख रूपैयाँ पुर्‍याएका थिए । एक वर्षपछि पुन: मासिक ४ लाख २५ हजार रूपैयाँ कायम गर्दै थप दुई वर्षका लागि लिज नवीकरण गरिएको दाबी गरिएको छ ।

नवीकरण गरिएको सम्झौतामा पुनर्निर्माण तथा मर्मतमा भएको लगानी रकम उल्लेख गर्ने खण्ड खाली राखिएको र उक्त रकम स्पष्ट रूपमा समावेश गर्न आग्रह गर्दा भवन मालिकले थप ३५ लाख रूपैयाँ अग्रिम धरौटी माग गरेको आरोप पनि उजुरीमा छ ।

थप धरौटी रकम तिर्न अस्वीकार गरेपछि सम्झौताका साक्षी मिहिर चौधरीमार्फत २०२६, मे ३१  भित्र होटल खाली गर्नुपर्ने भन्दै मौखिक तथा ह्वाट्सएपमार्फत सूचना पठाइएको थियो  । २०२७ जुनसम्म लिज अवधि कायम रहे पनि होटल खाली गर्न दबाब दिइएको र बद्री प्रसाद पाण्डेको नाम प्रयोग गरी धम्की दिइएको आरोप पनि उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीमा रिपन मेहमुदकी बहिनी तथा व्यावसायिक साझेदार खातुन (एज) जन्नत र महबुब हसनमाथि होटलको लबीमा केही व्यक्तिको समूहले कुटपिट गरेको आरोपसमेत लगाइएको छ । घटनामा उनीहरू घाइते भएको र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइएको थियो । घटनाबारे सोह्रखुट्टे प्रहरी वृत्तमा र जिल्ला प्रहरी परिसर काठमाडौंको शान्ति तथा सुरक्षा शाखामा सुरक्षा माग गर्दै निवेदन दर्ता गरिएको पनि उजुरीमा उल्लेख छ ।

त्यसपछि रिपन मेहमुद पक्षले वैध लिजअन्तर्गतको होटलको कब्जा संरक्षण, पुनर्निर्माण तथा मर्मतमा गरिएको लगानीको कानूनी समाधान र न्यायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

दुवै पक्षका कानून व्यवसायीको प्रारम्भिक बहसपछि अदालतले विवादको अन्तिम किनारा नलाग्दासम्म होटलको यथास्थिति कायम राख्न अन्तरिम आदेश जारी गरेको छ ।

यता, भवन मालिक एहतेशामुल हक सामेलको यस विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । अदालतमा मुद्दा विचाराधीन रहेकाले विवादको अन्तिम कानूनी निष्कर्ष आउन बाँकी छ ।

पीडतको आरोप : मिहिर चौधरीको मुख्य योजना 

होटल लिजमा लिएर चलाइरहेका बङ्गलादेशी नागरिक रिपन मेहमुदले यो सबै घटनाको मुख्य योजनाकार मिहिर चौधरी रहेको आरोप लगाएका छन् । 

‘यो सबै ठगी धन्दाको मुख्य योजनाकार मिहिर चौधरी हुन्, जसको मुख्य उद्देश्य नै मानिसहरूलाई ठग्नु हो । ​मिहिर चौधरीले हामीलाई नियमित रूपमा गुण्डाहरू पठाएर धम्की दिने र हाम्रो क्षति पुर्‍याउने विभिन्न प्रयास गरिरहेका छन्’, उनले भने, ‘उनीहरूको काम नै हरेक ६ महिनामा नयाँ लगानीकर्ता ल्याएर लगानी गराउने र पछि विभिन्न झमेलामा फसाएर खाली हात फिर्ता पठाउने हो ।’

आफूहरूसँग वैध सम्झौता कायम रहँदा–रहँदै पनि उनीहरूले अर्को व्यक्तिबाट एड्भान्स लिएका रिपनले बताए । आफूहरूलाई दबाब दिएर निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

‘​सम्मानित अदालतको फैसला आइसकेपछि पनि उनीहरूले अदालतको अवहेलना गर्दै हामीलाई विभिन्न किसिमले मानसिक तथा शारीरिक यातना दिएर जबर्जस्ती निकाल्ने प्रयास गरिरहेका छन्’, रिपनले भने । 

null

nullnull

salt training

कमेन्ट गर्नुहोस्