
प्रमुख चार व्यावसायिक संस्थाले बुटवलमा आयोजना हुने मेला, महोत्सव र औद्योगिक प्रदर्शनीलाई व्यवस्थित बनाउन साझा सहमति गरेका छन् ।
खासगरी बुटवल मण्डपमा हरेक वर्ष पुसमा आयोजना हुने औद्योगिक व्यापार मेला र औद्योगिक प्रदर्शनी प्रदेशकै ब्राण्ड बनेकाले यसको गरिमालाई कायम राख्न र समयसापेक्ष थप परिष्कृत बनाउन चार संस्थाले आपसमा सहकार्य गर्ने गरी साझा सहमति गरेका हुन् ।
उद्योग व्यापार संघ बुटवलको पहलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ र रूपन्देही व्यापार संघबीच भएको संयुक्त बैठकले पुस महिनामा सञ्चालन हुने औद्योगिक व्यापार मेला तथा औद्योगिक प्रदर्शनीलाई उच्च प्राथमिकता दिने सहमति जुटाएको हो ।
सहमतिअनुसार बुटवल मण्डपमा पुसमा आयोजना हुने औद्योगिक व्यापार मेला वा औद्योगिक प्रदर्शनीको तयारीका लागि कम्तीमा एक महिनाको अवधि आवश्यक पर्ने भएकाले सो अवधिभित्र प्रदर्शनी स्थलमा अन्य मेला, महोत्सव वा कार्यक्रम सञ्चालनका लागि अनुमति नदिन बुटवल उपमहानगरपालिकासँग अनुरोध गरिने छ ।
बुटवल उपमहानगरको आग्रहपछि उनीहरू सहमतिका लागि जुटेका थिए।
तीन दिनभन्दा बढी अवधिका मेला तथा महोत्सव अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन गर्न अनुमति दिन सम्बन्धित निकायसँग अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।
सहमतिपत्रमा उद्योग व्यापार संघ बुटवलका अध्यक्ष लोकनाथ पन्थी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रूपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुली र रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले हस्ताक्षर गरेका छन् ।
पछिल्ला वर्षहरूमा एउटै समयमा जोसुकैले विभिन्न मेला–महोत्सव सञ्चालन गर्ने अनुमति पाउँदा व्यापारिक गतिविधि विभाजित हुने, औद्योगिक व्यापार मेलाको प्रभाव घट्ने तथा प्रदर्शनी स्थल व्यवस्थापनमा समस्या देखिँदै आएको भन्दै अब साझा मापदण्डमार्फत त्यसलाई उद्देश्यमूलक, व्यवस्थित र मर्यादित बनाउने प्रयास गरिएको उनीहरूको भनाइ छ ।