०३ असार २०८३, बुधबार

डम्बरको गायनमा ‘ब्रेक थ्रु’ गर्ने गीत : ‘... तर अन्तिमपल्ट भेट्न आऊ–२’ ल्याउने तयारी

पुस ७, २०७५
डम्बरको गायनमा ‘ब्रेक थ्रु’ गर्ने गीत : ‘... तर अन्तिमपल्ट भेट्न आऊ–२’ ल्याउने तयारी

काठमाडौं – गायक डम्बर नेपाली । उनले २०६४ सालमा एउटा गीत तयार गरे । अनि केही साथीलाई पनि सुनाए । उनलाई छोएको गीतले साथीहरूलाई भने छोएन । 

‘मेरो जीवनबाट जाने भए जाऊ तर अन्तिमपल्ट भेट्न आऊ’ बोलको गीत सुनेर साथीहरू भन्थे, ‘त त पप गीत गाउने गायक, यो त पूरा फिल्मी छ । गीत पनि राम्रो छैन । नगा भो ।’

तर उनलाई गीतको शब्दले छोएको थियो, संगीतले छोएको थियो । भन्छन्, ‘म बाटोमा हिँड्दा एउटा शब्द सोचिरहेको हुन्छु । एउटा संगीत सम्झेको हुन्छ । तर घर पुग्दा त्यो शब्द बिर्सन्छु, संगीत बिर्सन्छु भने त्यसले मलाई छोएन ।’

तर यो गीत उनले जुन दिन सोचे, उनको दिमागबाट कहिल्यै बाहिर जान पाएन । अन्नतः रेकर्ड गराए । गीतले नसोचेको सफलता पायो । धेरै संगीत प्रेमीको मुखमा गीत झुण्डियो । त्यो गीतको चर्चासँग चर्चामा आए, गायक डम्बर नेपाली ।

नसोचिएको गीतले हंगामा नै मच्याएसँगै उनको गायन यात्राको लय नै फेरियो । उनी देश तथा विदेशका कन्सर्ट तथा मेला महोत्सवमा व्यस्त बन्न थाले ।

उनी भन्छन्, ‘यो गीत मलाई खास चिनाउने, मेरो नामको अगाडि गायक विशेषण थपिदिने गीत भन्न चाहन्छु ।’

यद्यपि उनले त्यसअघि २०६१ सालमा गाएको ‘मेलोडी’ एल्बममा समावेश ‘आज आकाशमा एउटा तारा देखिन’ बोलको गीतलाई पनि संगीतप्रेमीले रुचाएका थिए । तर दोस्रो एल्बम ‘मलाई’मा समावेश ‘... तर अन्तिमपल्ट भेट्न आऊ’ले उनलाई रातारात चर्चामा ल्याएको थियो । 

उनी सम्झन्छन्, ‘सोच्दै नसोचेको सफलता मिलेको थियो ।’

... र प्रमोसनमा लागें

‘मलाई’ एल्मबमा अरु पनि धेरै गीतहरू समावेश थिए । जसमध्ये यस गीतलाई कम प्राथमिकतामा राखिएको थियो । शुरूमा त यस गीतलाई प्रमोसन नगर्ने सल्लाह भएको रहेछ कम्पनीको र डम्बरको । एल्बम सार्वजनिक लगत्तै डम्बर सांगीतिक कार्यक्रमको सिलसिलामा कतार गए ।

त्यहाँ उनले दोस्रो एल्मब बोकेर गएका थिए । उनी सम्झन्छन्, ‘त्यहाँ जाँदा एल्बमका गीतहरू सुनेर प्रायःले यही गीतलाई बढी रुचाए । अनि नेपाल आएर मात्र यस गीतको प्रमोसनमा लागें ।’ उनी गीतको शब्दले युवापुस्तालाई छोएको हुनाले धेरैले रुचाएको बताउँछन् ।

ब्यान्डबाट शुरू भएको गायन यात्रा

मोरङ जिल्लामा जन्मेका डम्बर सानैदेखि गीत गुनगुनाउँथे । गाउँमा हुने सानातिना कार्यक्रममा उनले गीत गाउँथे । पारिवारिक वातावरण नभएपनि उनलाई गीतसंगीतले सानैदेखि तानेको थियो । 

गाउँमा गीत गाउन साथीभाइले प्रोत्साहन गर्थे । त्यहीँ प्रोत्साहनले नै उनलाई संगीततर्फ लाग्न प्रेरित गरिरह्यो । 

गायन प्रतिको मोहले साथीभाइसँग मिलेर स्थानीय ब्याण्ड बनाए – द रेज ब्यान्ड । २०५८ सालमा मोरङको उर्लाबारीमा ब्यान्डले सांगीतिक कार्यक्रम गर्न थाल्यो । डम्बर त्यहाँ गीत गाउन थाले । ब्यान्डबाट उनले एउटा गीत पनि गाएका थिए ।

तर पछि ब्यान्ड फुट्यो अनि डम्बर अब ‘सोलो’ एल्मब निकाल्नुपर्छ भन्नेमा लागे । त्यसपछि उनी २०६१ सालमा काठमाडौं आएर पहिलो एल्मब ‘मेलोडी’ रेकर्ड गराएका थिए । त्यसको ३ वर्षमा उनले दोस्रो एल्मब ‘मलाई’ निकालेका थिए, जसबाट डम्बर चर्चामा आएका थिए । 

‘... तर अन्तिम पल्ट भेट्न आऊ–२’ को तयारी

डम्बरका हालसम्म ५ वटा एल्मबमा ३ दर्जन बढी गीत बजारमा आएका छन् । त्यसबाहेक चलचित्रका गीतमा पनि उनले काम गरिरहेका छन् । ‘कि छाड उसलाई कि मार मलाई’, ‘ब्रिग्रेको मान्छेको भत्केको घर’ लगायत डम्बरका चर्चित गीत हुन् । 

तर यी गीतमध्ये संगीत प्रेमीले डम्बरलाई बढी मात्रामा ‘... तर अन्तिमपल्ट भेट्न आऊ’बाट चिन्छन् । मेला महोत्सव तथा कन्सर्टमा उनलाई यो गीत नगाई सुखै हुँदैन । 

उनका गीत जतिले सुने र हेरे उनलाई भने कमैले चिन्छन् । उनले धेरै अनुभव संगालेका छन्, आफ्नो परिचय दिँदा आफूले गाएका गीतको सन्दर्भ जोडेको । 

आफ्नो नामलाई गीतको लोकप्रियताले छोपेकोमा डम्बर दुःखी भने छैनन् । ‘गीतबाट आफूलाई चिनाउन पाउँदा पनि खुशी नै छु,’ उनी भन्छन्, ‘गीत मैले आफैंले सोचेको, आफैंले लेखेको सिर्जना हो । मेरो कला, मेरो सिर्जनाबाट म चिनिनु भनेको त मेरो लागि भाग्यको कुरा हो ।’

गीतको लोकप्रियताकै कारण उनी ‘... तर अन्तिमपल्ट भेट्न आऊ–२’ ल्याउने तयारीमा लागेको बताउँछन् । ‘यो गीत मेरो छैठौं एल्बममा समावेश गर्नेछु । जुन अब चाँडै नै स्रोता दर्शकमाझ आउने छ ।’

salt training

कमेन्ट गर्नुहोस्