०७ असार २०८३, आइतबार

दीपकराज जोशीका कारण सर्वोच्चका न्यायाधीशलाई ‘डिस्टर्ब’, चेम्बर खोसिएपछि घरमा ध्यान गर्दै जोशी

पुस १९, २०७५
दीपकराज जोशीका कारण सर्वोच्चका न्यायाधीशलाई ‘डिस्टर्ब’, चेम्बर खोसिएपछि घरमा ध्यान गर्दै  जोशी

काठमाडौं –संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका न्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतमा पेशी पाउन छाडिसकेका छन् । 

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘संसदीय सर्वोच्चताको सम्मान’ भन्दै पदभार सम्हालेको दिनदेखि नै जोशीका लागि पेशी तोकेका छैनन् । 

बुधवार सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदभार सम्हालेका राणाले जोशीलाई राजीनामा दिएर ‘मार्ग प्रशस्त’ गर्न आग्रह गरिसकेका छन् । तर जोशी भने आफू प्रधानन्यायाधीशमा अस्वीकृत भएपनि न्यायधीशका रूपमा काममा रहिरहने अडानमा छन् । 

जोशीको चेम्बर सारियो 

जोशी यसअघि सर्वोच्च अदालतको मूख्य भवनअन्तर्गत इजलाश नम्बर १ को चेम्बरमा बस्ने गर्दथे । सर्वोच्चका वरिष्ठतम् न्यायाधीशले प्राय १ नम्बर इजलाशको चेम्बर पाउँछन् । 

तर राणाले इजलाश नदिएपछि जोशी बुधवारदेखि चेम्बरमा बसेर घर फर्किने गर्दथे । बिहीवार भने सर्वोच्च अदालत प्रशासनले जोशीको चेम्बर नै सारिदिएको छ । 

‘जोशी श्रीमानले इजलाश नपाउने भएपछि १ नम्बर इजलाशमा अन्य श्रीमानले पेशी हेर्ने हुनुभयो,’ सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो, ‘उहाँले चेम्बरमा बसिरहँदा अन्य श्रीमानलाई इजलाशमा छिर्नै समस्या भयो । त्यसैले उहाँको चेम्बर सारिएको छ ।’

सर्वोच्च प्रशासनले जोशीको चेम्बर सर्वोच्च अदालतको एनेक्स भवनमा स्थानान्तरण गरेको छ । जोशी बस्ने चेम्बर भने सर्वोच्चका न्यायाधीश दीपकुमार कार्कीले पाएका छन् । वरिष्ठताका हिसाबले कार्की जोशी पछिको दोस्रो वरीयताका न्यायाधीश हुन् । 

सर्वोच्चबाट फर्केर घरमा ध्यान गर्दै जोशी     

नवनियुक्त प्रधानन्यायाधीश राणाले पेशी नतोक्ने घोषणा गरेपनि न्यायाधीश जोशीले आफू नियमित रूपमा सर्वोच्च आउने जनाएका थिए । बुधवार लोकान्तरसँगको कुराकानीमा जोशीले आफू न्यायाधीशमा अस्वीकृत नभएकाले नियमित रूपमा सर्वोच्चमा हाजिर हुने बताएका थिए । 

बिहीवार पनि जोशी नियिमितजस्तै सर्वोच्च पुगेका थिए । तर उनी पुग्दा सर्वोच्चका कर्मचारीहरू उनको कार्यकक्षका सामान एनेक्स भवनमा सार्दै थिए । जोशीले कर्मचारीसँग जिज्ञासा राख्दा आफ्नो चेम्बर सारिएको जानकारी पाए । आफ्नो चेम्बर सारिएपछि कार्यालयमा हाजिर मात्रै गरेर घर फर्किए । 

जोशी घर फर्किएपछि ध्यानमा रहेको उनको पारिवारिक स्रोतले लोकान्तरलाई जानकारी दियो । जोशीको चेम्बर सारिएको विषयमा बुझ्न खोज्दा उनको पारिवारिक स्रोतले भन्यो, ‘उहाँ बिहानै कार्यालय गएर घर फर्किनुभएको थियो । अहिले उहाँ ध्यानमा हुनुहुन्छ ।’

कमेन्ट गर्नुहोस्