नेकपा एमालेका शीर्ष नेताहरूको लागि आफ्नै देशको भूमि ’मधेस’ लगभग बिरानो भइसकेको थियो । लामो समयदेखि उनीहरूले मधेसमा औपचारिक रूपमा उपस्थिति जनाउन सकेका थिएनन् ।
मधेस एमालेको निम्ति राजनीतिक मुद्दाको सबैभन्दा पेचिलो भूमि हो । दोस्रो संविधानसभाको चुनाव सम्पन्न भएपछि एमालेले आफ्नो घोषणापत्रकै विरुद्धमा भाका फेर्न थालेको थियो । मधेस आन्दोलनसँगै अन्तरिम संविधानमा लेखिएका बुँदाहरू एमालेकै कारण संविधानमा मेटियो । फलस्वरूप एमालेका निम्ति मधेस जाने बाटो बन्द भयो ।
पछिल्लो समय विश्वमा देखापरेको ’पपुलिजम’ को सन्दर्भमा एमाले नेताहरू राम्रैसँग जानकार छन् । यो मुलुकमा नेताहरू पपुलर बन्नका निम्ति विकास निर्माणको जगमा जनताको मनमा खुशियालि ल्याउनै पर्दैन, भारतलाई गाली गरे पुग्छ । खासगरी नाकाबन्दीपछि नेपाली जनताको ‘इमोसनल सेन्टिमेन्ट’ क्याच गर्न एमाले सफल भयो ।
सफलताको जग
केपी ओलीको रंगभेदी उखानटुक्का र खासगरी मधेसी समुदायलाई लक्षित चरम रंगभेदी अतिवादी घृणा फैलाएर ओलिले ‘एलिट र भुइँफुट्टा’ तहको पपुलारिटी संकलन गरे ।
मधेसी समुदायको आत्मसम्मानमा ठेस पु–याउँदै निर्माण गरेको पपुलारिटि जोगाउनको लागि ओलीसँग केही विकल्पहरू थिए । जस्तो कि, ‘रातो सूर्य’ चलचित्रको चाँडोभन्दा चाँडो छायाङ्कन सम्पन्न गर्नु, ‘म प्रधानमन्त्री हुँदा’ नामक पुस्तकको सार्वजनिक गर्नु र मधेसी भूमिमा पाइला टेकेर, भाषण गरेर लोकवासीलाई देखाउनु ।
उनलाई आफ्नो राजनीतिक इतिहास केवल कुख्यात डन ‘चरी’सँंग मात्रै जोडिन्छ कि भन्ने डर छ । डरको अगाडि जीतको सपना संगालेर अन्ततः ओलीले मेची–महाकाली राष्ट्रिय अभियानको घोषणा गरेरै छाडे ।
पक्कै पनि यो एउटा राजनीतिक घोषणा थियो । स्थानीय तहको निर्वाचन मिति घोषणा भइसकेको सन्दर्भमा यस्ता गतिविधिहरू स्वाभाविक हुन्छन् । लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलले सभासम्मेलन गर्न पाउँछन । तर राजनीतिमा अनुकूलता र संवेदनशीलताको ठूलो महत्त्व हुन्छ ।
संविधान कार्यान्वयन, राष्ट्रिय एकता र सद्भावको नारासहित १५ दिने मेची महाकाली राष्ट्रिय अभियान चलाउन सक्ने एमालेले के कति कारणले मधेसी जनताहरू असन्तुष्ट छन् ? त्यो पत्ता लगाउनुको साटो पृथ्वीनारायण शाहको बाँकी कार्यभार पूरा गर्छौं भन्ने चटके नारा उद्घोष ग–यौं ।
लेखक मगरअभियानको उद्घाटनपश्चातको सम्बोधनमा ओलीले संविधान संशोधन प्रस्ताव राष्ट्रिय हितविपरीत रहेको बताइरहेका थिए जबकि त्यही मुद्दाका लागि मधेसवादी दलहरूले लामो सडक संघर्ष गरेका छन् । र ओली सरकारकै पालामा मधेसमा कैयौं नागरिकको मृत्यु भयो । त्यसलाई ओलीले आँप खसेको भनेर एकदमै अराजनीतिक टिप्पणी गरेका थिए । कहिले माखेसाङ्लो भन्ने, कहिले चारजना केटाले हातमा कालो टालो देखाउँदैमा केही हुन्न भन्ने, वास्तवमा एउटा राष्ट्रिय नेताबाट यो स्तरको ‘साम्प्रदायिक’ अपेक्षा मधेसी जनताले गरेका थिएनन् ।
कोशी ब्यारेज तरेपछि...
जान्ने सुन्नेहरू के भन्छन् भने एमालेले गरेका जनसभाहरू छापामार शैलीमा थिए । उनीहरूलाई जतिसक्दो चाँडो कार्यक्रम सक्ने र सम्भावित अवरोध छिचोल्ने भन्नेबाहेक अरू चिन्ता थिएन किनभने काठमाडौं सन्देश पर्खेर बसिरहेको थियो । ‘हेर, हामी मधेस गएर देखाइदियाैं’ भनेको सुनिदिने आखिर काठमाडौं थियो ।
प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहाल प्रचण्ड र मधेसवादी दलका नेताहरूले मधेसका जनता भड्किरहेको यो संवेदनशील अवस्थामा एमालेका नेताहरू मधेस जानु उचित नहुने सुझाव भालुलाई पुराण जस्तै भयो ।
बरू उल्टै मधेस कसको बाउको बिर्ता हो ? जस्ता उत्तेजित वक्तव्यबाजीहरू बाहिर आए । लोकतन्त्रका सैद्धान्तिक परिभाषाहरू सुनिन थाले । जसरी भएपनि एमाले सप्तरीमा पुग्ने नै भयो । प्रचण्डलाई सप्तरीमा कुनै अप्रिय घटना होला भन्ने कुराको पूर्वअनुमान नभएको होइन ।
रौतहटको गौरमा २०६३ साल चैत ७ भएको घटना कसैले बिर्सेका छैनन् । यस्तो पूर्वअनुमान किन थियो भने त्यस क्षेत्रका सुरक्षा प्रमुखहरूको रिपोर्टिङ समेत सन्तोषजनक थिएन । प्रचण्डले गृहमन्त्री लगायत कार्यवाहक आईजीपीलाई गोली नचलाउन भनेर आदेश दिएको कुरा मिडियामा आइसकेको थियो ।
देशभरिबाट जम्मा गरेका आफ्ना कार्यकर्ताको दलबलसहितको –याली सुनसरीबाट सप्तरीको लागि हिँडेपछि मोर्चाका कार्यकर्ताले एउटा गाडीमा ढुङ्गा हानेका थिए । पुर्वसभासदले एमालेको गाडीमा चप्पल प्रहार गरिन् । कोशी ब्यारेजको पुल तरेपछि सुरक्षा निकायले सबैलाई रोकेर एकसाथ पठाएको थियो । बीचबीचमा स्कर्टिङका गाडीहरू थिए । वास्तवमा एउटा राजनीतिक पार्टीको लागि यति ठूलो सुरक्षा व्यवस्था गर्नु स्वाभाविक र शोभनीय पक्ष थिएन । मधेस कसैको पेवा होइन भने राज्यका सुरक्षा निकाय पनि कसैका पेवा होइनन् ।
कोशी तरेर सप्तरीको भारदह पुगेपछि एमालेले सोचेजस्तो अनुकूल अवस्था देखेन । मोर्चाका केही कार्यकर्ताले कालो झण्डा देखाए, त्यो पनि प्रहरीको सुरक्षाघेरामा रहेर । भारदहमा यसभन्दा अगाडिको मधेस आन्दोलनको क्रममा पाँचजनाको निधन भएको थियो । त्यही ठाउँमा मोर्चाका कार्यकर्ताको उपस्थिति एकदमै न्यून देखेपछि एमाले कार्यकर्ता हौसिए । तर कार्यक्रमस्थलभन्दा केही मिटर पर खेतमा सयौं मधेसी युवाहरूले नाराबाजी गरिरहेका थिए । कार्यक्रमस्थलबाहिर मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच पहिलादेखि नै ढुङ्गा हानाहान भइरहेको थियो ।
खेततिर छरिएर रहेका मोर्चाका कार्यकर्ता कार्यक्रमस्थलबाट टाढा भएपनि राजविराज रुपनी सडकखण्डमा भने औद्योगिक क्षेत्रको कम्पाउन्डनजिक नै प्रहरीसँग सामान्य मुठभेड भइरह्यो । खेत र घरमा लुकेर बसेका मोर्चाका कार्यकर्ताहरू प्रहरीलाई ढुङ्गा हानिरहेका थिए । जवाफमा प्रहरीले पनि ढुङ्गा हानिरहेका थिए । प्रहरी मोर्चा कार्यकर्ताहरूबीच लुकामारीजस्तै चलिरहेको प्रत्यक्ष देखिएको थियो । त्यसपछि के भयो ? म यो स्टोरीमा समेट्न चाहन्न किनभने सरकार, एमाले र मोर्चाको तर्फबाट घटनाक्रमको फेहरिस्त आइसकेको छ ।
ओलीको उत्तेजना
पछिल्लो समय एमाले अध्यक्ष ओलीका हरेक सम्बोधन कहीँ न कहीँ कुनै समुदाय विशेषलाई लक्षित गरेर प्रहार भएको सुन्न सकिन्छ । अल्पमतमा होस् वा बहुमतमा कुनै पनि देशको आदिवासी तथा जनजातिहरू त्यो देशका पहिचान हुन् । सबै जानजातिको भाषा, धर्म, भेषभूषा मिलेर एउटा सुन्दर राष्ट्रियताको निर्माण हुनसक्छ । तर यो सवालमा ओलीको विचार निकै भिन्न छ जसले उनको राजनीतिक दृष्टिकोण र अध्ययनमाथि निकै ठूलो प्रश्नचिह्न खडा गरेको छ । एमालेभित्रका घनश्याम भुसालहरू नै ओलीको भनाइसँग सहमत देखिँदैनन् ।
समाचारमा आएअनुसार सप्तरीको राजविराजमा ओलीले भाषण गर्दै भनेका थिए ‘कालो झण्डा होइन, सूर्य भएको र रातो झण्डा बोक्न आऊ ।’ हो, यो तर्क सही हुनसक्छ । तर राज्यविरोधी वा उत्पीडित समुदायलाई फकाउने तरिका यस्तो हुँदैन । कम्तीमा नेताको शैली त यस्तो हुँदै हुन्न । ओलीको भाषणपछि बाहिर केही गडबड भएको सङ्केत भित्र पनि आउन थालेको कुरा मिडियाहरूले उल्लेख गरेका छन्, जस्तो कि प्रहरीले भित्र भएका प्रहरीलाई बोलाएर बाहिर लग्यो । ओली बोली रहँदा बाहिर गडबड भएको एमाले नेताहरूलाई पनि थाहा भयो ।
काठमाडांैमा पनि मधेसवादी दलहरूसँग छलफल गर्दा ओलीले मधेसको मुद्दाप्रति एकदमै कम महत्त्व दिने गरेको जानकारहरू बताउँछन् । जसरी पनि पेलेरै जाने वा अगाडि बढ्ने ओली प्रवृत्तिले देशमा संकट निम्त्याउँछ ।
हामीलाई शान्ति र संविधान चाहिएको छ । यो मुलुकलाई अखण्ड राख्नुपरेको छ । त्यसका निम्ति हरेक समुदायको भावनालाई सकेसम्म समेटेर अगाडि बढ्नुपर्दछ । हामीले राजनीतिक परिवर्तन हासिल गरेका छौं । यी परिवर्तनलाई संस्थागत गर्नका निम्ति संविधान संस्थागत हुन अपरिहार्य छ । त्यो भनेको संविधानमा सयमानुकूल संशोधन नै हो ।
केपी ओलीजीलाई के कुरा थाहा छैन भने मधेसमा जुन विखण्डनकारी शक्तिको उदय भइरहेको छ, तीभन्दा हजार गुणा देशको माया गर्ने मानिस हुन् महन्थ ठाकुर र उपेन्द्र यादव । अरू पनि छन्, यी नाम त उदाहरण हुन् । यी शक्तिलाई समेत चिढ्याउने हो भने मधेस विखण्डनकारीको पहुँचमा जाने निश्चित छ । अनि हाम्रो सीमास्तम्भ हराउने निश्चित छ । यो यथार्थलाई ओलीले बुझ्न नसक्नु विडम्बना हो ।
ओलीजीको राष्ट्रवादको समीक्षा हुन जरूरी छ । आफूले गरे सबै ठीक, अरूले गरे बेठीक भन्ने उहाँमा दम्भ छ । प्रदेशको सीमांकन हेरफेर गर्ने कुरा प्रचण्ड सरकारको पालामा भएको विषय होइन । स्वयं ओलीजीले हस्ताक्षर गरेको विषय हो । सीमाङ्कन यो राम्रो, त्यो राम्रो भन्दा पनि कम्तीमा ओलीजी संघीयताको मुद्दामा त प्रस्ट देखिनुप–यो नि ! जब दिमागमा संघीयता नै छैन भने देशको सीमाङ्कनलाई कसरी प्रभावकारी रूपमा हल गर्न सकिन्छ ? अझै पनि उहाँमा ‘बयलगाडा’को सम्झना छ भने त्यसलाई बिर्संदा जगतैको भलो होला ।
संघीयता आफूहरूले बाध्यताले स्वीकार गरेको अभिव्यक्ति दिने ओलीजीको मुद्दा गणतान्त्रिक नेपालको हो कि हैन ? यो संविधानमा नेपालको परिभाषामा के लेखिएको छ ? आफूले बनाएको संविधानको व्यवस्थाविपरीत बोल्ने कुरा कहाँसम्मको घटियापन हो ? के नेपाल संघीय गणतान्त्रिक देश हैन ? विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिको भूमि हो भने ‘एकल नश्लीय’ चिन्तन बदल्दा के हुन्छ ?
ओली र गोलीको फ्युजन
मुलुक तीन तहकै निर्वाचनमा अग्रसर छ । त्यसका निम्ति तयारीहरू हुँदै छन् । निर्वाचन हुन नदिन परिवर्तनविरोधी शक्तिहरूको चलखेल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले यस विषयलाई बारम्बार औल्याउँदै आएका छन् । ओलीलाई मधेसवादी दलहरूसँग वार्ता गरेर संविधान संशोधनको एउटा टुङ्गोमा पुगेपछि मधेस जान आग्रह भएको हो । तर ओलीलाई यो आग्रह मन परेन । फलस्वरूप, एमालेको मेची–महाकाली अभियानका क्रममा सप्तरीमा झडपको स्थिति आयो । मधेसी मोर्चाका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा चारजना युवकको मृत्यु भयो ।
सप्तरीमा सोमवार जे घटना भयो, त्यसमा केपी ओली जिम्मेवार छन् । बाहिर विरोध हँुदा नेताले संवेदनशीलता देखाउन सक्नुपर्थ्यो किनभने ओली एमाले नेता मात्र हैनन्, यस मुलुकको पूर्वप्रधानमन्त्री हुन् । ‘राजनेता’ दाबी गर्ने नेताले पार्टी हितभन्दा देशको हितलाई ज्यादा ध्यान दिनुपर्छ । ओलीका हरेक बोलीमा गोली मिसिएको हुन्छ ।
ओलीको मुखारविन्दबाट एकदमै निकम्मा, अराजनीतिक, निराधार, गैरजिम्मेवार र लज्जास्पद बोली निस्कन्छ । नेकपा एमालेले सप्तरीको कार्यक्रममा आफ्ना पार्टीका शीर्ष नेताहरूको सामूहिक हत्या गर्ने योजना रहेको भनेर काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । कार्यक्रम सकेर राजमार्गतर्फ जाने क्रममा घेरा हाली सामूहिक हत्याको प्रयास भएको एमालेको दाबी छ । यस विषयमा सरकारले आवश्यक छानबिन गर्नुपर्छ । गृहमन्त्री विमलेन्द्र निधिले कुनै हालतमा गोली नचलोस् भन्ने चाहेको बताएका छन् ।
प्रचण्डले पनि त्यहाँ गोली नचलाउन भनेको बताएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनका वाबजुद किन गोली चल्यो ? किन संयम अपनाउन सकिएन ? त्यो विडम्बना नै रह्यो । सप्तरी घटनापछि पनि एमालेले भोलिदेखि फेरि अभियान शुरु गर्ने बताएको छ । आशा गरौं, सप्तरीमा जस्तो घटना अन्यत्र फेरि नहोस् ।