
काठमाडौं – जोखिमपूर्ण काम गर्न ५–६ वर्षको कलिलो उमेरदेखि नै रुचाउँथे दिनेश सुनार ।
सडकमा दौडिन थालेसँगै उनी पर्खालमा चढ्न खोज्थे, दौडिन खोज्थे । पछि खोला, पोखरी, बालुवामा उल्टे– सुल्टे जिम्न्यास्टिक हान्थे ।
बाल्यकालदेखि नै उनमा त्यो किसिमको गुणको प्रभाव थियो । ‘गाई बाख्रा चराउन जाँदा म उल्टे–सुल्टे जिम्न्यास्टिक हान्थें, साथीहरूसँग खेल खेल्दा पनि खेलभन्दा यतैतर्फ बढी ध्यान जान्थ्यो,’ दिनेश सम्झन्छन् ।
उनलाई सानोमा सामान्य चोट त कति लाग्यो कति । एक पटक त हात नै भाँचे उनले । ‘कक्षा पाँचमा पढ्दै गर्दा जिम्न्यास्टिक हान्दा हात भाँचेको थिए,’ उनी भन्छन्, ‘त्यो बेला नचाँहिदो काम नगर भनेर परिवारबाट खुबै गाली खाएको थिए ।’
२०४८ सालमा खोटाङको राजापानीमा जन्मेका दिनेशले परिवारको गालीलाई वास्तै नगरी आफ्नो रुचिमा रमाउँदै गए । २९ वर्षीय दिनेशको असामान्य कलाले सबैलाई आश्चर्यचकित बनाएको थियो ।
बाल्यावस्थामै उनी टोल–छिमेक, विद्यालय र सिंगो गाउँमै परिचित भइसकेका थिए । पर्खाल, खोला, पोखरी, बगरमा उफ्रिने–उल्टिने दिनेश आज नेपाली ‘पार्कर’का रुपमा परिचित छन् । ‘पार्कर’ जिम्न्यास्टिकको परिस्कृत नाम हो । उनका अनुसार एउटा बिन्दुबाट अर्को बिन्दुमा जाँदा आउने कठिनाइलाई सजिलै समाधान गरेर ठाउँमा पुग्नुलाई नै ‘पार्कर’ भनिन्छ ।
त्यहीँ कलाले उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा २ पटक नाम लेखाउन सफल भएका छन् । तेस्रो रेकर्डको तयारीमा छन् । नेपाली चलचित्रमा पनि उनको कला बिकेको छ । उनी जिम्न्यास्टिकका राष्ट्रिय खेलाडी समेत हुन् । दिनेश सशस्त्र प्रहरी जवान समेत हुन् ।
पूर्वआईजीपी बस्नेत, जसले दिनेशलाई गाउँबाट काठमाडौं ल्याए
दिनेश ८ वर्षअघि २०६७ सालमा ९ कक्षामा पढ्थे । त्यतिबेला उनको गाउँ नजिकै सापातेलमा खुला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
भलिबल प्रतियोगिता हेर्न सशस्त्र प्रहरी बलका तत्कालीन महानिरीक्षक सन्तकुमार बस्नेत पनि जन्मथलो पुगेका थिए । भलिबलसँगै अन्य प्रतिभा प्रस्तुत भएका थिए । दिनेशले जिम्न्यास्टिकका आकर्षक ‘स्टन्ट’ प्रस्तुत गर्ने मौका पाए ।
त्यहीँ मौकाबाट दिनेशले अर्को मौका पाए । महानिरीक्षक बस्नेतलाई दिनेशको ‘स्टन्ट’ले मोहित बनायो । उनले दिनेशलाई काठमाडौं बोलाए । दिनेशमा खुशीको सीमा रहेन । उनले एसएलसी दिएपछि २०६९ सालमा काठमाडौं आएर महानिरीक्षक बस्नेतलाई भेटे ।
महानिरीक्षक बस्नेतले दिनेशलाई सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा जिम्न्यास्टिक खेलाडीको रुपमा जागिर लगाइदिए । ‘त्यहाँ मैले ६ महिना काम गरें । पछि जागिर खुलेपछि सशस्त्र प्रहरी जवान भए,’ उनले भने ।
अहिले उनी सशस्त्र प्रहरी जवान भएर देशको सेवा गर्न लागेको पनि ६ वर्ष बढी भइसकेको छ ।
२ पटक विश्व रेकर्ड, तेस्रो रेकर्डको तयारी
काठमाडौं आइसकेपछि दिनेशले यूट्युबमार्फत् ‘पार्कर’बारे अझ बढी बुझ्ने मौका पाए । उनले यूट्युबमा ‘पार्कर’ सम्बन्धी भिडियो हेरे । भिडियो हेर्ने क्रममा ‘पार्कर’ले बनाएका विश्व रेकर्ड पनि हेरे ।
त्यसपछि उनलाई विश्व रेकर्डबारे चासो बढ्दै गयो । केही समयको तालिमपछि उनले सन् २०१७ मा ‘ट्वीस्टिङ ब्याक’ (भित्तामा टेकेर उल्टो उफ्रिने) फ्लिप पार्कर फ्रि स्टाइल विधामा १ मिनेटमा १८ पटक उल्टो उफ्रेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भए ।
सन् २०१८ मा ब्याक फ्लिप विधामा ३० सेकेन्डमा १६ पटक उल्टो उफ्रेर गरेर नयाँ रेकर्ड कायम गर्दै गिनिज बुकमा दोस्रो पटक आफ्नो नाम दर्ज गराउन सफल रहे । यी रेकर्डसँगै दिनेश नेपालको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने पहिलो ‘पार्कर’का रुपमा परिचित बन्न पुगे ।
अहिले दिनेश तेस्रो रेकर्डको तयारीमा लागेका छन् । उनी विश्व रेकर्डमा नाम लेखाउन र आफ्नो कलालाई सबैसामु पुर्याउनमा सशस्त्रबाट सदैव ठूलो सहयोग मिलेको बताउँछन् ।
फिल्ममा नायिकाको भेषमा ‘स्टन्ट’
दिनेशको जिम्न्यास्टिक अर्थात् ‘पार्कर’को चर्चा यत्रतत्र हुँदै सिने नगरीमा पनि पुग्यो । निर्माता निर्देशकले चाहेको एक्सन गर्न नेपालमा सीमित नायिकाले मात्रै सक्छन् । निर्माता निर्देशकहरूले दिनेशलाई ‘स्टन्ट म्यान’ भूमिका दिन चाहे, त्यो पनि नायिकाको भेषमा ।
त्योसँगै दिनेशले थुप्रै चलचित्रमा आफ्नो कला बिकाउने मौका पाए । दिनेशले झण्डै ३ दर्जन चलचित्रमा ‘स्टन्ट म्यान’को भूमिका निर्वाह गरेका छन् ।
‘नेपाली चलचित्र हँसिया, हवल्दार सुन्तली, किस्मत २, साउथ इण्डियन दशका दम लगायतका चलचित्रमा मैले हिरोइनहरूको स्टन्ट म्यानको रुपमा काम गरेको छु,’ दिनेशले भने ।
हिरो बन्ने सपना, चलचित्रमा क्षमता प्रदर्शन गर्ने इच्छा
बाल्यकालमा दिनेशको सपना हिरो बन्ने थियो । नेपाली–हिन्दी फिल्म हेरेर उनले एक्सन सिक्थे । ‘नेपालीमा निखिल उप्रेतीका चलचित्र बढी हेर्थें । सोच्थें ठूलो भएर उहाँजस्तै बन्छु,’ उनी सुनाउँछन् । उनले निखिलको पिँजडा, कर्मयोद्धा, पापीमान्छे लगायतका चलचित्र दोहर्याइँ–तेहर्याइँ हेरेको बताउँछन् । अहिले भने दिनेशमा हिरो बन्छु, हिरो बनेर चिनिन्छु भन्ने सपना छैन । तर आफ्नो कला नेपाली चलचित्रमा बिकोस् भन्ने चाहन्छन् ।
‘पार्करको नयाँ खालको एक्सन नेपाली चलचित्रमा भित्र्याउने इच्छा छ । फिल्ममार्फत् पनि नेपालको नाम अन्तर्राष्ट्रिय स्तरसम्म पुगोस्,’ दिनेश सुनाउँछन् ।
राज्यको चासो पुग्नु जरुरी
दिनेश आफ्नो काममा सेकेन्ड–सेकेन्डमा जोखिम रहेको बताउँछन् । ‘यो धेरै जोखिम काम हो । एक स्थानबाट अर्को स्थानमा जाँदा ग्याप भयो भने जे पनि हुन सक्छ,’ दिनेश भन्छन्, ‘तर निरन्तरको संघर्षले आत्मविश्वासका साथ काम गर्ने भएको छु ।’
नेपालमा जिम्न्यास्टिकका लागि सरकारी पक्षबाट सुविधा नभएपनि आफूले प्रयास गरेको दिनेशको भनाई छ । जोखिमपूर्ण काम भएपनि आत्मरक्षाका लागि पनि आवश्यक रहेको दिनेश बताउँछन् ।
दिनेशको काठमाडौंमा पार्करको ट्रेनिङ सेन्टर खोल्ने इच्छा छ । ‘जसमार्फत् राम्रा–राम्रा खेलाडी उत्पादन गर्न सकियोस् । नेपाली चलचित्रका नायक–नायिकालाई पनि तालिम दिन सकियोस्,’ उनले भने ।
‘ट्रेनिङ सेन्टर खोल्ने ठूलो धोको छ । नेपालका खेलाडीले तालिम पाउने हो भने यही खेलका माध्यमबाट नेपालको नाम अझ विश्वभर चिनाउन सकिन्छ । नेपाली चलचित्रमा पनि यसको प्रयोग बढ्ने छ । सेल्फ सुरक्षाका लागि पनि यो आवश्यक छ,’ उनी भने, ‘मैले गर्ने भनेको खेलमार्फत् देशलाई चिनाए । त्योबाहेक म एक्लैले केही गर्न सक्दैन । सरकार तथा विभिन्न संघसंस्थाको पनि ध्यान जान जरुरी छ ।’