०३ असार २०८३, बुधबार

ठूलो पर्दातर्फ हास्य कलाकार : दीपक–दीपापछि ‘धुर्मुस–सुन्तली’ र ‘भद्रगोल’ टीम

माघ १६, २०७५
ठूलो पर्दातर्फ हास्य कलाकार : दीपक–दीपापछि ‘धुर्मुस–सुन्तली’ र ‘भद्रगोल’ टीम

काठमाडौं – मह सञ्चारको प्रस्तुतिमा निर्मित चलचित्र ‘दाल भात तरकारी’ आउँदो वर्ष २०७६ को वैशाख १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । किरण केसी प्रस्तुतकर्ता रहेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल लगायतका हास्य कलाकारको लगानी छ । 

यही टिमले गतवर्ष चलचित्र ‘शत्रुगते’ निर्माण गरेको थियो । उक्त चलचित्रको सफलतासँगै यो टीमले ‘दाल भात तरकारी’ निर्माण गरेको हो । 

यता दीपकराज गिरी, दीपाश्री निरौलाको टीमले लगातार चलचित्र निर्माण गरिरहेको छ । 

हास्य टेलिसिरियल तितो सत्य, मेरीबास्सै, जिरे खुर्सानीका अधिकांश हास्य कलाकार एक ठाउँमा भएर आजभन्दा झण्डै ६ वर्षअघि चलचित्र ‘६ एकान ६’ निर्माण गरे । 

दीपक, दीपादेखि सीताराम कट्टेल, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्मल शर्मा लगायतका कलाकार यसमा संलग्न थिए ।

त्यसपछि यही टिमले ‘वडा नं. ६’ निर्माण ग¥यो । यसमा पनि शुरूका धेरै हास्य कलाकार संलग्न रहे । त्यसपश्चात यीमध्येबाट सीताराम कट्टेल र उनकी श्रीमती कुञ्जना घिमिरे चलचित्रमा देखिएनन् र समाज सेवामा लागे ।
दीपक, दीपा, केदार, जितु भने निरन्तर चलचित्र क्षेत्रमै सक्रिय रहे । 

यो टीमले ‘वडा नम्बर ६’ पश्चात ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ हुँदै ‘छक्का पञ्जा ३’ निर्माण ग¥यो । चलचित्रले राम्रो कमाई गर्दै इतिहास पनि रच्यो । यो समूहले वर्षमा एउटा चलचित्र निर्माण गर्दै आएको छ । 

अहिले चलचित्र क्षेत्रमा सबैभन्दा बढी दबदबा हास्य कलाकारहरूकै देखिन्छ । हरिवंश, मदनकृष्ण, केदारको समूह र दीपक, दीपा, केदार र जितुको समूहको चलचित्रलाई दर्शकले सर्वाधिक रुचाउँदै पनि आएका छन् ।
यही भीडमा अब अन्य हास्य कलाकार समेत मिसिँदै छन् ।

सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली) तथा हास्य टेलिसिरियल ‘भद्रगोल’ टीम पनि चलचित्र निर्माणमा लाग्ने भएको छ । ‘मेरीबास्सै’बाट लोकप्रिय बनेर पछिल्लो समय सामाजिक काममा व्यक्त धुर्मुस्–सुन्तली चलचित्र निर्माण गर्ने तरखरमा लागेका हुन् । 

लोकान्तरसँगको कुराकानीमा धुर्मुसले आफूहरू चलचित्र निर्माणको आन्तरिक तयारीमा रहेको बताए । चलचित्र निर्माण आफूहरूको पहिल्यैदेखिको चाहना भएको बताउँदै उनले सामाजिक काममा सक्रिय रहँदा चलचित्र निर्माण अलि पर धकेलिएको समेत बताए ।

‘चलचित्र निर्माण पहिल्यैदेखिको चाहना र उद्देश्य थियो’, उनले भने, ‘नेपाली चलचित्रलाई उद्योगकै रूपमा स्थापित गर्नुपर्छ, स्थापित हुनुपर्छ भन्ने मान्यताले काम गर्ने सोचमा छौं ।’ 

धुर्मुस–सुन्तली फाउण्डेसनले भरतपुरमा बनाउने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने कार्यक्रम छ ।

त्यसपश्चात केही दिनमै अन्य सामाजिक कामका प्रोजेक्टसहित चलचित्र निर्माणको औपचारिक घोषणा गरिने धुर्मुसले बताए ।

धुर्मुस–सुन्तलीले चलचित्र विकास बोर्डमा ‘एन्टी भाइरस’ नाममा चलचित्र दर्ता गराएका छन् । यद्यपि नाम परिवर्तन हुने सम्भावना रहेको धुर्मुस बताउँछन् । यी दुई अब केही वर्ष सानोपर्दामा भने देखिने मनस्थितिमा छैनन् । 

हास्य टेलीश्रृंखला ‘भद्रगोल’ लोकप्रिय टेलिसिरियल हो । ‘भद्रगोल’मा सक्रिय कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीम पनि अहिले चलचित्र निर्माणको तयारीमा छ । 

‘भद्रगोल’का निर्देशक तथा मुख्य पात्र कुमार कट्टेलले लोकान्तरसँगको कुराकानीमा आफूहरू लामो समयदेखि स्क्रिप्टको काममा लागिपरेको बताए । 

यद्यपि उनले चलचित्र निर्माणमा होमिएपनि पहिलो प्राथमिकता टेलिसिरियल नै हुने बताए । ‘भद्रगोललाई दर्शकले माया गरिरहनुभएको छ, चलचित्र निर्माण गरेपनि हाम्रो पहिलो प्राथमिकता सिरियल नै हुनेछ,’ उनले भने । 

पछिल्लो समय नेपाली चलचित्रको बजार ठूलो भइरहेको बताउँदै उनले टेलिसिरियल र चलचित्र दुवै दर्शकलाई खुसी दिने माध्यम भएको बताए । 

‘सिरियल बनाए पनि, फिल्म बनाए पनि दर्शकलाई खुसी दिने हो,’ कुमारले भने, ‘फिल्म र सिरियल एउटै–एउटै पाटो पनि हो । त्यसैले फिल्म निर्माणमा होमिने सोच बनाएका हौं ।’ उनले फिल्मका बारेमा धेरै कुरा खुलाउन भने चाहेनन् । 

सामाजिक शन्देशमूलक हास्य चलचित्र बनाउने विषयमा टीममा छलफल भइरहेको उनको भनाइ छ । टेलिसिरियल, फिल्मसंगै, सामाजिक काममा पनि सक्रिय रहने उनको योजना छ ।

यी बाहेक पनि टेली सिरियलबाट उदाएका धेरै हास्य कलाकारहरू ठूलो पर्दातर्फ होमिएका छन् ।

सानो पर्दाबाट उदाएका कलाकार पछि गएर कोही फिल्म निर्माण त कोही अभिनयमा आफूलाई स्थापित गराउन सफल भएका छन् ।

जसमा सन्तोष पन्त, तैयव शाह, किरण केसी, जितु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, विल्सन विक्रम राई, गौरी मल्ल, सरिता लामिछाने, गरिमा पन्त, अरुणिमा लम्साल, प्रकाश ओझा, नारद खतिवडा, सौजन्य सुब्बा लगायतका कलाकार पर्छन् । 
‘कमेडी मास्टर’ मनोज गजुरेलले पनि ‘सय कडा १०’ मार्फत् चलचित्रमा डेब्यू गरेका छन् । जुन चलचित्र यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैन् ।
यता सन्तोष पन्त पनि चलचित्र निर्माण गर्ने मनस्थितिमा पुगेका छन् ।

हास्य कलाकारहरूको टीमले बनाएका चलचित्र एकपछि अर्को गरी हिट हुन थालेपछि अहिले नेपालमा कमेडी कथावस्तुका चलचित्रको बाढी नै आएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्