
काठमाडौं – गीतकारको सम्पत्ति भनेकै गीत हो । गीत जन्माउन गीतकारको भूमिका महत्त्वपूर्ण हुने गर्छ । त्यसो त गीतकारलाई आफूले सिर्जना गरेका सबै गीत मन पर्छन् । राम्रा लाग्छन् । त्यो स्वभाविकै हो । लोकगीत तथा आधुनिक गीतका क्षेत्रमा एकनारायण भण्डारी नौलो नाम होइन । उनले नेपाली संगीतमा लगातार हिट दिइरहेका छन् । गीतकार तथा संगीतकार भण्डारीको रचना तथा संगीतमा ५ सयभन्दा बढी गीत बजारमा आइसकेका छन् ।
लोकान्तरका लागि सुशील नेपालले गीतकार भण्डारीलाई प्रिय लाग्ने आफ्नै पाँच गीतबारे चासो राख्दा उनी एकछिन अलमलमा परे ।
‘एउटा गीतकारले हरेक गीतमा मेहनत गरेको हुन्छ । गीतकारका लागि हरेक गीत आफ्ना सन्तान हुन्,’ उनले भने, ‘आमाबुवाले आफ्ना सन्तानमध्ये यो राम्रो यो नराम्रो छुट्याउन सक्छ र ?' तरपनि भण्डारीले सयौं गीतमध्ये चर्चा, व्यवसायिकता र मेहनतको आधारमा आफूलाई उत्कृष्ट लागेका पाँच गीतबारे सुनाए ।
मूल हौ भने रसाइदेऊ
मलाई आधुनिकतिर चिनाउने पहिलो गीत हो ‘मूल हौ भने रसाइदेउ’ । मेरो शब्दमा सुरेश अधिकारीको संगीत र हेमन्त शर्माको स्वर रहको यो गीत २०६१/०६२ सालतिर बजारमा आएको थियो । यो गीतलाई स्रोता तथा दर्शकले पनि अत्याधिक रुचाउनुभएको थियो । त्यसभन्दा अगाडि पनि आधा दर्जन आधुनिक गीत बजारमा आएपनि त्यति चर्चा पाएका थिएनन् । तर यस गीतले मलाई आधुनिक विधातिर ‘वाच’ गरायो ।
आओ यादहरू आओ
‘आओ यादहरू आओ’बोलको गीत पनि २०६२/०६३ सालतिर बजारमा आएको हो । बजारमा कम चर्चा भएको तर मलाई असाध्यै मन पर्ने गीत हो यो । मेरो शब्द,सुरेश अधिकारीको संगीत,जगदीश समालको स्वरमा बजारमा आएको यो गीत मैले आफ्नै अनुभूतिमा लेखेको हुँ ।
म कलेज पढ्दै थिएँ । रातभर मलाई केही कुराको याद आयो । म यादमा हराइरहेँ । रातभर निदाउन सकिनँ । तर ४ बजेपछि याद नै आउन छाड्यो ।
बिहान ६ बजे कलेज जानुपर्ने । अझै २ घण्टा याद आइदिए कलेज नि जान पाइने । सुतेपछि बिहान उठ्न सकिने हो कि होइन् ? त्यही परिस्थितिमा मैले यादलाई बोलाउँदै लेखेँ– ‘आओ यादहरू आओ,म निदाएको छैन ।’
यसअर्थमा आफ्नै अनुभूतिमा यादहरूलाई बोलाउँदै लेखेको गीत भएर यो मलाई असाध्यै प्रिय लाग्छ ।
आमाले घाँस काट्दै गर्दा
भिडियो नबनेको भएपनि मलाई खुबै मनपर्ने गीत हो- ‘आमाले घाँस काट्दै गर्दा’ ।
मेरो शब्द/संगीतमा शिशिर योगीले यो गीत गाउनुभएको हो । गाउँबाट शहर आएर गरेको संघर्षदेखि सफल नहुँदासम्मको भाव गीतमा समेटिएको छ । यो गीत मैले आफ्नै कथा लेखेजस्तो लाग्छ ।
२०६२ सालतिर म काठमाडौंमा संघर्ष गर्दै थिएँ । मलाई काठमाडौं बस्दा आमाका याद आइरहन्थ्यो । भोक लाग्दा, बिसञ्चो हुँदा आमालाई सम्झन्थेँ ।
अहिले संघर्ष गर्दैछु,एकदिन सफल हुनेछु, यदि मेरो इतिहास कसैले लेखेनन् भने पनि यो मेरो इतिहास हुनेछ भनेर गीत लेखेँ । यो गीत अहिले पनि म सुनिरहन्छु । गुनगुनाइरहन्छु । मलाई यो गीत साह्रै प्रिय लाग्छ ।
सुपारी चाम्रो
‘सुपारी चाम्रो’ मेरो जीवनलाई नै परिवर्तन गरिदिने गीत हो । यस गीतमा मेरो शब्द/संगीतमा बिमलराज क्षेत्री र विष्णु माझीले स्वर दिनुभएको छ । भिडियोमा शंकर बिसी र सम्झना बुढाथोकीले अभिनय गर्नुभएको छ ।
२०६४ साततिर बजारमा आएको यो गीतले मलाई विदेशिन नदिई नेपालमै बस्ने वातावरण मिलाइदिएर आर्थिक रुपले पनि अलिकति सक्षम बनाइदियो । यो गीत आउनुभन्दा अगाडि पनि मेरो थुप्रै गीत हिट भएका थिए । तर कमाईको हिसाबले मलाई निकै गाह्रो थियो । म त नयाँ भएर पनि पैसा पाउन गाह्रो थियो ।
त्यसताका म निकै चिन्तित भएर विदेश जाने सोचसम्म बनेको थियो । अनि दुईवटा विकल्प देखेँ- कि आफ्नै कम्पनीबाट गीत ल्याउने कि विदेश जाने । म जिल्ला गएर विदेश जाने मनसायका साथ पासपोर्स बनाएर काठमाडौं आएँ । तर त्यसभन्दा अगाडि आफ्नै कम्पनीबाट एउटा गीत ल्याउने निधो गरेँ ।
गीत चले संगीतमै लाग्ने नत्र विदेशिने सोच बनाएँ । मेरो कम्पनी सितारा म्यूजिकबाट 'सुपारी चाम्रो' गीत सार्वजनिक भयो । गीतको चर्चा यति भयो कि एकदिन बिराएर एक हजारका दरले क्यासेट बिक्री भयो । मैले एक वर्षमा १ लाख बढी क्यासेट बिक्री गरेँ । आज म जहाँ छु यही गीतकै कारण छु । त्यसयता मलाई आर्थिक हिसाबले पनि कहिल्यै समस्या भएन । त्यसैले पनि मलाई यो संगीत करिअरकै सबैभन्दा बढी प्रिय र उत्कृष्ट लाग्छ ।
म बाँचेकै तिमीसँग माया लाउन हो
‘म बाँचेकै तिमीसँग माया लाउन’ बोलको आधुनिक गीत भौतिकवाद र आध्यात्मिकसँग तुलना गर्दै लेखेको हुँ । गीतमा आशिष अविरलको संगीत तथा प्रमोद खरेलले स्वर दिनुभएको छ ।
यो गीत लेख्न मलाई खुबै आनन्द लागेको थियो । गीतमा निकै मार्मिक शब्दहरू समावेश गरिएको छ ।
२ वर्षअघि मात्रै सार्वजनिक भएको यो गीतलाई स्रोता दर्शकले पनि अत्याधिक रुचाउनुभयो । गीतले युट्युबमा डेढ करोड बढी भ्यूज पाइसकेको छ ।