०१ असार २०८३, सोमबार
पर्दा पछाडि

कलाकार ‘सीते बा’ पछाडि लुकेका मधुसुदन : सहकारीदेखि, स्कूल, ट्राभल र कृषि फार्मसम्म

फागुन ११, २०७५
कलाकार ‘सीते बा’ पछाडि लुकेका मधुसुदन : सहकारीदेखि, स्कूल, ट्राभल र कृषि फार्मसम्म

काठमाडौं – हरेक व्यक्तिको जीवनमा आ–आफ्नै लक्ष्य तथा उद्देश्यहरू हुन्छन् । ती लक्ष्य तथा उद्देश्य प्राप्त गर्न सबैले आवश्यक तयारी गर्छन् । कोही व्यक्तिलाई भने समयले कल्पना विनै नसोचेको क्षेत्रतिर पनि डोर्याउँछ ।

त्यस्तै मध्येका एक हुन् मधुसुदन पाठक (३०) । हाँस्य टेलिसिरियल भद्रगोलमा ‘सीते बा’को भूमिकामा देखिने मधुसुदन स्वयं अवसरले कलाकार बन्न पुगेको बताउँछन् ।

टेलिभिजन दर्शकका लागि उनी एक कलाकार मात्र भएपनि उनले आफूलाई धेरैतिर फिजाएका छन् । उनी एक सफल युवा व्यवसायी हुन् भने कृषि अभियन्ताका रुपमा पनि उनी सक्रिय छन् । ह्यान्डसम यी युवा कलाकार कम, व्यवसायी ज्यादा हुन् । उनको सरल व्यवहार, दृढ आत्मविश्वास र ओजिला कुराहरूले जोकोही प्रभावित हुन्छन् ।

अवसरले कलाकार

लोकान्तरसँगको कुराकानीमा मधुसुदन आफू अवसरले कलाकार बनेको बताउँछन् । काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएका उनी एसएलसी दिएपश्चात् २०६० सालमा काठमाडौं आए । त्यसको ३ वर्षपछि २०६३ सालदेखि व्यवसायको क्षेत्रमा जोडिए । पछि व्यवसायसँगै रेडियो प्रस्तोताका रुपमा पनि आफूलाई प्रस्तुत गर्न थाले ।

आजभन्दा झण्डै ७–८ वर्षअघि उद्घोषकको भूमिकामा उनी थाइल्याण्ड पुगेका थिए । सोही कार्यक्रममा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) पनि प्रस्तुतीका लागि पुगेका थिए । उनीहरूसँग मधुसुदनको चिनजान भयो ।

‘त्यही कार्यक्रमपछि कुमार कट्टेल सितारामजीको भाई भन्ने थाहा भयो । त्यसयता कुमार, अर्जुन घिमिरे, भद्रगोलको व्यवस्थापन हेरिरहेका सुवास कार्की लगायतसँग चिनजान बढ्दै गयो । भेटघाट हुँदै गयो,’ कलाकारितासँग जोडिनुको रहश्य खोल्दै उनी अगाडि भन्छन्, ‘त्यत्तिकैमा एकदिन उहाँहरूले एउटा भूमिका तपाईले पनि गर्नुपर्छ भन्नुभयो । त्यसपछि ‘भद्रगोल’मा ‘सीते बा’को भूमिकामा निरन्तर अभिनय गर्न थाले ।’ 

‘भद्रगोल’को १८ औं शृंखलादेखि टेलिभिजनमा देखिन थालेका उनको भूमिकालाई दर्शकले शुरूवातमै रुचाए । उनले बोल्ने ‘ए हो, ठिकै छ नि त !’ भन्ने थेगो पनि दर्शकमाझ उत्तिकै लोकप्रिय बन्न पुग्यो । त्यसयता उनी ‘भद्रगोल’मा निरन्तर देखिँदै आए ।

टेलिभिजनमा आफ्नैले पनि चिन्दैनन्

मधुसुदनलाई कुनै दिन कलाकार बनूँला, टेलिभिजनमा देखिउँला भन्ने कुनै कल्पना थिएन । न त उनका बुवा–आमाले नै सोचेका थिए छोरो कलाकार बन्ला, टेलिभिजनमा देखिएला । उनीसँग शुरूवातमा आफ्नो अभिनयलाई बुवाआमा लगायत परिवारको सदस्यले नै विश्वास गर्न नसकेको स्मरण छ । 

‘भद्रगोल’मा ‘सीते बा’को भूमिकामा पहिलोपटक अभिनय गरेपश्चात् उनले गाउँमा रहेका बुवालाई फोन गरेर भने, ‘बुवा आज ‘भद्रगोल’ टेलिसिरियल हेर्नु है ! म पनि आउँछु ।’

छोराले आफू टेलिभिजनमा आउने भनिसकेपछि बुवाआमा, अंकल–आन्टी लगायत परिवारका सदस्यहरू टेलिसिरियलको प्रतिक्षामा रहे । टेलिसिरियल शुरू भयो । छोरो कतिबेला देखिन्छ सोचेर सिरियल हेरेका बुवा–आमा निराश भए । टेलिसिरियल सकियो, छोरो झुलुक्क पनि देखिएन । बुवाले छोरोलाई फोन घुमाए । सोधे, ‘खोइ त ? तँ देखिइनस् त !’ 

सिरियलमा आफूले गरेको भूमिकाबारे बताउँदा समेत बुवाले विश्वास गर्न सकेनन् । बुवाले विश्वास गरुन् पनि कसरी ? उनको क्यारेक्टर, गेटअप, बोलीचाली नै रियलभन्दा भिन्न । अर्को कुरा – न त त्यसअघि अन्य केहीमा अभिनय गरेका ।

‘कलाकारितामा त्यसरी ह्वात्तै आउँछु भन्ने मलाई नै कल्पना थिएन,’ लोकान्तरसँग मधुसुदन भन्छन्, ‘त्यसकारण पनि बुवा–आमालाई शुरूवातमा त्यो क्यारेक्टर गर्ने म हो भन्दा पनि विश्वास गर्न गाह्रो भयो ।’ अहिले पनि उनलाई चिन्न दर्शकलाई निकै गाह्रो पर्छ । किनकि टेलिभिजनमा देखिने ‘सीते बा’ भन्दा मधुसुदन आकाश जमिन फरक छन् ।

'दर्शकको प्रतिक्रियाले उर्जा मिलेको छ'

हाल ज्येष्ठ सहकारीको प्रमुखको भूमिकामा रहेका मधुसुदन स्कूल, ट्राभल, फिटनेस क्लव, ब्याटमिन्टन एकेडेमी लगायतका व्यवसायसँग आवद्ध छन् । हालसालै उनकै नाममा टोखामा ‘सीते बा’ अग्र्यानिक फार्म सञ्चालनमा आएको छ । कृषि अभियन्ताको रुपमा किसान चौतारीमा पनि आवद्ध छन् । 

यसरी व्यवसायको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका मधुसुदन अब कलाकारिता पनि आफ्नो जीवनको अभिन्न पाटो बनेको बताउँछन् । उनी दर्शकको मायाले आफूलाई कलाकारितामा सक्रिय रहन थप उर्जा मिलेको बताउँछन् ।

टेलिभिजनमा देखिने ‘सीते बा’ जति परिचित छैनन् मधुसुदन । ‘सीते बा’लाई चिन्ने कमै दर्शक मात्र मधुसुदनलाई चिन्छन् । तर जब ‘सीते बा’ यिनै हुन् भन्ने दर्शकहरू सुइको पाउँछन्, दर्शकहरू झुमिन्छन् ।

‘जब मलाई दर्शकहरू चिन्नुहुन्छ । कुरा गर्नुहुन्छ । फोटो खिच्नुहुन्छ । तपाईजस्तो व्यक्तिसँग भेट हुन पायो भन्नुहुन्छ,’ मधुसुदन हर्षित हुँदै भन्छन्, ‘यी कुराहरूले मलाई कलाकारितामा निरन्तर लागिरहन उर्जा मिल्छ ।’

मधुसुदनको सोच्छन् – टेलिसिरियलमा अझ बढी समय दिन पाउँ । राम्रो अफर आएको खण्डमा चलचित्रमा पनि देखिने सोच छ । उसो त भद्रगोल टीमले पनि चलचित्र निर्माण गर्ने बताइरहेको छ । 

आफू व्यावसायिक क्षेत्रतिर व्यस्त हुने भएपनि व्यक्तिमा चाहना छ भने सम्भव हुने बताउँछन् । ‘चाहना ठूलो कुरा हो । चाहना हुने हो भने बिहान–साँझ वा बिदाको समय कलाकारितामा लगाउन सकिन्छ,’ उनी सुनाउँछन् ।

व्यावसायिक समयबाट केही समय निकालेर ‘भद्रगोल’मा अभिनय गर्दै आएका उनी स्टेज कार्यक्रममा भने हिँड्न पाएका छैनन् । बुवाआमा, जीवनसंगिनी र छोराका साथ काठमाडौंमा बस्दै आएका मधुसुदनलाई आउँदा दिनमा व्यवसायको क्षेत्रलाई पनि निरन्तरता दिनु छ अनि कलाकारितालाई पनि ।

salt training

कमेन्ट गर्नुहोस्