
काठमाडौं– भारतीय वायु सेनाले पाकिस्तानी सीमा क्षेत्रमा बम आक्रमण गर्ने बारेको समय तालिका सात जनालाई मात्र थाहा थियो । द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश–ए–मोहम्मदको तालिम केन्द्रमा मङ्गलवार बिहान भएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाहा थियो ।
बिहान तीन बजेर ४० मिनेटदेखि ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकु विमान प्रयोग भएको पत्रिकाले लेखेको छ । भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणपछि भारतले पक्कै पनि कुनै कारबाही गर्ने ठानिएको थियो ।
भारतको गुप्तचर निकाय ‘र’लाई चरमपन्थीको शिविर निश्चित गर्ने जिम्मेवारी दिइएको थियो । ‘र’ ले त्यस्ता छ वटा शिविरबारे जानकारी दियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई आक्रमणको निम्ति १८ फेब्रुअरीमै अनुमति दिइसकेका थिए । गुप्तचर निकायका अधिकारीहरूका अनुसार उक्त हमलाको समयबारे सात जनालाई मात्र थियो ।
जसमा प्रधानमन्त्री मोदी, उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, स्थलसेना, वायुसेना, नौसेना, इन्टेलिजेन्स ब्यूरो तथा ‘र’ का प्रमुख छन् । पाकिस्तानी सेनालाई भ्रममा पार्न भनेर भारतीय वायुसेनाले २२ फेब्रुअरीदेखि नै सीमानजिकै रहेका हवाई आधारमा आफ्ना लडाकु विमानको उडान राति गराउन थालेको थियो ।
त्यसको तीन दिनपछि जासुसी निकायबाट बालाकोटस्थित शिविरमा जैश–ए–मोहम्मदका तीन सयदेखि साढे तीन सयजना चरमपन्थी रहेको सूचना आयो। त्यसपछि वायुसेनालाई अघि बढ्ने सङ्केत दिइयो । टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको बालाकोटमा भारतीय आक्रमणपछि पाकिस्तानले जबाफी कारबाही गर्ने आशङ्कालाई दृष्टिगत गर्दै दिल्ली, मुम्बई र अन्य पाँच स्थानलाई आउँदो ७२ घण्टाको निम्ति उच्च सतर्कताको अवस्थामा राखिएको छ ।
पत्रिकाले सूत्रलाई उद्धृत गर्दै तीमध्ये पन्जाब, राजस्थान र गुजरात रहेको उल्लेख गरेको छ । पन्जाबको गुरदासपुर, तरनतारन, अमृतसर, फिरोजपुर र फजिल्कामा पनि स्थानीय प्रशासनले सङ्कटको सामना गर्ने तयारी सुरु गरेको छ । गुजरातका मुख्यमन्त्री विजय रुपाणीले मङ्गलवार एन्टी टेरोरिस्ट स्क्वाड र गुप्तचर संस्थाका अधिकारीहरूसँग बैठक गरेर अवस्थाको समीक्षा गरेको समाचारमा उल्लेख छ । बीबीसी हिन्दीबाट