
काठमाडौं– भारतमा लोकसभा चुनावको मिति तय भएसँगै निर्वाचन आचारसंहिता लागू भएको छ । साथै निर्वाचन आयोगले यसमा कडाइ पनि गरेको छ । आयोगले राजनीतिक दलका कार्यक्रम, नेताहरूका भाषणसँगै सामाजिक सञ्जालमा पनि निगरानी बढाएको छ ।
दिल्लीस्थित भारतीय जनता पार्टीका विधायक ओमप्रकाश शर्माले भारतीय लडाकू विमानका पाइलट अभिनन्दन बर्धमानका फेसबुकमा सेयर गरेका तस्वीर हटाउन निर्देशन दिएको छ । साथै आयोगले फेसबुकलाई पनि यसबारेमा सूचित गरेको जनाएको छ ।

निर्वाचन आयोगले राजनीतिक दललाई आफ्नो ब्यानर, पोस्टरमा सेना वा सेनाका जवानका तस्वीर प्रयोग नगर्न भनेको छ । सेनाका कमाण्डरसमेत रहेका बर्धमानको तस्वीर प्रयोग भएको पाइएको थियो । आयोगले फेसबुकसँगै ट्वीटरमा पनि निगरानी बढाएको छ भने सामाजिक सञ्जालमा चुनाव प्रचार सम्बन्धी सामग्री हटाउन सचेत गराएको छ ।
मार्च १० मा चुनावको मिति तय भएपछि निर्वाचन आचारसंहिता लागू भएको छ ।