
काठमाडौं – नेदरल्यान्ड्सको उत्राख शहरमा सोमवार गोलीकाण्ड मच्चाउने आरोपित व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उत्राखका मेयर जान वेन जानेनका अनुसार, स्थानीय समयअनुसार सोमवार बिहान पौने ११ बजे ट्राममा भएको गोलीकाण्डमा तीनजनाको ज्यान गएको छ ।
घटनामा पाँचजना घाइते भएका छन् । आक्रमणकारीको उद्देश्य के थियो भन्ने प्रस्ट हुन सकेको छैन ।
नेदरल्यान्ड्स प्रहरीले ३७ वर्षीय टर्किश व्यक्ति गोकमेन तानिसलाई आक्रमणको कैयौं घन्टापछि पक्राउ गरेर हिरासतमा लिएको हो । उनलाई कहाँ पक्राउ गरिएको हो भन्ने स्पष्ट छैन ।
एक स्थानीय व्यापारीले बताएअनुसार, आरोपित आक्रमणकारीलाई यसअघि पनि इस्लामिक स्टेटसँग सम्बन्ध बनाएका कारण पक्राउ गरिएको थियो । तर केही समयपछि उनलाई थुनामुक्त गरिएको थियो ।
उनले रुसको चेचेन्यामा लडाईंमा भाग लिएको पनि बताइएको छ ।
आतंकवादप्रतिरोधी प्रहरीले यो आतंकवादी आक्रमण जस्तो घटना भएको बताएको छ ।
नेदरल्यान्ड्सको आतंकवादप्रतिरोधी दस्ताका संयोजक स्थानीय प्रशासनको सम्पर्कमा छन् र शहरमा उच्चस्तरीय खतरा घोषणा गरिएको छ ।
बीबीसीबाट