
काठमाडौं – पूर्वी चीनमा रहेको एक रासायनिक भट्टीमा ठूलो विस्फोट हुँदा मर्नेको संख्या ४७ पुगेको छ । विस्फोटमा परी ९० जना घाइते भएको शिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
फर्टिलाइजर उत्पादन गर्ने कारखानामा आगो लागेपछि यो विस्फोट भएको हो ।
चीनको भूकम्पमापक विभागले विस्फोटको समयमा २.२ म्याग्निच्युडको भूकम्प आएको जनाएको छ ।
हालैका वर्षमा भएका औद्योगिक दुर्घटनामध्ये यो सबभन्दा खराब हो ।
विस्फोट स्थानीय समयअनुसार, दिउँसो २ बजेर ५० मिनेट जाँदा भएको थियो । तियानजिआयी रसायन उद्योगले यान्चेङ भट्टी सञ्चालन गर्छ ।
शिन्ह्वाका अनुसार, ६४० जनालाई अस्पताल पु–याइएको छ । धेरैजना गम्भीर अवस्थामा छन् र दर्जनौंलाई भयानक चोटपट लागेको शिन्ह्वा एजेन्सीले जनाएको छ ।
घटनास्थलका तस्वीर हेर्दा आगोको विशाल मुश्लो विस्फोट भएको र पूरै क्षेत्रमा धूवाँको बादल बनेको, मानिसहरू घाइते भएको र भवनहरू क्षतिग्रस्त बनेको देखिन्छ ।
विस्फोट अत्यधिक शक्तिशाली भएका कारण अलिक परका कारखाना भवन भत्किएर कामदारहरू च्यापिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
बीबीसीबाट