
काठमाडौं – एक दशकदेखि बनाइँदै आएको र तीन वर्ष ढिलो गरी सम्पन्न भएको कतारको भव्य राष्ट्रिय संग्रहालय मरुभूमिको गुलाफ आकारमा बनेको छ । कुल ४७ अर्ब रुपैयाँभन्दा बढीको लागतमा बनेको संग्रहालय यसै हप्ताबाट सञ्चालन गरिनेछ ।
उद्घाटन समारोहमा कतारका शासक शेख तमिम बिन हमाद अल–थानी, कुवेतका अमिर शेख सबाह अल–अहमद अल–जबर अल–सबाह र फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिपे सहभागी हुने अपेक्षा गरिएको छ । रंगीन समारोह बुधवार हुनेछ भने सर्वसाधारणका लागि बिहीवारदेखि ढोका खोलिने भएको छ ।
‘विरासतलाई आवाज दिँदै भविष्यको उत्सव मनाउन स्थापत्य,’ संग्रहालयका प्रख्यात फ्रान्सेली कलाकार जँ नूवेलले ट्वीट गरे । उनले लूभ्र अबु धाबी पनि बनाएका हुन् ।
दोहाको संग्रहालय ५२ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ । दोहाको विमानस्थलबाट सिटी सेन्टर आउँदा पर्यटकहरूले देख्ने पहिलो महत्त्वपूर्ण भवन नै यही हुनेछ ।
सन् २०२२ को फूटबल विश्वकपका लागि दोहालाई पूरै परिवर्तन गरिएको छ तैपनि कतारका सबै नयाँ भवनभन्दा फरक यो राष्ट्रिय संग्रहालयले धेरैको ध्यान खिच्ने अपेक्षा छ ।
प्रवेशद्वारमा ११४ वटा झरनासहितका मूर्ति राखिएको छ र त्यो ९०० मिटर लामो जलाशयमा अवस्थित छ । संग्रहालयका छानाहरू घुम्रिएका छन् र हेर्दा ठूलो भूलभूलैया जस्तो देखिन्छ । ३६ सय प्रकारका आकार र आयतनका ७६ हजार प्यानलले छत बनेको छ ।
संग्रहालयभित्र १५ सय मिटरभन्दा बढी ग्यालरी स्पेस छ ।
संग्रहालयमा देखाइने वस्तुमध्ये १९औं शताब्दीको कार्पेट छ । त्यसमा १५ लाखवटा मोती जडिएको छ । अनि कतारमा फेला परेको सबभन्दा पुरानो कुरान पनि राखिएको छ ।
एजेन्सी